• Thursday, May 15, 2025

औषधिको गुणस्तरमा कुनै सम्झौता नहोस् : राष्ट्रपति

वसन्त पराजुली/शालिग्राम नेपाल / चितवन, वैशाख ९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली औषधिको उत्पादनमा अन्तर्राष्ट्रिय मापदण्ड र गुणस्तरमा कुनै सम्झौता नगरी उत्पादन, बजारीकरण र वितरणलाई सुदृढ पार्नुपर्ने बताउनुभएको छ ।

नेपाल औषधि उत्पादक संघको आयोजनामा भरतपुरमा शुक्रबारबाट शुरु भएको नेपाल फर्मा एक्स्पो २०२२ को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अन्य उद्योगहरुको सापेक्षतामा औषधि उद्योगको सामाजिक, बहुआयामिक र संवेदनशील हुने भएकाले यसको उत्पादनमा सम्बद्ध पक्षले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

राष्ट्रपतिले भन्नुभयो, “निजी क्षेत्रले ठूलो लगानीसहित औषधि उत्पादनमा आत्मनिर्भर बन्ने सङ्कल्प गरेको सन्दर्भमा औषधि उद्योग फस्टाउने वातावरण तयार गराउन सम्बन्धित निकायले आवश्यक सरक्षण र प्रोत्साहन गर्न ध्यान पुराउनुपर्छ ।”

“औषधि उत्पादनका क्षेत्रमा विश्वभरि निरन्तर नयाँ अनुसन्धान र प्रविधिको विकास भइरहेको हुन्छ । विज्ञान तथा प्रविधिको गतिसगैँ आफूलाई अत्यावधिक राख्न सकेमा मात्रै हाम्रा उद्योगहरुको प्रतिस्पर्धी क्षमता सुदृढ हुनेछ ।”

मुलुकमा औषधि उद्योगको विकासबाट बर्सेनि हजारौँको सङ्ख्यामा उत्पादन हुने प्राविधिक जनशक्तिका लागि स्वदेशमै रोजगारी हुने र प्रतिभा पलायन हुने समस्यालाई समेत न्यूनीकरण गर्न सकिने धारणा राष्ट्रपति भण्डारीको छ ।

उहाँले औषधि उत्पादनका क्षेत्रमा हासिल भएका उपलब्धि, नवीनतम प्रगति तथा अनुभव आदान प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोको प्रशंसा गर्दै सफलताको शुभकामना पनि दिनुभयो ।

वैशाख ११ गतेसम्म सञ्चालन हुने सो एक्स्पोले नेपालमा औषधि उत्पादनको क्षेत्रले अँगाल्दै आएको ज्ञान तथा प्रविधिको विस्तार गर्ने छ । एक्स्पो उद्घाटनका क्रममा बोल्दै नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजङ्ग पाण्डेले एक्स्पोले औषधि उत्पादनको प्रविधि र यसमा अपनाइएका संवेदनशीलताका बारेमा जनमानसमा चेतना दिने उद्देश्य राखेको जानकारी दिनुभयो ।

औषधि प्राविधिक र फर्मासिस्टलाई अन्तर्राष्ट्रियस्तरको नवीन प्राविधिक ज्ञान दिने उद्देश्यले एक्स्पो आयोजना गरिएको बताउनुहुँदै उहाँले नेपाली औषधीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउनु अहिलेको आवश्यकता हो भन्नुभयो ।

यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीलगायतले नेपाली औषधी उत्पादनमा जोड दिई विदेशी औषधि आयत रोक्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा नेपाल फर्मा एक्स्पो २०२२ का संयोजक नारायणबहादुर क्षेत्रीले नेपाली उद्योगले उत्पादन गर्न सक्ने सामग्री बाहेकका औषधि मात्र आयात गर्नु पर्ने बताउनुभयो । नेपाली बाजारमा छ सय प्रकारका औषधि उत्पादन गर्दै आएको छ । नेपालमा उत्पादित औषधिको गुणस्तरीयतामा कुनै कमी नभएको बताउनु भयो ।

जम्मा १६० स्टल रहने एक्स्पोमा अनुसन्धान गर्दै आएका १२३ वटा बहुराष्ट्रिय कम्पनी र ३७ वटा नेपाली उद्योग सहभागी हुनेछ । ३५ वर्ष अगाडिबाट नेपालमा औषधि उत्पादन गर्न सुरु गर्दै आएको यस क्षेत्रमा ५० अर्बको लगानी भइसकेको जानकारी दिइएको छ ।

यही वैशाख ९ देखि ११ गतेसम्म भरतपुरको प्रदर्शनी स्थलमा नेपालमा उत्पादन भएका औषधि उद्योगहरुको प्रदर्शनी हुने भएको हो । नेपाली औषधि उद्योगमा हु्ने प्रविधि, ल्याब, मेसिनहरु, कच्चा पदार्थ, प्याकेजिङ, अन्य सामग्रीहरुलगायतको विषयमा एक्स्पोमा जानकारी दिने तयारी रहेको छ ।

कार्यक्रममा नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजङ्ग पाण्डे, उद्योगी शेखर गोल्छा, नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्कीलगायतले औषधि उद्योगले झेल्नु परेका समस्याको विषयमा आफ्नो धारणा राख्नु भएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter