• Sunday, April 13, 2025

सन् २०३० सम्म फोहर पानी प्रशोधन गर्ने गरी संरचना बनाऔँ : मन्त्री चौधरी

काठमाडौं, साउन ३ गते । खानेपानीमन्त्री उमाकान्त चौधरीले दिगो विकास लक्ष्य पूरा गर्न सन् २०३० सम्म ५० प्रतिशत फोहर पानी प्रशोधन गर्ने गरी संरचना बनाउन निर्देशन दिनुभएको छ । हाल तीन प्रतिशतमात्र फोहर पानी प्रशोधन भएको तथ्याङ्क सरकारसँग छ । आठ वर्षमा ४८ प्रतिशत फोहर पानी प्रशोधन गराउनु सरकारका लागि चुनौती छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले ललितपुरको धोबीघाटमा निर्माण गरिरहेको फोहर पानी प्रशोधन केन्द्रको मङ्गलबार अवलोकन गर्नुहुँदै उहाँले खानेपानीको माग धेरै आउने गरे पनि फोहर पानी प्रशोधनको माग कम हुने गरेको बताउनुभयो ।

फोहर पानी प्रशोधन गर्ने काममा अब सरकारले प्राथमिकताका साथ काम गर्नुपर्ने भनाइ सो अवसरमा मन्त्री चौधरीले राख्नुभयो । “जनसङ्ख्या र सहरीकरण दुवै बढेको छ, अब ७५३ वटै स्थानीय तहमा फोहर पानी प्रशोधन केन्द्र निर्माण गर्नु आवश्यक छ, अहिले बनिरहेका धोबीघाटलगायत स्थानका प्रशोधन केन्द्र पनि समयमै निर्माण हुनुपर्छ”, उहाँले भन्नुभयो ।

धोबीघाटमा हाल दुई वटा प्रशोधन केन्द्र निर्माण भइरहेको छ । यही जुलाई अन्तिममा एउटा केन्द्रको म्याद सकिँदैछ । यही महिनामा म्याद सकिने आयोजनाको हालसम्म २६ प्रतिशतमात्र भौतिक प्रगति भएको छ । अर्को आयोजनाको म्याद डिसेम्बर अन्तिममा सकिने जनाइएको छ । यो आयोजनामा करिब ८० प्रतिशत भौतिक प्रगति छ । सन्तोषजनक अवस्थामा रहेको यो आयोजना तोकिएकै समयमा सकिने भएको छ ।

दोस्रो आयोजना समयमै सकिए पनि केन्द्र सञ्चालनमा भने आउन नसक्ने भएको छ । पहिलो आयोजनासँगै दुवै आयोजना सञ्चालनको पूर्वाधारको संरचना पनि बन्न बाँकी रहेकाले चलाउन नसकिने जनाइएको छ । दुवैको काम समयमै सकेर प्रशोधन केन्द्र समयमै सक्न पनि मन्त्री चौधरीले निर्देशन दिनुभयो । आयोजनाको काम अघि बढाउँदा स्थानीयवासीसँग भएको प्रतिबद्धता पूरा गर्न पनि मन्त्री उहाँले निर्देशन दिनुभएको थियो ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले काठमाडौं उपत्यकाका १८ नगरपालिकामा ३४ प्रतिशतमात्र ढल प्रणाली देखिएको बताउनुभयो । आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक राजेश कुशवाहाले धोबीघाटमा सात करोड ४० लाख लिटर पानी प्रशोधन गर्ने गरी केन्द्र निर्माण गर्न लागिएको बताउनुभयो ।

यसबाट आठ लाख आठ हजार जनसङ्ख्या लाभान्वित हुने उहाँले सुनाउनुभयो । फोहर पानी प्रशोधनबाट ग्यास निकाली त्यसबाट ३०५ किलोवाट प्रतिघण्टा क्षमताका दुई वटा जलविद्युत् आयोजना पनि सञ्चालनमा आउनेछ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter