मेलम्चीको हेडवर्क निर्माण सम्पन्न, भौतिक काम लगभग पूरा

मुकुन्द गैरे / काठमाडौं, जेठ २३ गते । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाकोे बाँकी काममध्ये हेडवर्क निर्माणकाे काम पनि सम्पन्न भएको छ ।

मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले हेडवर्क बनाउने काम सम्पन्न भइसकेको र बाहिर गेटका ढोका राख्नको लागि काम भइरहेको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

पछि सुरुङमा जस्तै समय समयमा हेडवर्क सफा गर्नुपर्ने हुन्छ त्यसको लागि मानिस र क्रेन जान सक्ने गेट चाहिने भएकोले त्यसको लागि काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

गेटको बाँकी काम पनि अव केही समयमा सम्पन्न हुने आयोजनाको भनाई छ । यस बाहेक अब मेलम्ची आयोजनाको भौतिक निर्माणको काम लगभग सबै सम्पन्न भएको छ ।

पाइप लाइनकाे काम धमाधम

यसै गरी काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा पनि मेलम्चीको नयाँ पाइपलाइनको काम भइरहेको छ ।

स्वास्थ्य मापदण्ड पालना गरी काठमाडौं उपत्यकामा धमाधम पानी परीक्षण र नयाँ पाइप विछयाउने, घरघरमा मिटर राख्ने काम भइरहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

काठमाडौं, र ललितपुरका रिङरोड क्षेत्रमा पाइपको परीक्षण र मिटर जडानदेखि पाइप बिछयाउने काम पनि एकैसाथ भइरहेको आयोजना निर्देशनालयका उपनिर्देशक उज्वल प्रजापतिले जानकारी दिनुभयो ।

मेलम्चीको पानी काठमाडौं आए पछि सुरुमा पुरानै वितरण प्रणालीबाट पानी वितरण गरिए पनि अहिले बिस्तारै नयाँ धारामा पनि पानी वितरण बढाउँदै गएको उहाँले जानकारी दिनुभयो । काठमाडौं उपत्यकामा १६२ वटा एरियामध्ये हाल पाँच वटा एरियामा नयाँ पाइपलाइनबाट पानी वितरण भइरहेको छ जसमा एउटा क्षेत्रमा मात्रै पाँचसयदेखि सातसय घरको धारा हुने गरेको उपनिर्देशक प्रजापति बताउनुहुन्छ ।

कोरोनाको कारण काममा केही असहज भए पनि नयाँ पाइपलाइनको काम तीव्र गतिमा भएकोले अवको सात महिनाभित्र सबै नयाँ पाइपलाइनबाट पानी पठाउने निर्देशनालयको योजना छ ।

यसैगरी भक्तपुरको कटुन्जेमा पानीपोखरी बनाउने काम पनि भइरहेको छ । उपत्यकामा भित्र लगभग सबै ठाउँमा पानी ट्याङ्कीको निर्माण सम्पन्न भइसकेको छ । मेलम्ची खानेपानी आयोजनाले पानी पथान्तरणका लागि महत्वपूर्ण पूर्वाधारहरुको निर्माण सम्पन्न भएसँगै २०७७ फागुन १० गतेबाट सुरुङ परीक्षण कार्य आरम्भ गरेको थियो ।

परीक्षणको क्रममा २०७७ फागुन २२ गते सुन्दरीजलमा पानी आइपुगेको थियो । यसरी प्राप्त पानी चैत १३ गतेबाट सुन्दरीजलमा प्रसोधन गरी आंशिक रुपमा वितरण प्रणालीमा उपलब्ध गराइएको थियो ।

वितरण प्रणालीमा पूर्ण क्षमतामा पानी प्रवाह गर्ने क्रममा समितिले मेलम्ची नदीमा उपलब्ध पानीको नियमित मापन गरी अनुगमन गरिरहेको छ ।

मेलम्ची नदीको जल प्रवाह, नदी पर्यावरण तथा तल्लो भेगमा आवश्यक पानी नियमित रुपमा उपलब्ध गराउन विशेष ध्यान दिइएको समितिले बताएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter