• Saturday, May 17, 2025

वैदेशिक रोजगारीका क्रममा ठगीमा पर्नेलाई ४८ करोड क्षतिपूर्ति

काठमाडौं, असोज ११ गते । सरकारले वैदेशिक रोजगारीका क्रममा ठगीमा पर्नेहरूलाई चालु आर्थिक वर्षमा ४८ करोड रुपियाँभन्दा बढी क्षतिपूर्ति उपलब्ध गराएको छ ।

मङ्गलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले आफ्नो ९० दिने कार्यकालमा भएका प्रगति विवरण सार्वजनिक गर्न आयोजना गर्नुभएको पत्रकार भेटघाट कार्यक्रममा सो कुराको जानकारी दिनुभएको हो ।

मन्त्री कुँवरले वैदेशिक रोजगारीका क्रममा ठगी गर्ने, अलपत्र पार्ने र सम्झौतामा उल्लेख भएको अनुसारको काममा नलगाउने जस्ता कार्य गराएको भनी वैदेशिक रोजगार विभागमा आएको निवेदनका आधारमा चालु आर्थिक वर्षमा पीडकबाट क्षतिपूर्ति भराएको ४८ करोड चार लाख ८५ हजार रुपियाँ क्षतिपूर्ति पीडितलाई उपलब्ध गराइएको बताउनुभयो ।

वैदेशिक रोजगारीको क्रममा भएका ठगीको उजुरी प्रमुख जिल्ला अधिकारीले हेर्न पाउने र उजुरी उपर कारबाही गरी पीडितलाई क्षतिपूर्ति दिलाउने व्यवस्थाको कार्यान्वयनलाई प्रभावकारी बनाइएको उहाँको भनाइ छ ।

मन्त्री कुँवरले नेपालबाट बेलायतमा स्वास्थ्य क्षेत्रका जनशक्ति पठाउने सम्बन्धी श्रम समझदारी पत्रमा हस्ताक्षर भई काम अगाडि बढेको पनि उल्लेख गर्नुभयो ।

त्यस्तै, रोमानियाको भिसा प्रक्रियालाई सरल बनाउन वैदेशिक रोजगार कार्यालय ताहाचलमा अस्थायी रूपमा रोमानिया मिसन स्थापना गरिएको उहाँले जानकारी दिनुभयो । इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी निर्देशिका, २०७८ समसामयिक बनाउने कार्यदल गठन भई कार्य भइरहेको पनि उहाँले बताउनुभयो । सात वटै प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयहरूबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने काम भइरहेको जनाइएको छ ।

मन्त्री कुँवरले प्रधानमन्त्री रोजगार कार्यक्रम, युवा रोजगारीका लागि रूपान्तरण पहल परियोजना, रोजगार प्रवर्द्धन कार्यक्रम र वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको पुनः एकीकरण परियोजना प्रदेश तथा स्थानीय तहबाट हुनेगरी कार्यान्वयन गरिएको उल्लेख गर्नुभयो । उहाँले श्रमिक अस्पतालको निर्माण सम्भाव्यता अध्ययन कार्यदलले अस्पताल निर्माण सम्भाव्य स्थलको पहिचान गर्ने सम्बन्धी प्रतिवेदन तयार भई जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढेको बताउनुभयो । श्रम बजारमा प्रवेश गर्ने जनशक्तिलाई स्वदेशमै रोजगारी उपलब्ध गराउने उद्देश्यले व्यावसायिक सिप तथा तालिम प्रदान गर्ने कार्यक्रम सञ्चालन भइरहेको उहाँको भनाइ छ ।

यसैगरी, कम्तीमा २ वर्ष सामाजिक सुरक्षामा योगदान गर्ने योगदानकर्ताहरूलाई कोरोनरी आर्टरी बाइपास वा ओपनहार्ट सर्जरी, मस्तिष्क घात, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाईनलाईन्जुरी, हेडईन्जुरी, सिकलसेल, एनिमिया, हेमोफेलिया र थालासेमिया लगायतका १० प्रकारका घातक रोग लागेमा १० लाख रुपियाँसम्म उपचार खर्च प्रदान गर्ने व्यवस्था गरिएको बताइएको छ ।

श्रम मन्त्री कुँवरका अनुसार सामाजिक सुरक्षा कोषमा सूचीकृत श्रमिकका स्नातक तहको प्रथम वर्षमा भर्ना भई अध्ययन गरिरहेका सन्ततिहरूलाई प्रत्येक प्रदेशबाट १२ जनाका दरले ८४ जनाले स्वदेशी शैक्षिक संस्थामा अध्ययन गर्न छात्रवृत्ति प्रदान गरिने भएको छ । यसका लागि योगदानकर्ता सन्तति छात्रवृत्ति सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरिएको उहाँको भनाइ छ ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter