भानुभक्त प्राणी उद्यानमा १७७ प्रजातिका चरा फेला

अमरराज नहर्की / तनहुँ, जेठ २५ गते । तनहुँको भानुभक्त प्राणी उद्यान क्षेत्र १७७ प्रजातिका चराको क्रिडास्थल भएको पत्ता लागेको छ । गर्मी मौसममा १४४ र बाँकी हिउँद याममा गरी सो सङ्ख्यामा चरा भेटिएको हो । हालै गरिएको साताव्यापी चरा अनुगमनका क्रममा १२४ फेला परेपछि गर्मी र हिउँद मौसममा गरी उद्यानमा १७७ प्रजातिको चराहरुको क्रिडास्थल रहेको पाइएकाे छ । ‘‘गर्मी मौसम छोटो अवधिमा गरिएको अनुगमनका क्रममा भेटिएका १२४ प्रजातिका चराहरु सूचिकृत गरेका छौं, नेपालमा मात्रै पाईने काँडेभ्याकुर समेत फेला पार्दा निकै खुसी लागेको छ’’ भानुभक्त प्राणी उद्यानका कार्यालय प्रमुख रूपक महर्जनले बताउनुभयो ।

उद्यानका अनुसार काठमाडौंबाट चरा विज्ञहरु बोलाएर सबै क्षेत्रलाई समेटिने गरी लाइन ट्रान्जेक्ट बनाएर अनुगमन गरिएको थियो । ४२५ हेक्टर क्षेत्रफलमा रहेको उद्यान अनुगमनका क्रममा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयूसीएन)को सङ्कटापन्न सूचीमा रहेका विश्वमै दुर्लभ मानिएका गोमायु महाचिल र सेतो गिद्धसमेत रेकर्ड गरिएको छ । संवेदनशील सूचीमा रहेका हिमाली गिद्ध, चस्मे उलुक, घेघरी झाडीफिस्टो र नेपालमा मात्र पाइने काँडेभ्याकुरलगायत विभिन्न रैथाने, हिउँदे र ग्रीष्मकालीन आगन्तुक चरा समेत भेटिएका थिए । उद्यानमा तित्रा, काकाकुल, ढुकुर, चिबे, जुरेली, कोइली, कालिज, लामपुच्छ्रे, सुँगा, न्याउली, हुटिट्याङ, ठेउवा, गौथली, तोरीडाँडा, माटीकोरे लगायतको चराको पनि क्रिडास्थल रहेको उद्यानले जनाएको छ । छोटो अवधिमा नै उक्त प्रजातिको भेटिएको र लामो समय लगाएर वितृत अध्ययन गर्ने हो भने थप फेला पार्न सकिने अनुमान गरिएको कार्यालय प्रमुख महर्जन बताउनुहुन्छ ।

‘‘हालको अनुगमनबाट फेला परेका चराका प्रजातिको अभिलेख राखिएको तीमध्ये ३६ प्रजातिका चरा गत वर्ष गरिएको हिउँदे अनुगमनका क्रममा फेला परेका थिएनन्’’ महर्जनले भन्नुभयो । बसाई सरेर आउने तथा जाने चराहरु हुने भएकोले मौसम अनुसार प्रजातिको सङ्ख्यामा फरक पर्ने उहाँले जानकारी दिनुभयो । अद्यावधिक अभिलेखअनुसार प्राणी उद्यान क्षेत्रभित्र १ सय ७७ प्रजातिका चरा रहेको बताइएको छ । सानो उद्यानमा धेरै प्रजातिका चरा भेटिनुले उद्यान चराको अवलोकन गर्ने मात्रै नभई अध्ययन र अनुसन्धानको दृष्टिले महत्वपूर्ण रहेको कार्यालय प्रमुख महर्जन बताउनुहुन्छ  ।

काठमाडौं पोखरा पृथ्वीराजमार्गसँग जोडिएको, नेपालका चर्चित पर्यटकीय स्थल पोखरा र सौराहाकोबीचमा यो प्राणी उद्यान रहेको छ । यस उद्यानको पर्यटकीय पूर्वाधार निर्माणको लागि नेपाल सरकारले प्राथमिकता दिएको छ । आर्थिक वर्ष २०७८÷७९ को बजेटमा तनहुँको निर्वाचन क्षेत्र नम्बर– १ मा रहेको यस उद्यानको कार्य सम्पन्न गरिने उल्लेख गरिएको छ । यस क्षेत्र नजिकै पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने अन्य क्षेत्रहरु राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल, व्यास पराशर ऋषीको तपोभूमि, छाब्दीवाराही, ऐतिहासिक तनहुँसुर दरबार, पहाडकी रानी उपनामले प्रख्याति कमाएको बन्दीपुरसँग जोडिएको हजारौं पर्यटकलाई आकर्षित गर्ने सम्भावना रहेकोले पूर्व वनमन्त्री शङ्कर भण्डारीले प्राणी उद्यान निर्माणको लागि पहलकदमी गरेको भानु नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष प्रकाश मल्ल टाइसनले जानकारी दिनुभयो ।

वि.सं.१९८९ मा स्थापना भएको जावलाखेल स्थित सदर चिडिया खाना धेरै अघि तथा सिमित क्षेत्रमा स्थापना भएकोले पूर्वाधारमा कमी महशुस गरिएको छ । सङ्घीय संरचनामा देश गइरहँदा जैविक विविधताको प्रवद्धर्नका साथै अध्ययन, अवलोकन, तथा पर्यापर्यटन विकासमा लागि देशको अन्य स्थानमा पनि प्राणी उद्यानको आवश्यकता महशुस गरी यस प्राणी उद्यानको कार्य अघि बढाईएको हो ।

आर्थिक वर्ष २०७३÷०७४ को वजेट वक्तव्यमा नेपालको सातै प्रदेशमा प्राणी उद्यान स्थापनाका लागि संभाव्यता अध्ययन गर्ने उल्लेख भएको थियो । वजेटलाई कार्यान्वयन गर्ने क्रममा २०७३ साल माघ २० गते नेपाल सरकार मन्त्री परिषदको निर्णय अनुसार भानुभक्त प्राणी उद्यानको घोषणा भई २०७४ वैशाख १८ गते राजपत्रका सूचना प्रकाशित भएको थियो । उद्यान व्यास नगरपालिका–११ र १२ र भानु नगरपालिका–५ र ६ आसपासका ८ सामुदायिक वनको आंशिक क्षेत्र, ५ कबुलियती वन, निजी आवादी तथा खोला नाला, ऐलानी पर्ति, र राष्ट्रिय वनको भागलाई समेटि ४२५ हेक्टरको क्षेत्रफलाई समेटिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter