कालिञ्चोक कुरीका होटल व्यवसायीको मुहारमा छायो खुशीयाली

बाबुराम शर्मा / चरिकोट, पुस १७ गते । नयाँ वर्ष लागेसँगै बन्दाबन्दीको कारण लामो समयदेखि बन्द रहेका दोलखाको कालिञ्चोक कुरीका होटल वर्षकै पहिलो पटक भरिभराउ भएपछि होटल व्यवसायीको मुहारमा खुशीयाली छाएको छ ।

नयाँ वर्ष मनाउनका लागि काठमाडौंबाट युवायुवतीहरु र तराई क्षेत्रबाट भारतीयहरु समेत कालिञ्चोक क्षेत्र पुगेकाले कुरीका होटल व्यवसायीको मुहारमा खुशीयाली छाएको हाइल्यान्ड होटलका सञ्चालक यम पाख्रिनले बताउनु भयो ।

उहाँका अनाुसार कुरीमा रहेका सबै होटल एक हप्ता अघिदेखि नै पूर्णरुपमा बुकिङ भएका छन् । यस वर्षकै पहिलो पटक होटलहरु पूर्ण क्षमतामा सञ्चालनमा आएका छन् । नयाँ वर्ष मनाउन युवायुवतीहरु दुई दिनदेखि कालिञ्चोक भरिएका छन् । अझै केही दिन होटलहरु बुकिङमै रहेका छन् ।

नौ महिनादेखि बन्द रहेका मठ मन्दिरहरु एक महिनाअघि खुलेसँगै कालिञ्चोकमा केबुलकार समेत सञ्चालमा आएको छ । अहिले केबुलकार समेत शुक्रबार, शनिबार र बिदाका दिनमा पूर्ण क्षमतामा सञ्चालन हुन थालेको छ ।

गत असोज महिनापछि दोलखामा सबैभन्दा बढी पर्यटक काठमाडौंबाट आउने गरेका छन् । मठमन्दिर बन्द हुँदा पर्खाइमा रहेकाहरु अब धमाधम आउने साङग्रिला होटल सञ्चालक नवराज पाख्रिनले बताउनु भयो ।

विगतका वर्षमा यो सिजनमा पर्यटकहरुको सेवामा भ्याइ नभ्याइ हुन्थ्यो, उहाँले भन्नु भयो, कोरोना भाइरसको महामारीबाट बच्न सरकारले मन्दिर बन्द गरेका थियो । अहिले स्थिति सहज हुँदा मन्दिर खोलेकाले अब पर्यटकहरुको आवागमन पनि पुरानै लयमा फर्कंँदा अर्को हप्ताबाट व्यवसाय पनि पुरानै लयमा फर्कने आशा गरेका छौं । अहिले धार्मिक स्थल खुलेपछि भारतीय पर्यटकहरु समेत आउन थालेका छन् ।

दोलखामा आउने पर्यटकहरु मुख्य गरी भीमेश्वर मन्दिर, कालिञ्चोक र सैलुङमा आउने गरेका छन् । कालिञ्चोक र सैलुङमा यस वर्ष अहिलेसम्म हिउँ परेको छैन । हिउँ परेपछि हिउँ खेल्नकै लागि पनि पर्यटकहरु आउने हुँदा हिउँको पर्खाइमा व्यवसायीहरु रहेका बताइन्छ ।

हिउँ परेपछि कालिञ्चोक र सैलुङ क्षेत्रमा धेरै पर्यटकहरु आउने गर्छन् । राजधानीबाट नजिकको दूरीमा रहेका यस क्षेत्रमा आउने पर्यटकहरु पनि विदेसीभन्दा आन्तरिक नै धेरै हुन्छन् । सिजनमा यस क्षेत्रमा दैनिक १० हजार बढीले भ्रमण गर्छन् । कालिञ्चोकका होटल व्यवसायी चन्द्रकुमार लामाले हिउँ पर्ने सिजनमै धार्मिक स्थल खुलेकाले पर्यटकहरु बढ्ने अर्को आधार रहेको बताउनु भयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter