योजना कार्यान्वयनमा विभेद हुँदैन : प्रधानमन्त्री



काठमाडौँ, भदौ ५ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमलाई बजेट बाँडफाँट तथा विकास निर्माणसम्बन्धी योजना कार्यान्वयनमा कुनै किसिमको विभेद नहुने बताउनुभएको छ ।

नेपाली काँग्रेसबाट निर्वाचित सुदूरपश्चिम क्षेत्रका स्थानीय नगरपालिका र गाउँपालिका प्रमुख तथा उपप्रमुखहरूसँगको भेटमा उहाँले सो कुरा बताउनुभएको हो । सुदूरपश्चिम क्षेत्रलाई विकास निर्माणको मूल प्रवाहमा समेट्न आग्रह गर्दै स्थानीय जनप्रतिनिधिहरूले शुक्रबार प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।

डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदको अगुवाइमा जननिर्वाचित प्रतिनिधिमण्डलले देश विकासको मूल प्रवाहमा सुदूरपश्चिमलाई जोड्न आग्रह गर्नुभएको थियो । डडेल्धुरा प्रधानमन्त्री देउवाको गृहजिल्ला पनि हो । त्यस अवसरमा सुदूरपश्चिम प्रदेशको विकास निर्माणसँगै भौतिक पूर्वाधार, आर्थिक, सामाजिक र सांस्कृतिक विकाससम्बन्धी गतिविधिहरू पर्याप्त बजेटको अभावमा सुस्त बन्दै गएको भन्दै प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनुभयो ।

धनगढी विमानस्थलको स्तरोन्नति, पश्चिम सेती जलविद्युत् आयोजना निर्माण कार्य प्रारम्भ, सुुदूरपश्चिम मेडिकल कलेज स्थापना, डडेल्धुरा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण, भीमदत्त राजमार्ग र केआई सिंह राजमार्गको स्तरोन्नतिका लागि प्रधानमन्त्री देउवासमक्ष लिखित आग्रह गरिएको बताइएको छ ।

परशुराम नगरपालिकाका प्रमुख साउदले सुदूरपश्चिम विकास निर्माण तथा बजेट विनियोजनको दृष्टिकोणले केन्द्र सरकारबाट जहिले पनि उपेक्षित हुने गरेको बताउनुभयो । यतिबेला सुदूरपश्चिमको दुःख र पीडा बुझेका व्यक्ति पुनः प्रधानमन्त्री बन्नु भएकाले उल्लेखित समस्याको सुनुवाइ हुनेमा आफू विश्वस्त भएको उहाँले बताउनुभयो ।

त्यस्तै, डडेल्धुरादेखि गोठालापानी, खोड्पेदेखि चैनपुर बझाङ, महाकाली राजमार्गको सतबाँझदेखि दार्चुला खलङ्गा, सिलगढीदेखि अछाम मङ्गलसेन र साँफेबगर–बाजुरा मार्तडी सडकको अविलम्ब स्तरोन्नतिका लागि आग्रह गरिएको छ ।

मनसुनजन्य विपत् बाढी र पहिरोका कारण साँफेबगर–मार्तडी बाजुरा र खोड्पे–चैनपुर बझाङ सडक अवरुद्ध हुँदा सर्वसाधारणको आवागमनमा समस्या भएको छ । सडक पुनः निर्माण नहुँदा सर्वसाधारण घण्टौँ पैदल यात्रा गर्न बाध्य भएको गुनासो जनप्रतिनिधिहरूको छ ।

कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम, डोटी, बाजुरा र बझाङ लगायत जिल्लाका नगरपालिका तथा गाउँपालिकाका जनप्रतिनिधिहरूले प्रधानमन्त्री देउवालाई बधाई दिँदै राजनीतिक स्थायित्व, आर्थिक तथा सामाजिक परिवर्तनका लागि वर्तमान सरकारलाई सफल बनाउन आग्रह गर्नुभयो ।



Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter