घाँस बिक्रीबाट वार्षिक २५ लाख रुपियाँसम्म आम्दानी

मीना कंडेल / कावासोती, कात्तिक १४ गते । वैदेशिक रोजगारीबाट राम्रो कमाउन आसमा बिदेशिएका युवाहरू अहिले स्वदेश फर्केर कृषि पेसामा रमाउन थालेका छन् । पूर्वी नवलपरासीबाट वैदेशिक रोजगारमा जाने अधिकांश युवाहरू पछिल्लो समय स्वदेशमा विदेशकोजस्तै परिश्रम गर्ने हो भने राम्रो कमाउन सकिन्छ भन्ने जोस र जाँगर बोकेर कृषिमुखी व्यवसायमा रमाउन थालेका छन् ।

पूर्वी नवलपरासी गैँडाकोट नगरपालिका –१२ का कृषक विष्णु भट्टले चार वर्ष मलेसियामा बसेर कडा परिश्रम गरेर स्वदेश फर्केपछि अहिले कृषि व्यवसायमा रमाउन थालेको बताउनुभयो । विगत ५ वर्षदेखि व्यावसायिक रूपमा घाँस खेती गर्दै आउनुभएको छ । व्यावसायिक घाँस खेतीमा लाग्नुभएका भट्टले यस खेतीबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ । वार्षिक रूपमा घाँस बिक्रीबाट २५ लाख रुपियाँसम्म आम्दानी गर्नेगरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “अरूको ठाउँमा मेहनत र पसिना बगाउनुभन्दा आफ्नो ठाउँमा नै केही गर्नुपर्छ भन्ने सोचका साथ स्वदेश फर्किएको हो । मलेसियामा चार वर्ष बिताउँदा निकै अप्ठेरो भयो । स्वदेश फर्किएर घाँसखेती गरेपछि राम्रो आम्दानी भएको छ ।”

घाँस प्रतिकेजी ६ रुपियाँ र घाँसका बिरुवा प्रजाति हेरी प्रतिबिरुवा २ देखि ५० सम्ममा बिक्री हुनेगरेको भट्टले बताउनुभयो ।

हरियो घाँसभन्दा घाँसको बिरुवा बिक्रीबाट धेरै आम्दानी लिनेगरेको उहाँले बताउनुभयो । डेढ बिघा क्षेत्रफलबाट घाँसखेती सुरु गर्नुभएका कृषक भट्टले हाल १४ बिघा क्षेत्रफलमा घाँस खेती गर्दै आउनुभएको छ । श्री स्वस्थानी घाँस स्रोत केन्द्र तथा बाख्रा फर्म स्थापना गरी सोहीमार्फत जग्गा भाडामा लिएर भट्टले व्यावसायिक घाँस खेती गर्दै आउनुभएको हो ।

आफूले लगाएको घाँस जिल्लाकै पशुपालक किसानले खरिदारी लैजानेगरेको उहाँले बताउनुभयो । घाँसका बिरुवा भने नवलपुरसहित देशका विभिन्न जिल्लाका किसानले खरिद गरी लैजानेगरेका छन् । कृषक भट्टले सुपर नेपियर, मलाटो, नेपियर लगायतका घाँसखेती गर्दै आउनुभएको छ ।

गैँडाकोटसहित देवचुली, कावासोतीका विभिन्न क्षेत्रमा उहाँले घाँस खेतीसहित उखु, गिठ्ठा लगाउनुभएको छ । कृषक भट्टले घाँस खेतीसहित ५ बिघा क्षेत्रफलमा रानी गिठ्ठाको समेत व्यावसायिक खेती गर्दै आउनुभएको छ । चार वर्षअघि १० लाख रुपियाँको लागतमा रानी गिठ्ठाको व्यावसायिक खेती सुरु गरेको कृषक भट्टले बताउनुभयो ।

एक पटक लगाएको गिठ्ठाबाट पटक पटक उत्पादन लिन सकिने उहाँको भनाइ छ । उत्पादित गिठ्ठा स्थानीय बजारसँगै चितवन, पोखरा, काठमाडौँ लगायतका ठाउँमा बिक्री हुँदैआएको उहाँले बताउनुभयो । अहिले गैँडाकोटका अधिकांश युवाले व्यावसायिक रूपमा कृषि, गाई भैँसीपालनमा रमाएको भट्टले बताउनुभयो । विदेशभन्दा स्वदेश नै प्यारो बन्न थालेको उहाँको अनुभव छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter