• Sunday, June 01, 2025

४० वर्षपछि बाँझो जग्गामा पुनः खेती

राजकुमार भट्टराई / खोटाङ, वैशाख ३ गते। केही समय अघिसम्म बनमारा, ऐँसेलु र घँगरु घारी रहेको जग्गामा अहिले खनजोत गरेर खेती गर्न सुरु गरिएको छ। ४० वर्ष बाँझो बसेको यो जग्गाले अहिले मुहार फेरेको हो।

जिल्लाको हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिम चुरीढाँडमा पर्ने यो ठाउँमा करीब ४०/४१ वर्ष अघि मकै, कोदो, फापर, तोरी लगायतका बाली लगाइनेगरेको स्थानीय बताउछन्। तर, अहिले यस क्षेत्रका अधिकांश जग्गा बाँझै रहेका छन्। बाँझो रहेको केही जग्गामा भने अहिले खम्ब चाम्लिङ राईले खनजोत गरेर पुनः ४० वर्षपछि खेती लगाउन सुरु गर्नुभएको छ।

राई भन्नुहुन्छ, “यहाँ हाम्रो २७ रोपनी जग्गा छ, अहिले मैले १२ रोपनी जग्गामा खनजोत गरेर मकै छरेको छु। विस्तारै अन्य जग्गामा पनि खेती सुरु गर्छु।”

अहिले ४८ वर्ष पुग्नुभएका राई बाल्यकाल छँदा बुवाआमाले यो जग्गामा खेती गर्ने गरेको सुनाउनुहुन्छ। पछि बुवा घर बस्न छोडेर बाहिर हिँड्न थालेपछि जग्गा बाँझो रहन पुग्यो। विस्तारै गाउँका सबै मानिस रोजगारीको सिलसिलामा अन्य देश जान थालेपछि राई पनि किशोरावस्थामै विदेश पलायन भएको बताउनुहुन्छ। राईलाई लागेको थियो खेती गरेर खासै फाइदा छैन।

भारत, साउदी, कतार लगायतका देशमा दुई दशक बिताउनुभएका राईको सोच अहिले बदलिएको छ। “विदेश मात्रै कमाइ गर्ने ठाउँ होइन रहेछ, मेहनत गर्ने हो भने आफ्नै देशमा पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने लागरे मैले पनि कृषि पेशा रोजेर बुवाआमाले खेती गर्न छाडेर बाँझै बसेको जग्गामा अहिले खेती गर्न सुरु गरेको छु”, राई बताउनुहुन्छ।

वैदेशिक रोजगारबाट वाक्क भएर करिब तीन वर्षअघि नेपाल फर्किनु भएका राईले अहिले नौ महिना यता कोदालो र झम्पल लगाएर अहिलेसम्म १२ रोपनी बाँझो फोरेको बताउनुहुन्छ। केही जग्गामा साग, धनिया लगाउन सुरुवात गर्न थाल्नु भएका राईले अहिले अन्य जग्गामा मकै लगाउनुभएको छ।

बाँकी रहेको जमिन पनि आगामी वर्षभित्र खनिसकेर सुन्तला, कागती लगायत फलफूल लगाउने उहाँको योजना छ। उक्त ठाउँ भन्दा करिब दुई किलोमिटर टाढा घर रहेपनि अहिले राई र उहाँकी श्रीमती सोही ठाउँमा सानो झुप्रो बनाएर बस्नुभएको छ।

खेतीसँगै व्यवस्थित खोर निर्माण गरेर सोही ठाउँमा राईले २० वटा बाख्रा समेत पाल्नु भएको छ। केही समय पश्चात अझै बाख्रा थप्ने र सुँगुर पनि पाल्ने उहाँको योजना छ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter