इदमा अंकमाल गर्दै भोट माग्दै

सिराज खान / नेपालगञ्ज, वैशाख २० गते। इद (इद उल फित्र)को अवसरमा नेपालगञ्जको बीपी चोकमा रहेको इदगाहमा यो वर्ष फरक दृष्य देखियो। लगातार दुई वर्षको कोरोना कहरपछि र स्थानीय तहको निर्वाचनको मुखमै इद पर्व परेपछि फरक दृष्य देखिएको हो।

निर्वाचनमा नेपालगञ्जबाट मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यमा उम्मेदवार बनेका अधिकांश उम्मेदवार र दलका नेता कार्यकर्ता ठूलो संख्यामा मंगलबार बिहान इदगाहमा भेटिए। नेपालगञ्ज उपमहानगरका नेपाली मुस्लिम इदको नमाज पढ्न इदगाहमा भेला भएकोले इदको शुभकामना साटासाट गर्न अधिकांश उम्मेदवार र दलका नेता कार्यकर्ता बिहानै इदगाह पुगेका थिए।

इदको नमाज सकिने बित्तिकै सुरु भएको शुभकामना तथा बधाई साटासाटमा उम्मेदवारको सक्रियता सबैभन्दा बढी देखियो। उनीहरुले बढी भन्दा बढी मतदातालाई अंकमाल गरेर पर्वको शुभकामना प्रदान गर्दै भोट मागिरहेका थिए।

धेरैजना एक ठाउँमा भेटिएपछि शुभकामना दिन र आफ्नो लागि मत माग्न सजिलो भएको गठबन्धनबाट मेयरका उम्मेदवार प्रशान्त विष्टले बताउनुभयो। उहाँले इदगाहमा देखिएको उत्साह र उमंगले आफू पनि उत्साहित बनेको बताउनुभयो।

यसैगरी इदगाह पुग्नुभएका राप्रपाबाट मेयरका उम्मेदवार नन्दलाल वैश्यले आफू मुस्लिम समुदायका अगुवालगायत वृद्धको आशिर्वाद लिन इदगाह आएको बताउनुभयो।

उहाँले आफूले वर्षौदेखि यहाँ यो पर्वका दिन पानी वितरण गर्ने काम गर्दै आएको जनाउँदै यसपाली त झन् निर्वाचन परेकोले धेरैलाई पानी खुवाउने लक्ष्य रहेको बताउनुभयो। वैश्यले अंकमाल गर्ने सबैसँग आफूलाई मतदान गर्न आग्रह गर्नुभएको थियो। सोही प्रकारले एमालेबाट मेयरका उम्मेदवार रहनुभएका पशुपति दयाल मिश्रले मत माग्ने सबैभन्दा राम्रो ठाउँ र अवसर यही भएको बताउनुभयो।

अवसरमा उपमेयरका उम्मेदवार कमरुद्दीन राई, बिन्दु चर्तिमगर र शान्ति ढकाल लगायतका उम्मेदवारलाई पनि शुभकामना लिन दिन भ्याइनभ्याई थियो। निर्वाचनका कारण इदगाहमा बेग्लै रौनक देखियो। सडक नजिक हरेक ठाउँमा विभिन्न उम्मेदवारले टेन्ट लगाएर पानी वितरणसँगै प्रचार सामग्री पनि वितरण गरिरहेका थिए।

यसका साथसाथै सहरका विभिन्न ठाउँमा आयोजना गरिएका इद मिलन कार्यक्रममा पनि स्थानीय तहकै निर्वाचनको चर्चा परिचर्चासँगै उम्मेदवारले शुभकामना दिँदै मत मागिररहेका छन्।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter