हनुमानढोका क्षेत्रका ऐतिहासिक सम्पदाहरु एकपछि अर्को ठडिन थाले

शर्मिला पाठक / काठमाडौँ, माघ १० गते । विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ दरवार क्षेत्र(हनुमानढोका क्षेत्र)का ऐतिहासिक सम्पदाहरु एकपछि अर्को ठडिन थालेका छन् । गोर्खा भूकम्पले पूर्णरुपमा भत्किएको सम्पदाहरु अहिले तीव्ररुपमा पुनःनिर्माणका क्रममा छन् भने केही निर्माण सम्पन्न भइसकेका छन् ।

यस क्षेत्रका २७ सम्पदा पुनर्निर्माण सम्पन्न भइसकेका छन् । यहाँ रहेका ७० सम्पदामध्ये १२ वटामा भूकम्पले क्षति गरेको थिएन । भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये ११ वटाको पुनर्निर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । अड्डाका कार्यालय प्रमुख सन्दीप खनालका अनुसार अहिले बनिरहेका सम्पदाको काम नसकी काम शुरु गर्न नमिल्ने भएकाले २० सम्पदाको काम अझै हुनसकेको छैन ।

हनुमानढोका दरबार क्षेत्रको नौतले दरबार चीन सरकारको अनुदान सहयोगमा पुनर्निर्माण भइरहेको छ । दरबारको ६० प्रतिशत काम सकिएको छ । कोरोना महामारीका कारण नौतले दरबार पुनर्निर्माणमा केही ढिलाइ भएको छ । नौतले दरबार सन् २०२२ सम्ममा सक्ने गरी सम्झौता भएको अड्डाले जनाएको छ ।

यसैगरी गद्दी बैठक अमेरिकाको सहयोगमा पुनर्निर्माण सम्पन्न भइसकेको छ । जगन्नाथ र गोपीनाथ मन्दिर बाग्मती प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पुनर्निर्माण भइरहेको छ । नासलचोक पश्चिमको राणाकालीन सेतो भवन र नासलचोक तथा गद्दी बैठकबीचको भवन पनि हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिमार्फत पुनर्निर्माण भइरहेको छ । आगम्छे घर र शिव मन्दिर जापानी सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा पुनर्निर्माण भइरहेको बताइएको छ । मोनकाली चोक, मूलचोक, नासल चोकलगायतको चोकहरु यहाँको अन्य महत्वपूर्ण सम्पदाहरु हुन् ।


सर्वसाधारणका लागि गद्दी बैठक खोलिँदै

भूकम्पका कारण क्षति भएको गद्दी बैठक अब सर्वसाधारणका लागि पनि खोलिने भएको छ । पुनर्निर्माणपछि तत्काल खोल्ने भनिए पनि केही आन्तरिक तयारी गर्नुपर्ने भएकाले अझै केही समय लाग्ने बताइएको छ । अमेरिकी दूतावास र संस्कृति सम्पदा कोषले पुनर्निर्माण गरेको गद्दी बैठक २०७५ असारमा नै नेपाललाई हस्तान्तरण गरिएको थियो । त्यही दिन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको उद्घाटन गर्नुभएको थियो ।

विदेशीलाई स्वागत गर्न विशिष्ट किसिमको छुट्टै बैठक कक्षको आवश्यकता महसुस गरेर तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरको पालामा १९६५ सालमा वसन्तपुर दरबारमा युरोपेली वास्तु शैलीमा बेलायती बैठक (गद्दी बैठक) निर्माण गरिएको थियो ।

शुरुमा यो भवनमा विदेशी पाहुनाहरुसँग राजाको औपचारिक भेटघाट आयोजना हुन्थ्यो । राजा नारायणहिटी दरबारमा बस्न थालेपछि यसको प्रयोग कम हुँदै गयो । अहिले यसको प्रयोग राष्ट्रप्रमुखले जीवित देवी कुमारीको दर्शन र वसन्त श्रवण गर्दा मात्र हुन्छ ।

काष्ठमण्डप पुनर्निर्माण ८५ प्रतिशतभन्दा बढी काम सकियो

हनुमानढोका क्षेत्रको अर्को महत्वपूर्ण सम्पदाका रुपमा रहेको काष्ठमण्डप पुनर्निर्माणको काम पनि आगामी वैशाखमा सक्ने गरी भइरहेको छ । निर्माणको कामअन्तर्गत अहिले ८५ प्रतिशतभन्दा बढी काम सकिसकेको छ । ती ऐतिहासिक सम्पदाहरुको पुनर्निर्माणका लागि रु १९ करोड खर्च लाग्ने अनुमान गरिएकामा काठमाडौँ महानगरपालिकाले पुनर्निर्माण समितिलाई आवश्यकताअनुरुप रकम हस्तान्तरण गरिरहेको छ । पुनर्निर्माणका लागि जम्मा १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्दछ ।

निर्माणअन्तर्गत अहिले अन्य काम सकी छानो छाउने तयारी भएको छ । त्यसका लागि आवश्यक पर्ने काठको अभाव भएकाले रौतहटबाट ल्याउने तयारी गरिएको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले बताउनुभयो । आगामी वैशाखसम्ममा निर्माण काम सक्ने लक्ष्यअनुरुप काम भइरहेको छ ।

बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको, सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको हो भन्ने इतिहासका पुस्तकहरुमा लेखिएको छ । नेपालको राजधानी काठमाडौँको नाम ‘काष्ठमण्डप’बाट नै रहेको इतिहासमा उल्लेख छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Govt. to resume Vaccination Campaign from May 16

CAAN asks not to charge high fare in name of Emergency Flight

NRNA to supply Oxygen Concentrators to Nepal

Kami Rita scales Everest 25 times; Tourism Ministry appeals not to disseminate fake information

Humla section of Karnali Corridor built in timeframe




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter