सत्र खर्बको बजेट बन्दै

विश्वास रेग्मी / काठमाडौँ, चैत १८ गते । आगामी आर्थिक वर्षको बजेट घोषणा हुन अब दुई महिना पनि छैन । जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधानअनुसार अर्थ मन्त्रालय नयाँ बजेट निर्माणको तयारीमा जुटिसकेको छ ।‘क्यालेन्डर’ नै बनाएर बजेटको तयारी गरिरहेको अर्थ मन्त्रालयले चैत १ गते औपचारिक रूपमा बजेट निर्माण सुरु भएको घोषणा गरिसकेको छ । अहिले अर्थमन्त्री जनार्दन शर्मासहित अर्थ मन्त्रालयका अधिकारी विभिन्न क्षेत्रका सरोकारवाला र विज्ञसँग परामर्श गरिरहनुभएको छ ।

मन्त्रालयले सरोकारवालासँग छलफल तथा सुझाव लिने कामलाई निरन्तरता दिइरहेको अर्थ मन्त्रालयका प्रवक्ता ढुन्डीप्रसाद निरौलाले जानकारी दिनुभयो । “बजेटका लागि सार्वजनिक रूपमै सुझाव माग्नेदेखि अर्थमन्त्रीबाट पनि सरोकारवालासँग निरन्तर छलफलको कार्यक्रम भइरहेको छ,” उहाँले भन्नुभयो ।

अर्थ मन्त्रालयले अन्य मन्त्रालय/निकायसँग आव २०७९/८० को बजेटमा समावेश गरिने नीति तथा कार्यक्रमको उपलब्धि सूचक पनि माग गरिसकेको छ । त्यस्तै प्रदेश र स्थानीय तहबाट कार्यान्वयन हुने कार्यक्रम तथा आयोजनाको मार्गदर्शन पठाउने, ससर्त अनुदानको बजेट तथा कार्यक्रम सम्बन्धमा प्रदेशका प्रतिनिधिसँग गरिने छलफलको तालिका स्वीकृत गरी पत्राचार गरिएको मन्त्रालयले जनाएको छ ।

यसबाहेक राष्ट्रिय योजना आयोगमा चैत १० गतेदेखि बजेटसम्बन्धी नीतिगत छलफल पनि सुरु भइसकेको छ । मन्त्रालयले कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन, रोजगारी सिर्जना, श्रम–सीपको उचित व्यवस्थापन, विकास खर्चमा सुधार, सुधारिएको लगानीको वातावरण, निजी क्षेत्रमैत्रीलगायतका विषयलाई प्राथमिकतामा राखेर बजेट निर्माण हुने जनाएको छ ।

मस्यौदा तयार गर्दै समिति

यतिबेला अर्थ मन्त्रालयमा पाँच जनाको टोलीले नयाँ बजेटको मस्यौदा तयार गर्ने काम गरिरहेको छ । सरोकारवालासँगको छलफलको आधारमा प्राप्त सुझावलाई समेटेर मस्यौदा लेख्ने काम सुरु भइसकेको प्रवक्ता निरौलाले जानकारी दिनुभयो ।

अर्थमन्त्री जनार्दन शर्माको अध्यक्षतामा फागुन २९ गते बसेको बैठकले मन्त्रालयका सहसचिव भूपाल बरालको संयोजकत्वमा बजेट मस्यौदा लेखन समिति गठन गरेको थियो । समितिमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख चक्रबहादुर बुढा, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख ईश्वरी अर्याल, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश आचार्य र वित्तीय सङ्घीयता समन्वय महाशाखा प्रमुख बाबुराम सुवेदी हुनुहुन्छ ।

नयाँ बजेटलाई

१७ खर्ब ४५ अर्बको सीमा बजेट निर्माण हुनुपूर्व राष्ट्रिय योजना आयोगले स्रोत सुनिश्चितताका आधारमा ‘सिलिङ’ तोक्ने गर्छ । आगामी आवका लागि पनि आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलको संयोजकत्वमा रहेको राष्ट्रिय स्रोत अनुमान समितिले आगामी तीन आर्थिक वर्षका लागि नै बजेटको सीमा तोकेर अर्थ मन्त्रालयलाई पठाइसकेको छ ।

आयोगले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ४५ अर्ब रुपियाँको सीमा निर्धारण गरेको छ । त्यस्तै आव २०८०/८१ का लागि १९ खर्ब ३१ अर्ब र आव २०८१/८२ का लागि २१ खर्ब ९२ अर्ब रुपियाँको सीमा तोकेको छ ।आयोगले फागुन २६ गते नै अर्थ मन्त्रालयलाई उक्त सीमा पठाइसकेको थियो । यससँगै संवैधानिक निकाय तथा क्षेत्रगत मन्त्रालयका लागि समेत आगामी तीन वर्षको बजेट सीमा पठाइसकेको छ ।

आगामी आर्थिक वर्षका लागि बजेट स्रोतका रूपमा १३ खर्ब ५९ अर्ब रुपियाँ राजस्व सङ्कलन हुने प्रक्षेपण पनि आयोगले गरेको छ जसमध्ये प्रदेश र स्थानीय तहमा बाँडफाँट भएर एक खर्ब ४९ अर्ब रुपियाँ राजस्व हस्तान्तरण हुने प्रक्षेपण छ । त्यस्तै २१ ऋर्ब अनुदान, दुई खर्ब २८ अर्ब बाह्य ऋण र दुई खर्ब ५७ अर्ब आन्तरिक ऋण सङ्कलन गर्ने अनुमान पनि आयोगको छ ।

योजना पेस गर्न निर्देशन

अर्थ मन्त्रालयले सबै मन्त्रालयलाई सात दिनभित्र वार्षिक योजना तथा कार्यक्रम पेस गर्न निर्देशन दिएको छ । मङ्गलबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री शर्माले सात दिनभित्र योजना पेस गर्न निर्देशन दिनुभएको हो ।

उक्त कार्यक्रममा मन्त्री शर्माले सङ्घीयताको मर्मअनुरूप स्थानीय तहबाट कार्यान्वयन हुने किसिमका आयोजनालाई सम्बन्धित स्थानीय तहलाई जिम्मेवारी दिनसमेत निर्देशन दिनुभएको थियो ।

आर्थिक वृद्धि ६.५ प्रतिशत हुने

आयोगले आगामी तीन वर्षको बजेट सीमा निर्धारण गर्दा आगामी आर्थिक वर्ष आर्थिक वृद्धिदर ६.५ प्रतिशत हुने लक्ष्य राखेको छ । त्यसपछि आव २०८०/८१ मा ६.९ प्रतिशत र २०८१/८२ मा ७.१ प्रतिशतको वृद्धिदर हुने लक्ष्य राखिएको आयोगले जनाएको छ ।

त्यस्तै आगामी आर्थिक वर्ष प्रतिव्यक्ति आय एक हजार ४४६ डलर पु¥याउने लक्ष्य पनि आयोगले लिएको छ । त्यसपछिका दुई आर्थिक वर्षमा क्रमशः एक हजार ५९८ र एक हजार ७७१ डलर प्रतिव्यक्ति आय पु¥याउने लक्ष्य पनि आयोगले सार्वजनिक गरेको छ ।

सुझाव माग्दै मन्त्रालय

अर्थ मन्त्रालयले आगामी बजेटका लागि सार्वजनिक रूपमा पनि सुझाव माग गरेको छ । बजेट तथा कार्यक्रमलाई जनमुखी र प्रतिफलमुखी बनाई जनअपेक्षा सम्बोधन गर्ने उद्देश्यसहित सरोकारवाला सबैसँग सुझाव माग गरिएको मन्त्रालयले जनाएको छ ।

चैत ११ गते सार्वजनिक सूचना जारी गर्दै मन्त्रालयले उद्योगी, व्यवसायी, बुद्धिजीवी, राजनीतिक, समाजसेवी, पेसाकर्मी, सञ्चारकर्मी, आमनागरिक एवं सरोकार राख्ने सबैसँग सुझाव माग गरेको हो । सरोकारवालाले लिखित वा मौखिक रूपमा (टेलिफोनमार्फत) पनि बजेटमा सुझाव राख्न सक्ने व्यवस्था मन्त्रालयले गरेको छ । मन्त्रालयका अनुसार मन्त्रालयको टोल फ्री नम्बर ११३८ मा र मन्त्रालयको वेबसाइटमा रहेको बजेट सुझावसम्बन्धी ट्याबमार्फत सुझाव दिन सकिनेछ । सुझाव चैत मसान्तभित्र पेस गरिसक्नुपर्नेछ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter