वन्यजन्तुका लागि जंगलभित्र पोखरी

ठाकुरप्रसाद आचार्य / म्याग्दी, असार १६ गते । वनजंगलका जनावर र चराचुरुङ्गीका लागि पानी खान सहज बनाउन म्याग्दीका जंगलभित्र पोखरी निर्माण गरिएको छ । जिल्लाका सामुदायिक वनमा उक्तखालका पानी जम्मा गर्न मिल्ने पोखरी निर्माण गरिएको हो । पानीका स्रोत खोज्दै वन्यजन्तुहरु गाउँतिर नआउन भन्ने उद्देश्यले जंगलभित्र पोखरीहरु निर्माण गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

वन कार्यालयले चालु आर्थिक वर्षमा जिल्लाका दशवटा सामुदायिक वनमा वन्यजन्तुले पानी पिउने पोखरी निर्माण गरेको सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले जानकारी दिनुभयो । मानव र वन्यजन्तुको द्वन्द्व न्यूनीकरण गर्ने र भूक्षय नियन्त्रण गर्ने उद्देश्यले सामुदायिक वन क्षेत्रमा पोखरी निर्माण गरिएको उहाँले बताउनुभयो । सामुदायिक उपभोक्ता समिति मार्फत निर्माण गरिएका जंगलभित्र रहेका पानी पोखरीले वनक्षेत्रमा लागेको डढेलो नियन्त्रणमा समेत उपयोगी हुने उहाँले बताउनुभयो ।

पछिल्लो समय जंगलमा रहेका वन्यजन्तुहरु पानीको खोजीकमा मानवक्षेत्र भित्र आउने भएकाले पनि उनीहरुलाई जंगलभित्र नै पानीको व्यवस्थापन गर्न खोजिएको सहायक वन अधिकृत क्षेत्रीले बताउनुभयो । जंगलमा रहेका वन्यजन्तु र चराचुरुङ्गीहरुलाई पनि पिउने पानीको आवश्यकता पर्ने हुँदा पोखरी उपयोगी हुने उहाँको भनाई छ । आगमी आर्थिक वर्षमा पनि १० वटा सामुदायिक वनमा पोखरी निर्माण गर्ने उद्देश्य रहेको उहाँले बताउनुभयो ।

सहायक वन अधिकृत क्षेत्रीका अनुसार पोखरी बनाउन कार्यालयमा १७ सामुदायिक वन समूहले प्रस्ताव गरेकोमा छनोट भएका दशवटै समूहले पोखरी निर्माण सम्पन्न गरेका छन् । प्रतिपोखरी निर्माणका लागि एक लाखका दरले बजेट विनियोजन भएकोमा प्रशासनिक खर्च कटाएर ९६ हजारका दरले भुक्तानी गरिएको सहायक वन अधिकृत क्षेत्रीले जानकारी दिनुभयो ।

बेनी–९ को गलेश्वर ठूलो सल्लेरी, घोर्लास, धौलागिरि–७ को धारापानी, रघुगङ्गा–२ को कृष्ण तालाबन्दी, मङ्गला–२ को सल्यान सल्लेरी, भदौरेपाखा, रघुगङ्गा–८ को उत्तिसिने, बेनपा–५ को भेडाखोर, पानी पँधेरो देपुर्नेआटी, मंगला–३ र ४ को टाड बिसाउना सामुदायिक वनमा पोखरी निर्माण भएको डिभिजन वन अधिकृत मनोज रानाभाटले बताउनुभयो ।

६१.७५ वर्गमिटर क्षेत्रफलमा निर्माण भएका सबै पोखरीको क्षमता ६१ हजार लिटर छ । निर्माण गरिएको पोखरीमा नजिकैको मुहानबाट पाइपमार्फत पानी लगेर संकलन गरिएको छ । जंगलभित्र पोखरी निर्माण भएपछि वन्यजन्तुहरु पानीको खोजीमा मानववस्तीमा आउने क्रम रोकीने विश्वास गरिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter