जनतालाई महामारीबाट जोगाउन सरकार गम्भीर छ : प्रधानमन्त्री देउवा

सिर्जना खत्री / काठमाडौं, असोज ४ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई महामारीबाट जोगाउन सरकार गम्भीर रहेको बताउनुभएको छ ।

मङ्गलबार चिकित्सकको छाता संस्था नेपाल चिकित्सक सङ्घको दोस्रो राष्ट्रिय सम्मेलन (एनएमए नेसनल हेल्थ समिट २०२२) लाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री देउवाले उद्घाटन गर्नुभएको उक्त सम्मेलन दुई दिनसम्म चल्ने छ ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘कोभिड –१९ महामारी होस् वा अहिले देखिएको डेंगु नै किन नहोस् सरकार नागरिकको स्वास्थ्यप्रति गम्भीर छ ।’’ नागरिकलाई महामारीबाट जोगाउन सरकार लागिरहेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री देउवाले सम्मेलनमा हुने छलफल, परामर्श र वैज्ञानिक आधारबाट तयार गरिने नीतिगत सुझाव सल्लाह नेपाल सरकारको आधिकारिक दस्ताबेजको रूपमा रहन सकोस् भन्ने अपेक्षा राखेको पनि जानकारी दिनुभयो ।

यसैगरी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले दोस्रो एनएमए राष्ट्रिय स्वास्थ्य सम्मेलनले सरकारलाई राम्रो मार्गदर्शन दिन सकोस् भन्ने धारणा राख्नु भएको छ ।

सङ्घले ‘महामारीपछिको चुनौती, उपलब्धि र अवसर’ विषयमा केन्द्रित रहेर सम्मेलनको आयोजना गरेको हो । सम्मेलनमा विभिन्न सात विषयमा छलफल हुनेछ । सम्मेलनको पहिलो दिन आज तीन वटा विषयमा दोस्रो दिन बुधबार चार वटा विषयमा छलफल हुनेछ ।

सम्मेलनको पहिलो दिन सङ्घको पहिलो राष्ट्रिय सम्मेलनको उपलब्धि, सुर्तीजन्य पदार्थले स्वास्थ्य र स्वास्थ्य प्रणालीमा पारेको असर र चिकित्सा र स्वास्थ्य क्षेत्रका जनशक्तिलाई स्वदेशमै हौसला, अवसर र प्रेरणा विषयमा छलफल भएको छ ।

यस्तै, बुधबार महामारीपछि स्वास्थ्य क्षेत्रका चुनौती र अवसरहरू, खोप, औषधि र उपकरणहरूको उचित भण्डारण, ढुवानी र वितरण, नेपालमा स्वास्थ्य पर्यटनको सम्भावना र चिकित्सा शिक्षामा असर र अवसर विषयमा छलफल हुनेछ ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले स्वास्थ्यका नीति तथा कार्यक्रम बनाउन सम्मेलनमा हुने छलफल निकै महत्त्वपूर्ण हुने बताउनुभयो ।

सचिव पोखरेलले भन्नुभयो, ‘‘सम्मेलनमा छलफलपछि आएका निचोड र सुझावका आधारमा स्वास्थ्य मन्त्रालयलये नीति तथा कार्यक्रमहरू बनाउन सक्नेछ ।’’

यो सम्मेलनमा स्वास्थ्य र चिकित्सा शिक्षाका विषयमा गहन छलफल हुने र ती छलफलबाट विशेषगरी नसर्ने रोग, मानसिक स्वास्थ्य तथा जनशक्ति र समग्र स्वास्थ्य सेवा सुधारमा महत्त्वपूर्ण सुझाव आउनेछ भन्ने विश्वास लिएको उहाँको भनाइ छ ।

विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि डा. राजेश संभाजीराव पाण्डवले कोभिड महामारीको अन्त्य भईनसकेकाले अझै पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कोभिड महामारीसँगै आगामी दिनमा आउनसक्के जोखिम तथा समस्याको समाधानका लागि पनि तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो ।

सङ्घका अध्यक्ष डा. लोचन कार्कीले स्वास्थ्यको नीति निर्माण तहमा योगदान पुर्‍याउन सम्मेलनको आयोजना गरिएको जानकारी दिनुभयो ।

आगामी दिनमा स्वास्थ्यको नीति के हुनुपर्ने, पाँच वर्ष, १० वर्षमा स्वास्थ्य क्षेत्रमा के काम हुनुपर्छ र के कुरामा जोड दिनुपर्छ भन्ने विषयमा हामी गहन छलफल गर्ने र छलफलमा आएका कुराहरूलाई सङ्कलन गरेर नीतिगत सुधार गर्नुपर्ने विषयमा सरकारलाई सुझाव दिने उहाँको भनाइ छ ।

उहाँले समग्र नेपालको स्वास्थ्य प्रणालीलाई विश्वसामु प्रतिस्पर्धात्मक रूपमा कसरी अगाडि बढाउन सकिन्छ भन्ने सम्बन्धमा ठोस् रणनीतिमूलक कार्य योजना तर्जुमा गर्न सहजीकरण होस् भनेर सम्मेलन आयोजना गरिएको जानकारी दिनुभयो ।

यसैगरी, सम्मेलन आयोजक समितिका अध्यक्ष डा. अन्जनीकुमार झाले समसामयिक र नेपालको विद्यमान परिस्थितिसँग सुहाउँदो विषयहरूमा छलफलका लागि छनोट गरिएको बताउनुभयो । यस्ता महत्त्वपूर्ण विषयवस्तु माथि गरिने छलफल, परामर्श र मन्थनले भावी दिनमा राज्यको तर्फबाट निर्वाह गर्नुपर्ने रणनीतिक योजना र नीतिलाई मार्गनिर्देश गर्न सहजीकरणको भूमिका खेल्ने अपेक्षा गरेको उहाँको भनाइ छ ।

सम्मेलनमा देशभरबाट पाँच सयभन्दा बढीको सहभागिता रहेको छ । जर्नल अफ नेपाल मेडिकल एसोसिएसनको प्रकाशन सुरुवात भएको सेप्टेम्बर महिनालाई प्रत्येक वर्ष वार्षिक क्यालेण्डर इभेन्टको रूपमा मनाउने सङ्घको केन्द्रीय कार्यकारिणी समितिको निर्णय अनुसार गत वर्षदेखि राष्ट्रिय सम्मेलन गर्न सुरु गरिएको सङ्घका अध्यक्ष डा. लोचन कार्कीले जानकारी दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter