• Thursday, June 12, 2025

व्यवसायिक बट्टाई पालन शुरु

चन्द्र पन्दाक / ताप्लेजुङ, मङ्सिर १६ गते । हिमाली जिल्ला ताप्लेजुङमा व्यावसायिक बट्टाई (चरा) पालन शुरु भएको छ । थोरै लगानी र छोटो समयमै आम्दानी गर्न सकिने बुझेपछि स्थानीय किसानले व्यवसायिक रुपमा बट्टाई पालन शुरु गरेका हुन् । पछिल्लो समय सदरमुकाम आसपास क्षेत्रका किसान बट्टाई पालनतर्फ आकर्षित हुँदै गएकाे पाइएको छ ।

बट्टाई पालनका लागि धेरै क्षेत्र (जमिन) पनि नचाहिने साथै, थोरै आर्थिक व्यवस्थापनबाट नै व्यवसाय शुरु गर्न सकिने भएपछि यसतर्फ किसान आकर्षित बन्दै गएका हुन् । सदरमुकामस्थित फुङ्लिङ नगरपालिका–७ का स्थानीय प्रेमसिंह तामाङले पूरानो व्यवसाय छोडेर अहिले बट्टाई पालन शुरु गर्नुभएको छ । तामाङले सदरमुकाम फुङ्लिङमा रहेको इलेक्ट्रोनिक्स तथा मेकानिक पसल बेचेर बट्टाई पालन व्यवसाय शुरु गर्नुभएको हो ।

पहिलेको व्यवसायभन्दा नयाँ व्यवसाय बट्टाई पालनबाट राम्रो आम्दानी हुन थालेको उहाँ बताउनुहुन्छ । नयाँ व्यवसाय शुरु गरेपछि हाल सातामै बट्टाईको अण्डा विक्री गरेर चार हजार रुपियाँसम्म आम्दानी हुने गरेको उहाँले बताउनुभयो । उहाँले अण्डा प्रतिगोटा १० रुपियाँ र मासुका लागि बट्टाई प्रतिगोटा चारसय रुपियाँ सम्ममा विक्री गर्दै आएको सुनाउनुभयो । उहाँले आफ्नै फर्ममा बट्टाईको बच्चा उत्पादन गर्न शुरु गरेको र यसबाट थप आम्दानी बढ्दै गएको बताउनुभयो ।

फुङ्लिङ नगरपालिका–५ का डिल्ली लिम्बूले पनि एक दशक अघिदेखि सदरमुकाममा सञ्चालन गर्दै आएको कपडा व्यवसाय छोडेर अहिले कृषि पेशामा रमाउन थाल्नुभएको छ । सदरमुकाम नजिक दोखुमा एक रोपनी जग्गा खरिद गरेर लिम्बूले कृषि कर्म अँगाल्न थाल्नुभएको छ । मुक्कुमलुङ मल्टी कृषि फार्म स्थापना गरेर बट्टाई पालनसँगै लोकल कुखुरा, कोरकनाथ कुखुरा, विभिन्न जातका बाख्रा तथा बङ्गुर पालन गर्दै आउनुभएको छ ।

यस्तै, फलफूलतर्फ केरा, सुन्तला, कागतीजस्ता खेती पनि लगाएर राम्रो आम्दानी गर्दै आउनुभएको छ । उहाँले पाँचसय बढी बट्टाई पालेको र यसबाट दैनिक एकसय बढी अण्डा उत्पादन हुने बताउनुभयो । बट्टाईको अण्डा बिक्रीबाट नै राम्रो आम्दान हुने उहाँको भनाइ छ । बट्टाईको मासु र अण्डा अधिकांश सेवाग्राहीको रोजाइमा पर्न थालेकाले बजार माग पनि अत्यधिक रहेको उहाँले बताउनुभयो ।

उहाँहरुजस्तै सदरमुकाम आसपासका धेरै किसानले बट्टाई पालन गर्दै आएका छन् । बट्टाई पालक किसानका अनुसार चिसो मौसम शुरु भएसँगै यसको मासु र अण्डाको माग पनि बढेको छ । बट्टाईको मासु र अण्डा उपभोग गर्दा स्वास्थ्यलाई धेरै फाइदा हुने भएपछि उपभोक्ताको माग उच्च रहेको उनीहरु बताउँछन् । त्यस्तै ग्रामिण क्षेत्रका किसानले समेत बट्टाई पाल्न थालेको बताइएको छ । चोक बजार रहेको क्षेत्र नजिकका किसानले बट्टाई पाल्ने गरेका पाइएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter