• Sunday, June 15, 2025

वसन्त आरोहणः धमाधम आउँदैछन् आरोही

सिबी अधिकारी / काठमाडौँ, फागुन २३ गते । वसन्त यामको आरोहणका लागि थोरै सङ्ख्यामा भए पनि आरोही आउन थालेका छन् । सो यामको आरोहण अनुमतिका लागि केही आरोहीले निवेदन दिएका छन् ।

वसन्त याम शुरु भइसकेकाले अबका दिनमा आरोही समूह आउने पर्यटन विभागको अपेक्षा छ । विभागका निर्देशक मीरा आचार्यले याम शुरु भए पनि अहिलेसम्म विभागले अनुमति जारी गरेको छैन । मार्च, अप्रिल र मेको आरोहणका लागि मार्चदेखि बुकिङ शुरु भए पनि अप्रिलको दोस्रो सातासम्म विभागलाई अनुमति जारी गर्न भ्याइनभ्याइ हुन्छ ।

कोभिड–१९ महामारीकै बीच आरोहणमा केही आशाका सङ्केत देखिएका छन् । बहराइनी राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले आगामी चैतमा सगरमाथा आरोहण गर्ने भएको छ । यस वर्षको वसन्त याममा सर्वाेच्च शिखर आरोहणका लागि बहराइन अधिराज्यका युवराज शेख नसेर बिन हमिद अल खलिफाका भाइ शेख मोहम्मदसहित १६ जनाको टोली चैत २ गते नेपाल आउने मनामास्थित बहराइन नेपाली राजदूतावासले यसअघि नै विज्ञप्तिमार्फत जनाएको छ ।

बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती रहने आरोही टोली ७९ दिन नेपालमा रहने जनाइएको छ । सगरमाथा आरोहणका लागि आवश्यक अन्य बन्दोबस्ती नेपालस्थित सेभेन समिट ट्रेकमार्फत भइरहेको छ । टोलीले सन् २०२० अक्टोबरमा लोबुचे पिक र मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेको थियो ।

कोभिड–१९ का कारण अघिल्लो वर्ष मुख्य याममै नेपालको पर्वतारोहण र पदयात्राले असर बेहोरेका सन्दर्भमा महामारीकै बीच हिउँद याममा भएका केही आरोहण तथा आगामी यामका लागि बुकिङ शुरु भएकाले यस वर्ष आरोहणमा सुधारका सङ्केत देखिएका छन् ।

विदेशी पर्यटकलाई नेपाल प्रवेशवापत अझै पनि क्वारेन्टिन बस्नुपर्ने प्रावधानका कारण अन्य पर्यटकीय गतिविधि खुम्चिए पनि पर्वतारोहणमा भने पर्यटकको चासो बढेको देखिन्छ । व्यवसायीको मागबमोजिम सरकारले पनि विदेशी पर्यटक आगमनलाई सहज तुल्याउन क्वारेन्टिन व्यवस्था खुकुलो बनाउने र पिसिआर नेगेटिभ यात्रुलाई सहज रुपमा भ्रमण व्यवस्था गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । हालै काठमाडौँमा भएको एक कार्यक्रममा पर्यटनमन्त्री भानुभक्त ढकालले पिसिआर रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटकलाई निर्बाधरुपमा नेपाल भ्रमण गर्न दिने जनाउनुभएको थियो । अनअराइभल भिसाको व्यवस्था गर्न मन्त्रालयले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई लिखितरुपमै पठाएको र छिट्टै मन्त्रिपरिषद्बाट पारित हुने जनाइएको छ ।

पर्वतारोहणको मुख्य याम वसन्तका लागि अहिले विभिन्न पर्वतारोहणसम्बन्धी कम्पनीमार्फत बुकिङ चलिरहेको छ । सेभेन समिट ट्रेकको मात्रै वसन्त यामका लागि ८० विदेशीसहित २५० आरोहीले सगरमाथा आरोहणको तयारी गरिरहेको कम्पनीका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिनुभयो । अन्य कम्पनीमार्फत पनि आरोहीले धमाधम बुकिङ गरिरहेका छन् ।

महामारीकै बीच बहराइनका राजकुमारसहितको टोलीलाई गत शरद् याममा मनास्लु हिमाल आरोहणको अनुमति दिएको थियो । टोलीले असोज २९ गते मनास्लुको सफल आरोहण गरेको थियो । महामारीबीच भएको सो आरोहण नै विदेशी टोली सम्मिलित पहिलो थियो । त्यसपछि कतारका राजकुमारसहितको टोलीले गत कात्तिक २६ गते अमादब्लम हिमालको आरोहण गरेको थियो । असहज परिस्थिति भए पनि विदेशी विशिष्ट व्यक्तिको आरोहणले पर्वतारोहणमा उत्साह जगाएको छ । अहिले पर्यटनका सबैजसो क्षेत्र खुलिसकेका छन् । पर्यटकीय गतिविधि पनि बढेको छ । सरकारले कोभिडका कारण स्थगन गरिएको पदयात्रा र पर्वतारोहण कात्तिकदेखि खुलाएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter