• Monday, June 09, 2025

लक्ष्यभन्दा बढी राजस्व

लक्ष्मी सापकोटा / काठमाडौँ, असोज ६ गते । काठमाडौँ महानगरपालिकाले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आव २०७८/७९ मा नौ अर्ब ८७ करोड १३ लाख रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा १० अर्ब ६० करोड ४८ लाख ३७ हजार ८६० रुपियाँ राजस्व सङ्कलन भएको महानगरले जनाएको छ । यो लक्ष्यको ११६ प्रतिशत हो ।

यस्तै आव २०७७/७८ मा १० अर्ब ७६ करोड ६५ लाख रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा आठ अर्ब ३८ करोड ८७ लाख ६६ हजार ५२० रुपियाँ राजस्व सङ्कलन भएको थियो । यो लक्ष्यको ७७ दशमलव ९२ प्रतिशत मात्रै हो । राजस्व सङ्कलनमा कडाइ गरेका कारण विभिन्न शीर्षकबाट राजस्व सङ्कलनमा उलेख्य वृद्धि भएको हो ।

महानगरपालिका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले पुरानो बक्यौता रकम उठेकाले गत आर्थिक वर्ष राजस्व सङ्कलन लक्ष्यभन्दा बढी भएको बताउनुभयो । सम्पत्ति कर, बहाल कर, मनोरञ्जन करलगायत विभिन्न शुल्क सङ्कलनमा वृद्धि भएको उहाँले जानकारी दिनुभयो । कवाडी करलाई ठेक्कामा लगाएका कारण राजस्व सङ्कलनमा वृद्धि भएको महानगरले जनाएको छ ।

गत वर्ष पर्यटन शुल्क, सम्पत्ति कर, घरबहाल कर, भूमिकर/मालपोत, अभिवृद्धि कर, सवारीसाधन कर, मनोरञ्जन कर, नक्सा पास दस्तुर, नाता प्रमाणीकरण दस्तुर सङ्कलनमा उच्च वृद्धि भएको महानगरले जनाएको छ । महानगरका अनुसार सम्पत्ति, बहाल तथा पट्टाबापतको आयमा लाग्ने करबाट प्राप्त रकम लक्ष्यको १६८ प्रतिशत सङ्कलन भएको छ । सो कर आव २०७८/७९ मा पाँच करोड रुपियाँ सङ्कलन गर्ने लक्ष्य रहेको आठ करोड ४२ लाख २८ हजार ३७३ रुपियाँ सङ्कलन भएको छ ।

यस्तै सो आर्थिक वर्ष ८० करोड रुपियाँ सम्पत्ति कर सङ्कलन गर्ने लक्ष्य रहेकामा ८७ करोड ६४ लाख ५० हजार ६३२ रुपियाँ सङ्कलन भएको छ, जुन १०९ प्रतिशतले बढी हो । एक अर्ब ७५ करोड रुपियाँ घरबहाल कर सङ्कलन गर्ने लक्ष्य रहेकामा दुई अर्ब ३६ करोड ४८ लाख एक हजार ६५४ रुपियाँ सङ्कलन भएको छ । यस्तै घरजग्गा रजिस्टे«सन दस्तुर एक अर्ब ८९ करोड सङ्कलन गर्ने लक्ष्य रहेकामा १४७ प्रतिशतले बढेर दुई अर्ब ६५ करोड ४१ लाख ५८ हजार रुपियाँ सङ्कलन भएको महानगरले जनाएको छ । यस्तै पर्यटन शुक्ल लक्ष्यको ४५६ प्रतिशत अर्थात् दुई करोड ३७ लाख २६ हजार ५५० रुपियाँ सङ्कलन भएको जनाएको छ ।

सो आर्थिक वर्ष बाँडफाँटबाट प्राप्त हुने कर राजस्वको रकम पनि बढेको महानगरले जनाएको छ । सवारीसाधन कर लक्ष्यको १०५ प्रतिशत अर्थात् ४२ करोड १७ लाख ३४ हजार रुपियाँ सङ्कलन भएको छ । बाँडफाँटबाट प्राप्त हुने मनोरञ्जन कर १० लाख रुपियाँ सङ्कलन गर्ने लक्ष्य रहेकामा ८५ लाख ९५ हजार ६२२ रुपियाँ सङ्कलन भएको छ । सङ्कलन गर्ने निकायले ६० प्रतिशत र अर्काेले ४० प्रतिशतका दरले बाँडफाँट गर्ने गर्छन् ।

ठूला करदातालाई कर तिर्न निर्देशन

महानगरपालिकाले ठूला करदातालाई १० दिनभित्र सम्पत्ति र घरबहाल कर तिर्न निर्देशन दिएको छ । महानगरपालिकाले बुधबार पत्र काटेर विभिन्न सङ्घसंस्था, व्यक्ति, कम्पनी र सरकारी निकायलाई घरजग्गा सम्पत्तिमा लाग्ने कर र घरबहाल कर तिर्न निर्देशन दिएको हो । दस दिनभित्र करदाताले वडा कार्यालयमा पुगेर आफ्नो सम्पत्ति र घरबहाल कर नतिरेमा सरकारी बाँकीसरह असुलउपर गरिने महानगरले जनाएको छ ।

जय नेपाल हल, इम्पेरियल अपार्टमेन्ट, सगरमाथा इन्सोरेन्स, ग्लोबल ट्रेडिङ कन्सर्न, पूजा इन्टरप्राइजेज, ल्यान्डमार्क होटल, ओसान इन्टरनेसनल कलेज, वल्र्ड ट्रेड सेन्टर, सीटीसी मल र एनआरटी क्लबलाई सम्पत्ति कर बुझाउन पत्र काटिएको महानगरले जनाएको छ । यस्तै बुद्धबारी कम्प्लेक्स, सिग्नेचर अपार्टमेन्ट, काठमाडौंँ इन्जिनियरिङ कलेज, नेपाल रेडक्रम सोसाइटी, ब्लुबर्ड इन्भेस्टमेन्ट, होटल प्लाटिनियम, आदर कम्प्लेक्स, ब्याट्री कारखाना, सिद्धार्थ वनस्थली स्कुल र एडभान्स अटोमोबाइललाई पनि महानगरले कर तिर्न बोलाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter