मासिँदै शहीदका घर र सामग्री, संरक्षण नभएको गुनासो

सपना थामी / काठमाडौं, माघ १६ गते । माघ १६ गते अर्थात् ‘शहीद दिवस’ । हरेक वर्ष माघ १० देखि १६ सम्म शहीद सप्ताह मनाइँदै आएको छ । वि.सं. १९९७ माघ १० गते शुक्रराज शास्त्रीलाई काठमाडौंको टेकुस्थित पचलीमा फाँसी दिइयो । न्याय, स्वतन्त्रता र समानताका खातिर पहिलो पटक शुक्रराजको अमूल्य जीवनलाई मृत्युको शूलीमा चढाइएपछि धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठ मृत्युको पालो कुरिरहनु भएको थियो । माघ १३ गते धर्मभक्तलाई सिफलमा झुण्ड्याएर मृत्युदण्ड दिइयो । र माघ १५ गते दशरथ र गङ्गालाललाई शोभाभगवतीमा गोली हानियो । माघ १७ गते टंकप्रसाद आचार्य र नरहरि शर्माको जनै चुँडाउने, चारपाटा मुडेर जेलमा थुनियो । त्यस समय जहानियाँ राणा शासनकालमा हुने गरेका अन्याय, अत्याचार र बेथितिप्रति आवाज उठाउने अरुले पनि यस्तै जेल नेल कस्ट भोग्नुपर्यो यसको साक्षी इतिहास छँदै छ । आजभोलि बढो मुस्किलैले मात्र शहीदका पुर्खौली स्थान र उनीहरुका आफन्तहरु भेटिन्छन् ।

१९९७ सालमा उमेरले सबैभन्दा कान्छा २१ वर्षमा शहीद बनेका ‘गङ्गालाल’ लाई नजिकबाट चिनेजानेका अनुसार काठमाडौंको किसिख्व गल्लीमा गोर्खा भूकम्पपछि चारैतिरबाट लामो–लामो लठ्ठीले टेको लगाइएको एउटा घर छ । यस घरमा अहिले भने कोही पनि बसेका छैनन् । शहीद गंगालालको घर बताइएको छेऊमै एउटा किराना पसल छ । यस घरबारे बताउनुहुँदै त्यस टोलका सबैभन्दा ज्येष्ठ नागरिक ७८ वर्षीया कोमललाल श्रेष्ठ भन्नुहुन्छ – ‘पहिलेको घर त, आँखीझ्याल र बार्दली भएको थियो, अहिले अर्कै मोहोडामा यो छ । म त, सानै थिएँ । गङ्गालालको श्रीमती त्यो बेला गर्भवती हुनुहुन्थ्यो त्यही बेला उहाँलाई मार्न लगेको हो । उसको शशी र रवि भन्ने दुई वटा छोरा छन् भन्ने थाहा छ अरु थाहा भएन ।’ यो घर भने अलि पहिले नै अरु कसैले किनिसकेको रहेछ ।

यस्तै शहीद धर्मभक्तको जन्मस्थान भनिएको क्षेत्र पनि संरक्षणविहीन अवस्थामा छ । बैतडीमा जन्मनुभएको शहीद दशरथ चन्द र शुक्रराज शास्त्रीको पनि जन्मस्थान लगायतका ऐतिहासिक स्थलहरुको संरक्षण हुन नसकेकोप्रति उहाँहरुका आफन्तहरुले भने दुख प्रकट पनि गर्दै आउनुभएको छ । त्यस समय, सर्वस्व हरणसहित मृत्युदण्ड दिइएका कारण पनि शहीदहरु रहनुभएको भौतिक संरचनाहरुको संरक्षण गर्न सरोकारवालाहरु चुकेको भन्ने पनि बुझाइ पनि छ ।

छिमेकी भन्छन् – घरबाट छुट्ने बेला गङ्गालालले हसना भने

अहिले त्यहाँ साँघुरो गल्ली छ जुन घरबाट गंगालालले बिदाइ गरे । त्यसबेला उहाँले आफ्नी श्रीमतीको नाम लिदै हसना ! भनेर सम्बोधन गर्नुभएको थियो । खै बोलाएर हो कि, चिच्याएर ? कुन भावले श्रीमती ‘हसना’ को नाम लिएको ! यो भने थाहा नभएको छिमेकी कोमललालले बताउनुभयो । ‘अहिलेको जस्तो होइन । मान्छेहरु बोल्नै डराउथें । बोल्यो कि, गङ्गालालको जस्तो हालत हुन्थ्यो । त्यसपछि परिवारको के, कसो भयो यो पनि थाहा भएन ।’, उहाँ भन्नुहुन्छ ।

शहीद धर्मभक्त माथेमाका नाति विनयकुमार माथेमाका अनुसार धर्मभक्त परिवार त्यस समय भारतमा हुनुभएकोले धर्मभक्तले उतैबाट शिक्षादीक्षा हासिल गर्नुभएको हो । धर्मभक्त जन्मेको घर काठमाडौंको नःबहिल र हाल ओमबहाल बताइए पनि यो उहाँको फूपूको हो ।

नाति विनयकुमार माथेमा भने गङ्गालालकै घर बताइएको केही दुरी नजिकै प्याफलमा ‘बी.के.एम.इन्टरप्राइजेज’ नामक एक व्यापार व्यवसाय गर्दै आउनुभएको छ । पसलमा व्यापारका सामाग्रीहरु एकातिर छन् भने शहीद धर्मभक्तका धेरै फोटोहरु पनि भित्तामा देखिन्छन् । शहीदहरुबारे उहाँ छोटोमा भन्नुहुन्छ, – राजासँग तिमिहरुले कुरा बिगार्ने भन्दै १९९६ मा पनि उहाँहरु समातिनुभएको थियो ।

यसअघि १९९३ सालमा प्रजापरिषद् स्थापना भयो, जहाँ धर्मभक्त, दशरथचन्द, शुक्रराज र गङ्गालालहरु आबद्ध हुनुहुन्थ्यो । १९९७ मा जेलबाट निस्कन सफल भएपनि माघ ३, ४ गतेतिर उहाँ पुनः समातिनुभयो । गङ्गालाललाई फाँसी दिइएपछि उहाँको भाइ पुष्पलालले भने देशमा पहिलो पटक कम्युनिष्ट पार्टीको घोषणापत्र पनि जारी गर्नुभएको थियो ।

धर्मभक्तको नातिकाे भनाई

नुहाइधुवाई गरेर बस्नुभएको धर्मभक्तलाई फाँसीमा चढाइनु अघि अन्तिम इच्छा पनि सोधिएको थियो । सिफलमा बिहान ५ बजे उहाँलाई झुण्ड्याइयो भन्ने बुबाहरुले बताउनुहुन्थ्यो, विनयकुमारले सम्झेर भन्नुभयो । पहिलो पटक झुण्ड्याउदा धर्मभक्त मर्नुभएको थिएन रे । त्यसपछि पहिलो फाँसीमा नमरेपछि माफी हुनुपर्छ भन्ने पनि थियो । जुद्ध शमशेरका नाति नरशमशेरको गुरु भएको भएर पनि नर शमशेरले माफी माग्न भने । तर, धर्मभक्तले उनलाई लात्ताले हानेर गुल्टाएका थिए । यसपछि नर शमशेरले धर्मभक्तको अनुहारमा चक्कुले छिया–छिया पारे र शिथिल भएपछि गोली हानेर मारियो । मुखभरि चक्कुले को¥यो त्यो बेला मूर्छित भएका धर्मभक्त चिच्याएको आवाज पर–पर मैतीदेवीसम्म सुनिएको थियो भन्ने हामीले सुनेका थियौं,उहाँ बताउनुहुन्छ ।

त्यस समय दरबारमा पैसाको मामिलामा जुद्ध शमशेरको चल्ने हुनाले एक पटक त्रिभुवनलाई पैसाको खाँचो पर्दा चन्द्र शमशेरले आफ्ना कान्छा छोरालाई भनेर जुद्ध शमशेरलाई नै पैसाको जोरजाम गर्न लगाइएको थियो । जम्मा अन्दाजी दश हजार मात्रै पठाइएका कारण त्रिभुवन रिसाए र आफैंले चुरोट खाने लाइटरले ती पैसा जलाउनुभयो रे । त्यो बेला बाहिरको कुरा सुन्नै, बोल्नै नदिने, भित्रै राख्ने विनयकुमार भन्नुहुन्छ ।

खासमा, उचाइ ६ फिट र छाती ४६ इन्चका धर्मभक्त व्यायाममा बडो पहलमानी हुनुहुन्थ्यो । घोडेजात्रामा एकपटक धर्मभक्तले आफ्नो सीप र कला प्रदर्शन गर्नुभएको थियो । जुन कौशलताबाट राजा प्रसन्न भएर उहाँको दरबारमा आऊजाउको बाटो थप खुलेको थियो । एकदिन, राजा त्रिभुवनले धर्मभक्तलाई दरबारमा बोलाउनुभएको थियो । त्यसै बेला, जुद्ध शमशेर घोडामा टक–टक आए । नेवारलाई ज्यापु भनिने त्यो बेला, जुद्धशमशेरले धर्मभक्तलाई भनेछन् – ‘ए ज्यापु तँ किन यहाँ आएको ?’ यसको जवाफमा उहाँले सरकारले त केही भनेको छैन, तैंले किन यसो भनेको भनेर जवाफ दिनुभएको थियो । यसैको भोलिपल्टदेखि जुद्धशमशेरले उहाँहरु देशद्रोही, राजद्रोही भएको खेल खेल्ने थाले । यिनीहरुलाई खत्तम नपारे राणाकाल नै नाश हुन्छ भनेर भन्न थाले, नाति विनयकुमार बताउनुहुन्छ । शहीदद्धय धर्मभक्त र शुक्रराज परिवारका नातासमेत पर्ने उहाँको भनाइ छ ।

त्यस समय माथेमा परिवारलाई भने आफू माथेमा भन्न पनि डर लाग्ने वातावरण बनेको थियो, माथेमा सामाजिक गुठीका अध्यक्ष नरेश माथेमा सम्झनुहुन्छ । तर आजभोलि सरकार वा राज्यले शहीदहरु सम्बन्धित गरिएका कार्यक्रमहरु समेत शहीद परिवारका सदस्यलाई जानकारी हुने नगरेकोप्रति उहाँको गुनासो छ । तर कतिपय ठाउँमा शहीदका नाममा सडक, अस्पताल र शालिकहरु बन्ने गरेका छन् । तर बाटाघाटामा निर्माण गरिएका शालिकहरुको पनि उचित संरक्षण गरिनुपर्ने उहाँ बताउनुहुन्छ ।

खासगरी राजनीतिक नेतृत्वले इमानदारीपूर्वक देश विकासको काम गर्न सके शहीदहरुप्रति सच्चा श्रद्धाञ्जली व्यक्त हुने उहाँको पनि भनाइ छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter