• Sunday, April 13, 2025

सुदूरपश्चिममा अझै विद्यार्थीको हातमा पुगेन पुस्तक

अविनाश चौधरी / धनगढी, असार २४ गते । नयाँ शैक्षिकसत्र सुरु भएको दुई महिना बित्नैलाग्दा सुदूरपश्चिम प्रदेशका धेरैजसो विद्यार्थीको हातमा अझै पाठ्यपुस्तक पुग्न सकेको छैन । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले यहाँको आवश्यकतानुसार किताब उपलब्ध गराउन नसक्दा विद्यार्थीको हात खाली रहेको बताएको छ ।

पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ सुदूरपश्चिमका अनुसार एक शैक्षिकसत्रमा प्रदेशभरी २० लाख थान पाठ्यपुस्तक आवश्यक पर्छ । तर अझै ४० प्रतिशत पुस्तक अभाव रहेको जनाएको छ ।

जनक शिक्षा सामग्रीले मागभन्दा निकै कम पाठ्यपुस्तक पठाउनेगरेको महासङ्घका अध्यक्ष मेखराज दाहालले बताउनुभयो । ‘अझै पनि ४० प्रतिशत पुस्तक अपुग छ’, उहाँले भन्नुभयो, ‘मागभन्दा निकै कम पुस्तक आउनेगरेकाले हामीले सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगाउन सकेका छैनौं ।’

महासङ्घले आवश्यकतानुसार पुस्तक उपलब्ध नभएमा जनक शिक्षा सामग्री केन्द्रबाट पुस्तक नउठाउने चेतावनी दिएको छ । यहाँको मागलाई धान्नेगरी पुस्तक उपलब्ध गराउन माग गर्दै सुदूरपश्चिम प्रदेशका पुस्तक व्यवसायीले केन्द्रको धनगढीस्थित कार्यालयमा केही दिन अगाडि तालाबन्दीसमेत गरेका थिए ।

जनक शिक्षा सामग्रीले विभिन्न बहाना देखाएर सुदूरपश्चिममा आवश्यकतानुसार पुस्तक आपूर्ति गर्नमा आलटाल गर्दैआएको व्यवसायीको आरोप छ । कहिले कागज अभाव त कहिले कमिसनको बहाना गरेर पुस्तक आपूर्तिमा आनाकानी गर्दैआएको उहाँहरुको जिकिर रहेको छ ।

जिल्लामा मागअनुसार पुस्तक पु¥याउन नसक्दा विद्यार्थीको पढाइ स्तर खस्किने चिन्ता बढेको कञ्चनपुरस्थित पुनर्वासका पुस्तक व्यवसायी भूपेन्द्र अधिकारीले बताउनुभयो । जिल्लामा अझै ४० हजार पुस्तकको माग रहेपनि एक दुई हजार मात्रै आउनेगरेको उहाँले बताउनुभयो ।

किताब नपुगेका क्षेत्रमा कालो बजारीका पुस्तक बिक्री हुनेगरेको कैलाली लम्कीका पुस्तक व्यवसायी टुर्जबहादुर बोगटीले बताउनुभयो । पुस्तक वितरण प्रणाली चुस्त नहुँदा कालोबजारी हुनेगरेको उहाँको भनाइ छ ।

‘अहिले पनि कक्षा ९ को अङ्ग्रेजी किताब लम्कीमा दुई सयमा बिक्री भइरहेको छ । जबकी त्यसको मूल्य १३९ मात्र हो’, उहाँले भन्नुभयो, ‘हामी व्यवसायीसँग नभएको पुस्तक कसरी यहाँ बिक्री भइरहेको छ, त्यो छानविन गर्नुपर्छ ।’

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रवक्ता चित्रकुमार आचार्यले आइतबारसम्म धेरै पुस्तक उपलब्ध गराउन सकिने बताउनुभयो । सुदूरपश्चिम प्रदेशभरी मागअनुसार पाठ्यपुस्तक पठाउनेगरेको जिकिर उहाँले गर्नुभयो । ‘हामीले मागअनुसार नै पाठ्यपुस्तक पठाइ रहेका छौं’, उहाँले भन्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter