जुनारले पहेँलपुर बगैँचा, किसान दङ्ग

बाबुराम देवकोटा / सिन्धुली, पुस २३ गते । जुनारको मुख्य क्षेत्रका रूपमा परिचय बनाएको सिन्धुलीको महाभारत उत्तरतर्फका बगैँचा यतिखेर पहेँलपुर बनेका छन् । जुनार बिक्रीबाट बर्सेनि किसानले दुई लाखदेखि २० लाख रुपियाँसम्म आम्दानी लिने गरेका छन् ।

सिन्धुली जिल्लामै सबैभन्दा बढी गोलन्जोर गाउँपालिका–४ को माझकुभिण्डे र आलेगाउँमा जुनार उत्पादन हुने गरेको छ । यो वर्ष कोभिड–१९ को हल्लाले गर्दा धेरैजसो जुनार बोटमा नै छन्, गाउँ नै पहेँलपुर छ ।

सिन्धुली गोलान्जोर गाउँपालिका–४, तीनकन्याका किसान सुरेन्द्र ठकुरीले १६ रोपनी जमिनमा गर्नुभएको जुनार खेतीको बगैँचा यतिखेर पहेँलपुर बनेको छ । बोटमा लटरम्म फलेको जुनारको दाना देखेर उहाँ दङ्ग पर्नुहुन्छ । उहाँको बगैँचामा अहिले जुनार र सुन्तलाका ३५०–३५० बोट छन् ।

उहाँले भन्नुभयो, “हरेक वर्ष मङ्सिरको दोस्रो हप्तादेखि माघको अन्तिमसम्म जुनार र सुन्तलाले बगैँचा नै पहेँलपुर बन्ने गरेको छ । ” गत वर्ष जुनार सुन्तला बिक्रीबाटै १२ लाख ४८ हजार रुपियाँ नाफा लिएको उहाँले सुनाउनुभयो । वैशाखमा परेको असिनाले चिचिला झारे पनि मनै लोभ्याउने गरी दाना सप्रिएको ठकुरीले बताउनुभयो ।

चिनियाँ व्यापारीको चासो

चिनियाँ व्यापारीसहितको टोलीले गाउँमै पुगेर सम्भाव्यता अध्ययन गरेपछि किसानमा थप उत्साह पलाएको छ । बाहिरी मुलुकबाट समेत व्यापारी आएकाले बोटमा नै कुहिएर जाने अवस्था पक्कै नआउनेमा किसान ढुक्क रहेका जुनार किसान लोकबहादुर आले बताउनुहुन्छ । अहिले सिन्धुलीको जुनारको बजार काठमाडौँ र प्रमुख सहर हुन् । “जुनार उत्पादन यो वर्ष राम्रो भएको छ,” किसान आलेमगरले भन्नुभयो, “पाक्नुअगावै जुनारको बगैँचामा आएर खरिद गर्ने व्यापारी नआउँदा भने चिन्ता बढेको छ । ” थोरैथोरै जुनार बजारमा लगेको भए पनि ठूलो परिमाणमा खरिद गर्ने व्यापारी बगैँचामा नआएकाले अझै धेरै जुनार बिक्री गर्न बाँकी रहेको उहाँको भनाइ छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपर जोनका प्रमुख देवराज अधिकारीका अनुसार जिल्लामा यो वर्ष एक हजार ३४५ हेक्टर जमिनमा जुनार खेती गरिएको छ । जिल्लामा गत वर्ष जुनार खेतीबाट आठ हजार ८८१ मेट्रिक टन जुनार उत्पादन भएको थियो । रतनचुरा, तीनकन्या, जलकन्या, बितिजोर, वाशेश्वर, मझुवा र दुम्जालगायतका ठाउँ जुनार खेतीका लागि पकेट क्षेत्रका रूपमा रहेको छ ।

सिन्धुलीमा गत वर्ष उत्पादन भएको जुनारबाट किसानले झन्डै ७० करोड रुपियाँ भित्र्याएको जुनार केन्द्रीय सहकारी सङ्घले जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter