• Sunday, April 13, 2025

सबल अर्थतन्त्रका लागि उत्पादन वृद्धि आवश्यक छ : राष्ट्रपति भण्डारी

काठमाडौं, असार १२ गते। राष्ट्रपति विद्यादेवी भण्डारीले सबल राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि वन-पैदावारजन्य उत्पादनमा वृद्धि हुनुपर्ने बताउनुभएको छ।

सामुदायिक वन उपभोक्त महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले त्यसखाले उत्पादनमा वृद्धि गरेर आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिनुभयो।

पानीका मुहान जोगाउन तथा भूमिगत पानीको पुनर्भरण प्रक्रिया दीगो बनाउन पूर्वजले अपनाएको पोखरी खन्ने र संरक्षण गर्ने उपायलाई नयाँ अभियानका साथ सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो।

राष्ट्रपति भण्डारीले भन्नुभयो, “हरेक सामुदायिक वनले कम्तीमा एउटा पोखरी निर्माण गर्ने अभियान चलाएर सम्भाव्यता अनुसार कतिपय स्थानमा माछापालन लगायतका व्यवसाय गर्न सकिनेतर्फ पनि म यहाँहरुको ध्यानाकर्षण गर्न चाहन्छु।”

उहाँले प्रकृति र मानिसबीचको पारस्परिक निर्भरताका कारण व्यक्ति, समुदाय र राष्ट्रकै समृद्धिका लागि वनजंल अति महत्त्वपूर्ण प्राकृतिक श्रोत रहेको बताउनुभयो। “जलवायु परिवर्तनबाट उत्पन्न भएका दुष्प्रभावलाई रोक्न वन क्षेत्रले अतुलनीय भूमिका खेलिरहेको छ। भूस्खलन रोक्न तथा माटो संरक्षण गर्न समेत वन जंगल नै सबैभन्दा प्रभावकारी माध्यम बनेको छ”, उहाँले उल्लेख गर्नुभयो।

नागरिकको स्वस्फूर्तरुपमा सिन्धुपाल्चोकबाट सुरु भएको सामुदायिक वनको अभ्यास देशव्यापीरुपमा सफलतापूर्वक लागू भएको र यो अन्तर्राष्ट्रिय जगतमा समेत स्थापित हुनु नेपालका लागि गौरवको विषय भएको बताउनुभयो। वातावरणको दीगो व्यवस्थापन गर्दै मानवीय आवश्यकता र प्रकृतिको स्वभाविक गतिका बीचमा सन्तुलन कायम हुनुपर्नेमा जोड दिनुहुँदै उहाँले यसबाट आर्थिक वृद्धिको बाटो पहिल्याउनु हरित अर्थतन्त्र भएको प्रष्ट्याउनुभयो।

“सामुदायिक वन उपभोक्ता समूहमा महिलाको ५० प्रतिशत सहभागीताबाट लैङ्गिक समानताको हाम्रो यात्रामा ठूलो योगदान पुगेको छ। पर्यटनका लागि नयाँ स्थान र उपायहरु सामुदायिक वनबाट प्राप्त भएका छन्”, उहाँले थप्नुभयो।

राष्ट्रपति भण्डारीले देशको पुरानो भनाइ “नेपालको वन, हरित जीवन” तर्फ रुपान्तरण गर्दै सोही अनुरुपको आचरण र व्यवहार प्रदर्शन गर्नुपर्ने भनाइ राख्नुभयो।

छलफलमा महासंघका पदाधिकारी, वन तथा भू-संरक्षण विभागका महानिर्देशक राजेन्द्र केसी लगायत वन विज्ञ डा. भरत पोखरेल, घनश्याम पाण्डे, डा. नेत्र तिम्सिना, डा. यम मल्ल, डा. पपुलर जेन्टल, दिलराज खनाल, डा. गंगाराम दाहाल, डा. किरण पौडेल र डा. महेश्वर ढकाल सहभागी हुनुहुन्थ्यो।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter