बाख्रापालनबाट राम्रो आम्दानी

बाबुराम शर्मा / चरीकोट, माघ ३ गते । दोलखाको तामाकोसी गाउँपालिका–२, झुलेका कमल कार्कीले नोकरी र विदेशको हन्डरबाट ठक्कर खाएर गरेको बाख्रापालनले राम्रो आम्दानी दिन थालेको छ । बाबुबाजेका पालादेखि गर्दै आएको स्थानीय जातका बाख्रापालनलाई परिवर्तन गरी उन्नत जातका बाख्रापालन गरेपछि वार्षिक छ लाख रुपियाँ कमाइ हुन थालेको किसान कार्कीले बताउनुभयो ।

उहाँका अनुसार दुई वर्षदेखि बाख्रापालनलाई व्यावसायिक बनाइएको हो । दुई, चार हुँदै यो वर्ष छ लाख रुपियाँ कमाइ भएको हो । कमाइ बढ्दै गएपछि बाख्रापालनले आकर्षित गरेको बताउने कार्की जनशक्ति अभावले लगानी बढाउन नसकेको जानकारी दिनुभयो । छ वर्ष दुबई बस्दा भएको दुःखको स्मरण गर्दै उहाँले भन्नुभयो, “दुःख गर्दा पनि खासै कमाउन नसकेपछि आफ्नै देशमा केही गर्छु भनेर बाख्रापालनमा लागेँ । यो पेसा त अहिले वरदान हुन थालेको छ । ” प्रदेशबाट बोका किन्न ७५ हजार र गाउँपालिकाबाट ६० हजार रुपियाँ मात्र पाएको तर खोर बनाउन डेढ लाख र बाख्रा बोका खरिदमा आठ लाख रुपियाँ खर्च भइसकेको उहाँले बताउनुभयो ।

लगानी डुब्छ कि भन्ने चिन्ता नरहेका कार्कीले भन्नुभयो, “पाठापाठी र खसी बेच्दा आगामी साल त लगानी उठिहाल्छ नि । उन्नत जातको तीन महिने पाठी छ हजारमा बिक्री हुन्छ । खसी काठमाडौँ लगेर बेच्ने गरिएको छ । एउटाको ५०/६० हजार त आइहाल्छ । ” उहाँसँग अहिले जमुनापारि र बोयर जातका गरी ११ माउ र पाठापाठी, खसी १८ गरी २९ वटा छन् ।

बाख्रापालनलाई भरथेग गर्न उहाँले भैँसी र कुखुरापालन पनि गर्नुभएको छ । उहाँले भन्नुभयो, “खेतीलाई मल पनि हुने आम्दानी पनि हुने भनेर बाख्रापालन गरिएको हो । दूध, अण्डा र तरकारी घरबाटै बिक्री हुन्छ, बजारको समस्या छैन । ” व्यावसायिक बनेपछि कमला बाख्रा फार्म दर्ता गरिएको छ । श्रीमती कमला कार्कीले फस्टाउँदै गरेको पेसालाई थप गर्न ऋण नपाएकामा दुःख व्यक्त गर्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter