कागती खेतीबाट वार्षिक सात लाख आम्दानी, बजार अभाव छैन

ज्ञानु पंगेनी / कवासोती , वैशाख १३ गते । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ८ रानीटार निवासी किसान नरेन्द्रकुमार केसीले कागती खेतीबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ ।

उहाँले पाँच वर्षअघि कागती खेती सुरु गर्नुभएको थियो । खेती सुरु गरेको दुई वर्षपछि उत्पादन दिन सुरु गरेको हो । कागती खेतीबाट उहाँले सबै खर्च कटाएर वार्षिक रुपमा सात लाख रुपियाँ आम्दानी गर्दै आएको बताउनुभयो । वार्षिक करीब डेढ लाख रुपियाँ लगानी लाग्ने गरेको उहाँले जानकारी दिनुभयो । लगानीको तुलनामा कागती खेतीबाट नाफा बढी हुने उहाँ बताउनुहुन्छ । ‘खर्च कम , मलजल पनि थोरै भए पुग्ने, मिहिनेत पनि कम लाग्ने, आम्दानी भने राम्रो हुने भएकाले कागतीखेतीतर्फ यहाँका किसान आकर्षित भएका छन् । ’ केसीले भन्नुभयो ।

उहाँले यस अघि तरकारी खेती र केरा खेती गर्नुभएको थियो । तर , जङ्गलको नजिकै जग्गा हुँदा बाँदर अन्य जङ्गली जनावारले आएर नोक्सान पु¥याउने, आम्दानी पनि सोचेजस्तो नहुने र विषादीको बढी प्रयोग गर्दा स्वास्थ्यमा समेत असर पर्नेहुँदा कागती खेती सुरु गरेको उहाँले बताउनुभयो ।

चार कठ्ठा जग्गामा उहाँले सुन जातको कागती लगाउनुभएको छ । ठूलो ८५ र सानो २५ बोट गरी उहाँको बगैँचामा अहिले कागतीका ११० बोट छन् । यी बोटबाट वार्षिक ५५ क्वीन्टलसम्म कागती उत्पादन भएको केसीले जानकारी दिनुभयो । यी बोटमा बाह्रैमासे फल लाग्ने गरेको छ ।

सुन कागती एक जातको कागती पहाडमा फल्ने कागती जस्तै हुन्छ । यो कागतीको बजार पनि राम्रो छ । उत्पादन जति भएपनि बजारीकरणमा समस्या नभएको केसी बताउनुहुन्छ । नारायणगढ , काडमाडाैं लगायतका मुख्य सहरमा कागतीको खपत हुँदै आएको छ । व्यापारीहरु गाडी लिएर घरमै आउने गर्छन् । जसले गर्दा बिक्री गर्न पनि झन्झट नहुने उहाँको भनाइ छ ।

केसीले अहिले कागतीको नर्सरी सुरु गर्नुभएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला जात फलफूल जोन कार्यक्रम अन्तर्गत उहाँले यसै वर्षबाट नर्सरी सुरु गर्नुभएको हो । कागती खेतीलाई नै आफ्नो मुख्य पेशा बनाएकाले अन्यत्रबाट महङ्गोमा बिरुवा खरिद गर्नुभन्दा आफैँले मिहिनेत गरेर बिरुवा उत्पादन गर्दा सहज हुने र अन्य किसान समेत लाभान्वित हुने भएकाले आफूले नर्सरी समेत सुरु गरेको उहाँले बताउनुभयो ।

परियोजनाको ८५ प्रतिशत र जनसहभागिता १५ प्रतिशत गरी १० लाख रुपियाँ लागतमा दुई वटा नर्सरीको घर निर्माण गरिएको छ । परियोजनाको ७ लाख ५० हजार र जनसहभागिता दुई लाख ५९ हजार रुपियाँ लागतमा नर्सरी सुरु गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ पूर्वी नवलपरासीका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।

नर्सरीमा सुन कागती एक र दुईको विरुवा उत्पादन गरिनेछ । वार्षिक रुपमा ३० हजार कलमी बिरुवा उत्पादन गर्ने लक्ष्य रहेको शर्माले बताउनुभयो । आगामी वर्षबाट नर्सरीमा बिरुवा उत्पादन तयार हुने उहाँले बताउनुभयो । कागती खेतीतर्फ यहाँका किसान निकै आकर्षित हुँदै गएकाले विरुवा समेत पु¥याउन गाह्रो भइरहेको उहाँ बताउनुहुन्छ । बाहिरबाट बिरुवा ल्याउँदा महँगाे पर्ने , कहिले राम्रो नपर्ने , मर्ने लगायतका समस्या भएको कारण परियोजनाले किसान मार्फत जिल्लामै नर्सरी सुरु गरेको उहाँले बताउनुभयो ।

सुन्तला जात फलफूल जोन कार्यक्रम मार्फत यहाँ बुलिङटार, बौदिकाली, गैँडाकोट, हुप्सेकोट, देवचुली र मध्यविन्दुका केही वडाहरुमा जोन कार्यक्रम संचालनमा छ । यहाँ तल्लो भेगमा सुनकागती १ , २ र पहाडमा तेह्रथुम स्थानीय जातको कागती लगाउने गरिएको छ । जिल्लामा करिब दुई सय हेक्टर क्षेत्रफलमा व्यावसायिक कागती खेती हुने गरेको प्रमुख शर्माले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter