• Saturday, April 05, 2025

बीस वर्षपछि भूमिहीनले पूर्जा पाउँदै, मालिक हुन पाएकोमा खुशी

टीकाबहादुर बस्नेत / दाङ, माघ १६ गते । दाङको बबई गाउँपालिकाले भूमिहीनका लागि जग्गा बितरण गर्ने कार्यको थालनी गरेपछि वडा नम्वर ५ का दोलख डाँगी बल्ल सरकार भएको महसुस भएको बताउनुभयो ।

पुस्तौं पुस्तादेखि भूमिहीन भएर बसिरहेको बताउँदै दोलखले तीन दशकपछि जग्गाको मालिक बन्ने सपना पूरा हुन लागेको हर्षित भएको बताउनुभयो । ‘हामी जस्ता भूमिहीनको साहारा भएर सरकार आइदियो’, दोलखले भन्नुभयाे, ‘हामी पनि कहिले जमिनको मालिक बनौंला र ? भन्ने प्रश्न सधैं मनमा रहने गर्थ्याे । जग्गा धनीपूर्जा वितरणका लागि जग्गा नाप्न सुरु गरेपछि अब जग्गाको मालिक बन्ने सपना पूरा हुने भयो भन्ने लागेको छ ।’

बबई गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि जमिन नक्साङ्कन गर्ने कामको सुरुवात गरेसँगै आफूले भोगचलन गर्दै आएको जग्गाको नक्सांकन गर्दा अत्यन्तै हर्षित देखिएका दोलखले सरकारले चाहेमा के नहुने रहेछ भन्दै अबको केही महिनाभित्रै आफू पनि जमिनको मालिक बन्न पाउने बताउनुभयो । ‘पहिले पनि लालपुर्जा दिने हो भन्ने सुनेको हो, तर पाइएन । अब भने केही महिनामा हाम्रो नाममा पनि जमिन हुनेछ भन्नेमा खुसी लागेको छ’, उहाँले भन्नुभयो ।

दोलखजस्तै भीमा रोका पनि २० वर्षको पर्खाइपछि जग्गाको मालिक हुन लागेकोमा हर्षित हुनुहुन्छ । जग्गाको लालपुर्जा नभएकोमा काम गर्न समस्या भएको सुनाउँदै बबई ५ रिमखोलीकी भीमाले आयआर्जनमा समेत समस्या भएको बताउनुभयो ।

‘हामी यहाँ लालपुर्जाविहीन बस्न लागेको २० वर्ष भयो । लालपुर्जा नहुँदा धेरै काम गर्न अप्ठ्यारो भएको थियो’, भीमाले भन्नुभयो, ‘अब लालपुर्जा भयो भने थप काम गरेर आयआर्जन गर्ने सोच छ । हामीले सरकार बनायौं । सरकारले हामी जस्ताका दुःख सुन्नुपथ्र्यो । अरुले त सुनेनन् । यो सरकारले सुनेको महसुस भएको छ । अब भने केही गर्ने आशा पलाएको छ ।’

दोलख र भीमा त उदाहरण मात्रै हुनुहुन्छ । जग्गा वितरणका लागि बबई गाउँपालिकाले नक्साङ्कनको कार्य थालेसँगै रिमखोलीका भूमिहीनहरु हर्षित भएका छन् । लामो सयमपछि जग्गाको मालिक बन्ने सपना पूरा हुन थालेकोमा उनीहरु हर्षित मात्र भएका छैनन्, बल्ल सरकारले गरिवलाई हेर्छ भन्ने महसुस गरेका छन् ।

भूमिहीनको लगत संकलको काम सम्पन्न गरेर गत बुधबारबाट विकट बस्ती वडा नम्वर १ र ५ मा जमिनको नक्सांकनको काम सुरु गरेको छ । दाङको कर्णाली भनेर चिनिने वडानम्वर १ को गंगटे, वडानम्वर ५ को रिमखोली, जौवारीलगायतका विभिन्न गाउँबाट जमिन नक्सांकनको काम सुरू गरेको भन्दै गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले तीन महिनाभित्रै पुर्जा वितरण गर्नेे जानकारी दिनुभयो ।

चार हजारभन्दा बढीलाई लालपुर्जा वितरण

बबई गाउँपालिकाले चार हजारभन्दा बढी भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्दैछ । भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बबई कार्यापालिका एकाइ प्रमुख चन्द्रबहादुर ओलीका अनुसार माघ ५ गतेसम्म लगत संकन गर्दा जम्मा चार हजार ४४२ भूमिहीन घरधुरी समेटिएका छन् । तर अहिले पनि कोही बाहिर रहेकाले उनीहरू आएपछि यो संख्या बढ्ने एकाइ प्रमुख ओलीले बताउनुभयो । माघ ५ गतेसम्म लगत संकलन गर्दा बबईको वडा नम्बर १ मा ८१५ जना भूमिहीनको लगत संकलन गरिएको छ । त्यसैगरी वडा नम्बर २ मा ५१३ जना, ३ मा ३९७ जना, ४ मा ५५७ जना, वडा नम्बर ५ मा ८०५ जना, ६ मा ५७१ जना र वडा नम्बर ७ मा ७८४ जनाको लगत संकलन भएको छ । यो संख्या बढेर जाने प्रमुख ओलीको भनाइ छ ।

Related News

Comments are closed

TOP NEWSview all

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter