• Friday, May 02, 2025

अमेरिकाको सरकारी जागिर छाडेर थातथलाेमा पौरख

भोटराज राई / उदयपुर, मङ्सिर २२ गते । एक युवा अमेरिकाको सरकारी जागिर छाडेर थातथलाेमा पौरख गर्न थाल्नुभएको छ । मातृभूमि र नेपाली संस्कृतिको मायाका कारण उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेका प्रज्ज्वल अधिकारीले अमेरिकाको राम्रो कमाई, सुविधा सम्पन्न बसाई छाडेर थातथलाेमा पौरख थाल्नुभएको हो ।

पढाईपछि कामको सिलसिलामा अमेरिकाको बोस्टन शहरमा हुलाक कार्यालयमा सरकारी जागिर खान पुग्नुभएको अधिकारीले त्यहाँ राम्रो कमाई मात्र हैन उतै घर पनि जोड्नुभयो । श्रीमती नर्सको जागिरे थियो । ती सबै छाडेर अधिकारी परिवार केही गर्न आउनुभएको छ । उहाँ अमेरिकामा सन् २०१२ मा गए लगत्तै जागिरमा लाग्नुभएको थियो ।

“अमेरिकामा जे जस्तो थियो, सबै सुनौलो अवसरको रुपमा थिए तर, पैसा, सुविधा मात्र ठूलो कुरो हैन रहेछ, मातृभूमि र नेपाली संस्कृति ठूलो रहेछ ।” अधिकारीले भन्नुभयो “त्यसैले यतै काम गर्न फर्किएँ ।”

उहाँ, चिल्ड्रेन फनपार्क, जीप लाईन, पिङ र पार्टीहलसहितको रिसोर्ट निर्माणमा हुनुहुन्छ । त्यसका लागि पाँच करोड हाराहारी लगानीमा एउटा सिङ्गो पाखालाई हराभरा बनाउने र भौतिक संरचना निर्माणको काम भइरहेको छ । बृहत प्याकेजको रिसोर्ट निर्माण गर्ने र त्यसलाई नाफामुखी भन्दा सेवामुखी बनाउने उद्घोष उहाँले गर्नुभएको छ ।

“राम्रो सुविधा थोरै पैसामा दिनेछौँ” योजना बारे उहाँले भन्नुभयो “स्वस्थकर खाना, पारिवारिक एवम् रमणीय वातावरण हुनेछ । साथै, स्थानीय जनशक्ति र स्रोतसाधनको प्रयोग हाम्रो प्राथमिकतामा हुनेछ ।”

गाउँमा हुर्के, बढेको मान्छे सामान्य शहरमै रमाउँछन्, काठमाडौं अझ ठूलो लाग्छ, काठमाडौंले मात्र नपुगेर अमेरिका पुग्दा पनि इच्छा, चाहना असिमित नै हुने कुरा थाहा पाएपछि अधिकारीले विवेकपूर्ण निर्णय गर्नुभएको हो । आत्म सन्तुष्टिले मात्र मानिस खुसी हुनसक्ने कुरा बुझेरै अरुलाई पनि फाईदा पुगोस् भन्ने हेतुले अब गाउँमै काम गर्ने निर्णय गरेको उहाँको भनाइ छ । त्यहाँको संरचना र पौरखले आफू हुर्केको वाल्यकाल र बुवाआमाको स्मृतिलाई ताजा बनाइराख्ने पनि उहाँको भनाइ छ ।

सदरमुकाम गाईघाट बजारदेखि एक/डेड किलोमिटरको दुरीमा बन्दै गरेको रिसोर्ट डेढवर्ष भित्रमा निर्माण पूरा गर्ने लक्ष्य छ । उहाँका अनुसार अहिले पहिलो चरणमा जग्गा सम्याउने, सभाहल, रेस्टुरेन्ट घर, किचेन, चर्पी, पार्किङ बनाउने काम भइरहेको छ । दोस्रो चरणमा गार्डेनिङ गरी सबैतिर हरियाली बनाउने र बालवालिकाको लागि फनपार्क निर्माण गर्ने र तेस्रो चरणमा जीपलाईन, ठूला पिङहरु निर्माणको काम सम्पन्न गर्ने योजना छ ।

जिल्ला सदरमुकाम गाईघाटमा धेरै कुराको विकास र थालनी भए पनि एउटा राम्रो पारिवारिक एवम् रमणीय वातावरणको रिसोर्ट अभाव देखेपछि अधिकारीले त्यसैमा लगानी गर्नुभएको हो । रिसोर्ट पर्यटन प्रवद्र्धन समेतका लागि हुने उहाँको विश्वास छ ।

रिसोर्टलाई सर्वसाधारणका लागि शुलभ मात्र नभई प्रविधिमैत्री बनाउने उहाँको योजना छ । त्यहाँ अनलाईन सुविधा, डेलिभरी सिस्टम प्रभावकारी बनाउने सोच रहेकोछ । साथै, जिल्लाको सप्तकोशी चतरा, उदयपुरगडी, चौदण्डीगडी, ताप्लीपोखरी, लिम्चुङबुङ एभरेष्ट भ्यूटपदेखि हलेसीको भ्रमण प्याकेज जस्ता पर्यटकीय योजना छ ।

मानिसको असिमित इच्छा, चाहनालाई सिमिततामा बाधेर आफु र अरुलाईसमेत खुसी बनाउन सक्ने क्षमता विवेकशील मानिसमा मात्र हुन्छ । त्यसको उदाहरण अधिकारी बन्नुभएको छ । उहाँका साथ नौ र सात वर्षका दुई सन्तान नेपाली संस्कृतिमै रमाअाेस् भन्ने चाहनुहुन्छ । त्यसो भएकाले पनि परिवार नेपाल बस्ने निर्णय गर्नुभएको हो ।

अमेरिका बस्दा थुप्रै नेपालीलाई जागिरका लागि सहयोग गर्नुभएको अधिकारीकाे यस याेजनाका कारण थुप्रै अवसर सिर्जना हुने र सहयोगको वातावरण बन्ने बताइएकाे छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter