• Sunday, April 13, 2025

स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने निर्णय; कार्यतालिका एक/दुई दिनमा, मातदाता नामावली सङ्कलन भोलिबाट बन्द

काठमाडौं, माघ २४ गते । सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयाे । यसअघि निर्वाचन आयोगले जेठ ४ गतेका लागि निर्वाचनको मिति घोषणा गर्न सुझाव दिएको थियो ।

यसअघि तीन चरणमा भएको निर्वाचनमा निर्वाचित पदाधिकारीहरुको समयावधि जेठ ५ गते सकिँदै छ ।

कार्यतालिका एक/दुई दिनमा, मातदाता नामावली सङ्कलन भोलिबाट बन्द

निर्वाचन आयोगले मंगलबारदेखि मतदाता नामावली संकलन बन्द गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते निर्णय गरेसँगै भोलिदेखि मतदाता नामावली संकलन बन्द हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

प्रवक्ता पौडेलले निर्वाचन कार्यतालिका एक–दुई दिनमा सार्वजनिक गर्ने र सोही बमोजिम कार्य अगाडि बढाउने जानकारी दिनुभयो । यता, आयोगले आशन्न स्थानीय तहको निर्वाचनका सन्दर्भमा आवश्यक पर्ने भवन, परिवहनका साधन, फर्निचर वा अन्य भौतिक साधनको अवस्था तथा व्यवस्थापनको प्रक्रिया सुरु गरेको छ ।

सोमबार आयोगका प्रवक्ता पौडेलले विज्ञप्ति जारी गर्नुहुँदै आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत आवश्यक भवन, सवारी साधन तथा फर्चिरसहितका साधनको स्थानीय तहसँग विवरणका लागि पत्राचार गरेको हो ।

नेपालको संविधानको धारा २४७ मा निर्वाचन आयोगलाई आफ्नो काम पूरा गर्न आवश्यक पर्ने कर्मचारी र अन्य सहयोग नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले उपलब्ध गराउनेछ व्यवस्था अनुसार आयोगले मन्त्रालयमार्फत पत्राचार गरेको आयोगका प्रवक्ता पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयमार्फत गरेको पत्राचारमा आसन्न स्थानीय तह तथा जिल्ला समन्वय समितिको निर्वाचनको सञ्चालन तथा व्यवस्थापन गर्ने प्रयोजनार्थ करिव दुई महिना अवधिका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना र सञ्चालन गर्न ७५३ वटै स्थानीय तहलाई पछि फरक नपर्ने गरी तयार गर्न लगाई उक्त विवरण एकीकृत गरी २०७८ माघ मसान्तभित्र अनिवार्य रुपमा उपलब्ध गराउन आयोगले भनेको छ ।

प्रवक्ता पौडेलका अनुसार मुख्य निर्वाचन अधिकृत/निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि कार्यालय सञ्चालनका लागि सम्बन्धित स्थानीय तहबाटै कम्तीमा एक/एक थान चालु अवस्थाको डेस्कटप कम्प्यूटर, ल्यापटप, स्क्यानर र प्रिन्टर उपलब्ध हुनेगरी व्यवस्थापन गरिदिन सबै स्थानीय तहहरुलाई त्यहाँबाटै पत्राचार हुन समेत अनुरोध गरिएको छ ।

आयोगले जिल्ला सदरमुकाममा रहेको स्थानीय तहमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र अन्य सबै स्थानीय तहको केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न नेपाल सरकार, प्रदेश सरकार, नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्था वा स्थानीय तह वा कुनै सार्वजनिक संस्था वा निकाय वा सामुदायिक विद्यालयको स्वामित्वमा रहेका भवनहरुको संक्षिप्त विवरण हुनुपर्ने बताएको छ । यस प्रकारका सार्वजनिक भवन उपलब्ध नभई भाडामा लिनुपर्ने भएमा सम्भावित निजी भवनको विवरण र भुक्तानी गर्नुपर्ने अनुमानित मासिक भाडा रकम पनि उल्लेख गर्न आयोगको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, स्थानीय तह निर्वाचन, २०७४ मा निर्वाचन आयोगबाट उपलब्ध गराइएका ल्यापटप तथा प्रिन्टरहरुको विवरण समेत खुलाउन आयोगका प्रवक्ता पौडेलले भन्नुभएको छ ।

स्थानीय तह निर्वाचन ऐनअनुसार हाल कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल २०७९ जेठ ५ गते सकिँदै छ ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter