• Tuesday, May 20, 2025

प्रभावकारी बन्दै स्वास्थ्य बीमा कार्यक्रम

केदार तिमल्सिना / बनेपा, माघ ४ गते । आर्थिक जोखिमलाई कम गर्दै स्वास्थ्य उपचारमा जनताको पहुँच पु¥याउने उद्देश्यले सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । स्वास्थ्य बीमा गर्दा नियमित रुपमा औषधि सेवन गर्नेुपर्ने तथा बिरामी भएको खण्डमा उपचार गर्न आउँदा एक लाख रुपैँयासम्मको उपचार गर्न पाउने हुँदा कार्यक्रम प्रभावकारी बनेको बीमितहरुले बताएका छन् ।

‘सरकारले अघि सारेको स्वास्थ्य बीमा कार्यक्रम धेरै राम्रो कार्यक्रम हो, यो कार्यक्रमलाई सरकारले व्यबस्थित गर्नु जरुरी देखिएको छ’ पाँचखाल नगरपालिका–२ का प्रभुराम कोइरालाले बताउनुभयो । उहाँले विपन्न नागरिकलाई स्वास्थ्यमा पहुँच पु¥याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिए पनि विपन्न वर्गसम्म बीमा कार्यक्रमको जनचेतना पुग्न नसकेको बताउनुभयो ।

उहाँले सुरुमा तीन हजार ५ सय रुपियाँ लगानी गर्दा पाँच जनाको परिवारको एक लाख रुपियाँसम्म उपचार सेवा पाउने भएकोले यसबाट विमितलाई फाइदा पुगेको बताउनुभयो । ‘मेरो पत्थरीको अप्रेशन गर्नुपर्ने छ, उपचारका लागि ४०÷५० हजार लाग्ने भएकोले उपचारका लागि मैले नगद निकाल्नुपर्दैन, बीमा गरेकोले मेरो उपचारमा सहजता हुने भएको हो’ उहाँले थप्नुभयो । उहाँले स्वास्थ्य बिमाको बारेमा विपन्न तथा जिल्लाका विभिन्न विकट क्षेत्रमा रहेका जनतासमक्ष यसको फाइदाको बारेमा जनचेतना जगाउनु जरुरी रहेको बताउनुभयो ।

यसैगरि पाँचखाल नगरपालिका–६ का सरोज न्यौपानेले सरकारले अघि बढाएको स्वास्थ्य बीमा कार्यक्रम आम नागरिकका लागि धेरै प्रभावकारी कार्यक्रम भएको बताउनुभयो ।उहाँले बिमा गर्दा बिरामी भएको खण्डमा सरकारले तोकेका विभिन्न उपचार गर्दा नगद नचाहिने बताउनुभयो । उहाँले बिमा कार्यक्रम राम्रो भए पनि उपचारका लागि अस्पतालमा आउँदा प्रक्रिया सहज नभएको बताउनुभयो ।

उहाँले सरकारले जनतालाई स्वास्थ्य उपचारमा पहुँच बृद्धि गर्ने अभिप्रायले कार्यक्रम सञ्चालन गरेपनि अस्पतालमा उपचारका लागि लामो प्रक्रिया पु¥याउनुपर्ने बाध्यता रहेको बताउनुभयो ।जनतालाई सर्वसुलभ रुपमा उपचार गर्ने उद्देश्यले सञ्चालन गरिएको स्वास्थ्य बीमा कार्यक्रममा नागरिकको आकर्षण बढेको स्वास्थ्य बीमा बोर्ड काभ्रेले जनाएको छ ।

बोर्डकी प्रमुख मुना निरौलाले काभ्रेमा पुस मसान्तसम्म १७ हजार ६९२ घरपरिवारका ५८ हजार ७०४ जना व्यक्ति बीमित भएको बताउनुभयो । उहाँले कोरोना सङ्क्रमणका कारण बीमाको काम सुस्त भए पनि पछिल्लो समय बिमाको काम तीव्र गतिमा अघि बढेको बताउनुभयो । उहाँले जिल्लामा बीमा कार्यक्रमको प्रभावकारिता बढ्दै गएको बताउनुभयो ।

बोर्डका अनुसार काभ्रेको बनेपामा १२ हजार ५०६, धुलिखेलमा १३ हजार ७१८, पनौतीमा सात हजार ८७१, मण्डनदेउपुरमा छ हजार ४४५ र पाँचखालमा, सात हजार ८८४ जना र नमोबुद्ध नगरपालिकामा दुई हजार ९३३ जनाले बीमा गरेका छन् यसैगरी तेमाल गाउँपालिकामा ७९१ जना, रोशीमा एक हजार ४५१, महाभारत गाउँपालिकामा ६२९ जना, खानीखोला गाउँपालिकामा ३३६ जना, चौरीदेउरालीमा एक हजार ७८ जना, भुम्लु गाउँपालिकामा दुई हजार ६३ जना र बेथानचोक गाउँपालिकामा ९९९ जनाले बिमा गरेको बोर्डले जनाएको छ ।

बीमा कार्यक्रमका लागि प्रत्येक वडामा एक जनाका दरले जिल्लाभरमा एक सय ३५ जना दर्ता सहयोगी छन् । काभ्रेमा धुलिखेल अस्पताल, मेथिनकोट अस्पताल, पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र, धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र, खोपासी प्राथमिक स्वास्थ्य केन्द्र र सुन्थान प्राथमिक स्वास्थ्य केन्द्रमा बीमित व्यक्तिहरुले उपचार गराउन सक्ने गरी बोर्डले पाँच वर्षसम्मको लागि सम्झौता गरेको छ ।

बोर्डले अस्पतालका साथै स्वास्थ्य केन्द्रमा उपचार गराउन सक्ने ब्यवस्था गरेपनि केन्द्रहरुको आफ्नो फार्मेसी नभएकोले केन्द्रमा पुगेका बिरामीलाई रिफर गर्ने काम मात्रै गर्दै आएको छ । बीमित व्यक्तिहरु उपचारका लागि अन्त कतै नगर सबै प्रविधि भएको धुलिखेल अस्पतालमा उपचारका लागि आउने गरेका छन् । धुलिखेल अस्पतालले कोभिडपछिको अवस्थामा अस्पतालमा दैनिक औसत आठ सयको हाराहारीमा बिरामी आउने त्यसमध्येमा ३०–४० प्रतिशत बीमित व्यक्तिहरु रहेको जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter