महँगिँदै छठमा प्रयोग हुने सामग्री

ललिता साह / सप्तरी कात्तिक ११ गते । हिन्दु धर्ममा आस्थाको पर्व मानिने छठ पर्व विधिवत् रूपमा सुरु भएसँगै बजार भाउ आकासिएको उपभोक्ताहरूको भनाइ छ । पोहोर परारको छठ पर्वको बेला सय र दुई सय रुपियाँमा पाइने नाङ्लो र ढक्की अहिले चार सयदेखि हजार रुपियाँसम्म पर्ने स्थानीयले बताउनुभयो ।

छठ पूजाका लागि अनिवार्य मानिने केरा पहिले घरी वा दर्जनमा किन्ने गर्थे । तर यो वर्ष किलोमा किनेको र एक किलोमा आठ र दश वटा आउने उपभोक्ताको भनाइ छ । ८० देखि सय रुपियाँसम्म बजार भाउ बढेको उहाँहरूको गुनासो छ । खड्क ४ की सावित्री देवीका अनुसार यस वर्ष छठका सामग्रीको बजार भाउ अचाक्ली वृद्धि भएको छ । पारिवारिक कारणले विगत चार वर्षदेखि छोरा बुहारीसँग काठमाडौंमै छठ पर्व मनाउने बाध्यता भएकाले तिहार र भाइटीका मान्न हरेक वर्ष राजविराज घर आउँदा काठमाडौंमा छठको सामग्री झन् महँगो हुने भएकाले राजविराजबाट आवश्यक सामग्री माटोको हात्तीदेखि केरा र बाँसबाट बनाइएका ढकी, कोनियासम्म किनेर लैजाने गरेको बताउनुभयो ।

विगतका वर्षहरूमा पाँच हजारमा आउने सामग्री अहिले दश देखि बाह्र हजार पर्नेगरेको राजविराज ७ कि समुन्द्रा देवीले सुनाउनुभयो । एकातिर वर्ष दिनदेखि आर्थिक अभाव झेल्दै गर्दा चाडपर्वले बजारभाउ महँगिँदै गएको व्यवसायीदेखि सर्वसाधारणलाई अनुभूति भएको बताएका छन् । पछिल्लो समय चाडपर्वको बदलिँदो स्वरूपका कारण पर्वमा चाहिने आवश्यक सामग्री बाहेक हुनेखानेहरूले विलासिताका वस्तुहरू महँगा लुगा, गरगहनाहरू चाडपर्वकै बेला किन्ने र देखासिकी गरी प्रतिस्पर्धा, तडकभडकपूर्ण विकृतिले निम्न तथा मध्यमवर्गीय नागरिकलाई समस्या पर्नेगरेको रुपनि १ का हरेराम यादवको बुझाइ छ ।

मौलिक परम्परा बोकेको छठ पर्वमा हाम्रो पालामा त आफ्नो घर र छिमेकको बगैँचा र बारीमा भएकै सामानहरू पैँचो साटो गरेर पुग्थ्यो । न्यून मात्रामा बजारबाट किन्नुपर्ने सामग्रीमा हामी नाइको बराबर पैसा खर्च हुन्थ्यो । अहिलेको छठ पर्व देखासिकीले झन् महँगो बन्दैगएको तिरहुत गाउँपालिकाको ९७ वर्षीय हुकुमलाल चौधरीले बताउनुभयो ।

चार दिनसम्म चल्ने छठ पर्वमा महिना दिन अगावैदेखि जोरजाम गर्नुपर्ने र खर्च गर्नैपर्ने बाध्यता हुनेगरेको वोदेवसाईन ५ मानराजाकी अनिता साहले बताउनुभयो । सबै सामग्री छठी मैयालाई घाटमा चढाउने अर्थात् पर्व प्रयोजनकै लागि हुनेभएकाले कुनै कटौती नगरी चाहिने आवश्यक सामग्री खरिद नगरे पर्व मनाउनै सकस हुन्छ उहाँको भनाइ छ ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बजारभाउ आकासिएको नागरिकको गुनासोबीच बजार अनुगमनको काम हुने बताउनुभयो । उपभोक्ता हितकानिम्ति बजार अनुगमन सँधै गर्नुपर्ने काम भएको उहाँले बताउनुभयो । चाडपर्वको बेला झन् विशेष रूपमा गर्नुपर्छ उहाँले भन्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter