बाँस र नियालोले परिवार धान्दै, ८० वर्षीय बाडी गुरुङ

लमजुङ, जेठ २८ गते । सेतै फुलेको दारी, कपाल । चाउरिएका मुहार । शिरमा टाका टोपी, शरीरमा भोटो र कच्छाड र खुट्टामा एक जोर चम्पल । यति मात्र नभई हातमा लिएको हँसियाले बाँस, नियालोको चोयासँगै रमाउनु हुन्छ, दोर्दी गाउँपालिका—३ नौथर शेराका ८० वर्षीय बाडी गुरुङ ।

आराम गरेर बस्नुपर्ने उमेरमा युवाहरु भन्दा व्यस्त हुनुहुन्छ उहाँ । कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञाका बीचमा समेत उहाँ बिहान कुखुराको भाले बाँसेसँगै उठ्नु हुन्छ । हातमुख धोएपछि आफैँ खाजा बनाएर खानुहुन्छ र थाल्नुहुन्छ पसिनाको व्यापार उसैमा उहाँको सीप झल्किन्छ र पेशा चल्न थाल्छ । कहिले बाँस तथा नियालो लिन घरबाट एक घण्टा टाढा श्रीमञ्जाङका गाउँहरुमा पुग्ने गर्नुहुन्छ । बाँस तथा नियालो काटेर आफैँले नै बोकेर घरसम्मै ल्याउनुहुन्छ ।

यतिकैमा उहाँको पेशा रोकिन्न । अनि बाँस तथा नियालो खुर्किन र काट्न तथा चोयाको सामग्री बनाउनका लागि तयार गर्नुहुन्छ । त्यसपछि स्याखु, डोको, थुम्से, नाम्लो, नाङ्लोलगायतका सामग्री बुन्नुहुन्छ । उहाँको यस्तो सीप तथा जाँगर देख्दा जो कोही पनि मोहित पर्ने गर्दछन् । कम बोल्ने तथा लजालु स्वाभाव भएकाले जो कोही सँग हतपत खुलेर कुरा गर्नु मान्नु हुन्न । आफूसरहका अरु बुढापाकाहरुसँग पनि बसेर उहाँ समय खर्चिन चाहनु हुन्न । उहाँ भन्नुहुन्छ, “अरुसँग गफिएर बस्नुभन्दा त आफ्नो सीप अनुसारको काम ग¥यो भने दुई÷चार पैसा पनि आम्दानी हुन्छ ।”

उहाँलाई भेट्ने अधिकांश मानिसले उहाँको काम तथा सीपको बारेमा र उहाँको जीवनको बारेमा चासो राख्ने गर्दछन् । कतिपयले उहाँले यस उमेरमा पनि यस्तो काम बाध्यताले गर्नुभएको होला भन्ने ठान्छन् । उहाँलाई काम नगरी खानै नपुग्ने अवस्था पनि छैन । उहाँका छोरा बुहारी रोजगारीको सिलसिलमा घर बाहिर रहेका छन् भने दुई वटा नाति उहाँसँगै बस्दछन् । आफ्नो कमाइले तीनजनालाई सजिलैसँग पुगेको उहाँ बताउनुहुन्छ ।

उहाँको यो पेशा बाध्यता नभई जानेको सीप र फुर्सदको समय सदुपयोग गर्नुभएको हो । उहाँलेले भन्नुभयो, “सानै हुँदा लेकमा गोठालो जाँने बेलामा जानेको सीप घर फर्के पछि २० वर्षदेखि यही पेशा गर्दै आइरहेको छु । स्वास्थ्यले साथ दिउञ्जेल काम गरिरहने छु । बेलामा पढाइ पनि भएन, अरु पेशा पनि जानिएन । आफूले जे जानेको छ, त्यही गर्ने त हो नि ।”

उहाँलाई केही काम नगरी त्यतिकै घरमा बसेर समय कटाउन निकै गाह्रो लाग्छ । उहाँ भन्नुहुन्छ, “यसरी काम गर्दा दिन बितेको पत्तै हुँदैन । दिन पनि कटाउन सजिलो, आम्दानी पनि राम्रो हुन्छ ।” उहाँँको सीप बिक्री गरेर आएको आम्दानीले घर खर्च चलेको छ । उहाँले बुनेका स्याँखु, डोको, थुम्से, नाम्लो, नाङ्लोलगायतका सामग्रीबाट महिनामै कम्तिमा पनि २५÷३० हजार रुपैयाँ सजिलै कमाइ हुन्छ । एक दिनमा एउटा स्याखु बुनिसक्ने, डोको, थुम्से, नाङ्लो त एक दिनमै तीन वटासम्म तयार गर्ने गरेको उहाँले सुनाउनुभयो । उहाँले बुनेका प्रति स्याखु रु ८००, डोको, थुम्से रु ३००, चाल्नो रु ५०० मा सजिलै बिक्री हुने गरेको छ ।

यस गाउँमै उहाँले मात्र यस्तो पेशा गर्ने भएकाले घरमै नै ती सामग्रीहरु लिन आउने गरेकाले बिक्रीमा कुनै समस्या छैन । यतिबेला त खेतिपाती गर्ने समय आउन थालेकाले माग पनि बढिरहेको उहाँको भनाइ छ । ती सामग्री लिनका लागि नौथर शेरा, रामचोक बेँसी, श्रीमञ्जाङका विभिन्न गाउँ, बगर गाउँलगायतका वासिन्दाहरु आउने गरेको गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जताततै कोरोना महामारी आएको छ भन्छन्, तर मलाई त केही थाहा छैन, सधँै यी काममा मात्र ध्यान जान्छ ।” आफूले गाउँका युवाहरुलाई आफूले जानेको सीप सिकाउन खोज्दा कसैले पनि चासो नदेखाएको उहाँको भनाइ छ । “भोलिका दिन यस्ता सामग्रीहरु लोप हुने हुन् कि भन्ने चिन्ता लाग्छ” उहाँ भन्नुहुन्छ, “युवाहरु काम नपाएर विदेश जान रुचाउँछन् तर विदेशको भन्दा राम्रो कमाइ घरमै बसेर हुनेतिर कसैको ध्यान छैन ।” यो पेशालाई आफूले सकेसम्म अझै केही वर्ष निरन्तरता दिने उहाँको भनाइ छ । रासस

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

TOP NEWSview all

KMC to build 100-bed special hospital

Nepal’s proposal to graduate from LDC status to be presented in UNGA for endorsement

World Bank to provide US $ 60 million to strengthen Nepal’s higher education

32,500 metric ton Urea arrives in Nepal

Writ petition filed in Supreme Court against reshuffle of cabinet




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter