• Thursday, May 22, 2025

रिट्ठेपानी डाँडा कटान हुँदै : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मंसिर १४ मा परीक्षण उडान

विष्णु पाण्डेय / काठमाडौं, कात्तिक २९ गते। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी नोभेम्बर ३० (मंसिर १४) गते यान्त्रिक परीक्षण गर्ने तयारी भएको छ।नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले मंसिर १४ गते यान्त्रिक परीक्षण उडान गर्ने गरी तयारी अघि बढेको जानकारी दिनुभयो ।

यान्त्रिक परीक्षणका लागि २४ दिनको समय पनि लाग्ने उहाँको भनाइ छ।यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षणपछि सन् २०२३ जनवरी १ तारिखमा विमानस्थलको उद्घाटन गर्ने तयारी रहेको उहाँले सुनाउनुभयो।निरौलाले भन्नुभयो, ‘नोभेम्बर ३० तारिखमा अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक उडानका लागि काम अघि बढेको छ।यान्त्रिक उडान सकेर जनवरी १ (पुस १७ गते) देखि औपचारिक उद्घाटन गर्ने योजना रहेको छ ।’

थाइले यान्त्रिक परीक्षण गर्ने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी नोभेम्बरमा ३० गर्ने भनिएको यान्त्रिक परीक्षण थाइल्याण्डको एरो थाइले गर्ने भएको छ।नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार नोभेम्बर २५ मा एरो थाइको जहाज नेपाल ल्याउने योजना छ।नेपाल आएको पाँच दिनपछि थाइले यान्त्रिक उडान थाल्नेछ ।

थाइले यसअघि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि यान्त्रिक परीक्षण गरेको थियो।यस्तै एरो थाइले नेपालगन्ज, काठमाडौं, सिमरा, विराटनगर, चन्द्रगढी र भैरहवामा पनि फेरि यान्त्रिक परीक्षण गर्नेछ।यान्त्रिक परीक्षणबाट सम्पूर्ण अवस्था कस्तो छ भन्ने कुरा थाहा हुने प्राधिकरणका प्रवक्ता निरौलाले बताउनुभयो।

फोहोर व्यवस्थापन गर्ने महानगरको आश्वासन

परीक्षण उडानको तयारी भएपछि पोखरा लेखनाथ महानगरपालिकाले विमानस्थल नजिकै रहेको ल्याण्डफिल्ड साइटको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ । ल्याण्डफिल्ड नजिकै हुँदा यान्त्रिक उडानमा समस्या हुने देखिएपछि महानगरले यस्तो प्रतिबद्धता जनाएको हो ।विमानस्थल नजिकै ल्याडफिल्ड साइट हुँदा त्यहाँ आहारको खोजीमा पुग्ने चराका कारण उडानमा अवरोध हुने देखिएपछि यसतर्फ महानगरले चासो देखाएको हो । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता निरौलाका अनुसार महानगर प्रमुखले यान्त्रिक उडान सुरु गर्नु अघि नै ल्याण्डफिल्ड सार्ने प्रतिबद्धता जनाइसक्नु भएको छ ।

रिठ्ठेपानी डाँडा कटान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक उडानको लागि रिठ्ठेपानी डाँडा कटानको काम जारी छ।अघिल्लो सोमबारबाट डाँडा कटानको काम सुरु भएको हो। ४० मिटरसम्म डाँडा कटान गर्नुपर्ने भए पनि यान्त्रिक उडानको लागि १० दिनभित्र १४ मिटर मात्र डाँडा कटान हुनेछ। डाँडा कटानको थप काम यान्त्रिक उडानपछि हुने प्रवक्ता निरौलाको भनाइ छ।डाँडा कटानका लागि ‘अर्थवर्क ईन’ रिठ्ठेपानी डाँडा स्ट्याबिलाइजेसन एण्ड अदर एसोसिएटसँग २८ करोड ५८ लाख रुपियाँमा सम्झौता भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख विनेश मुनाकर्मीले जानकारी दिनुभयो।

सन् २०१४ को मे ३१ मा नागरिक उड्डयन प्राधिकरण र ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडबीच विमानस्थल निर्माणको ठेक्का सम्झौता भएको थियो।२०१६ मार्च २१ मा नेपाल र चीनको एक्जिम बैंकबीच ऋण सम्झौता भएको थियो।नेपाल सरकार र प्राधिकरणबीच २०१९ जुन ५ मा अनुदान ऋण सम्झौता भएको थियो ।एक्जिम बैङ्कले २०१७ मे ३१ बाट ऋण प्रवाह गरेको थियो। झण्डै २२ अर्ब रुपैयाँ लागतमा सन् २०१७ नोभेम्बरदेखि विमानस्थल निर्माण भइरहेको छ।विमानस्थल निर्माणको काम २०२१ जुन १० मा सक्नुपर्ने भए पनि एक वर्ष म्याद थपिएको छ ।

विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ‘सिङ्गल अप्रोच’ बाट हुनेछ।पूर्वपट्टिबाट मात्रै अन्तर्राष्ट्रिय जहाजले उडान र अवतरण गर्नेछन्।आन्तरिकतर्फ रन–वेको दुवै तर्फबाट उडान तथा अवतरण गर्न मिल्ने व्यवस्था हुनेछ।विमानस्थलमा ११ जहाज पार्किङ गर्न सकिने छ। तीनवटा अन्तर्राष्ट्रिय, चारवटा एटीआर र चारवटा ट्वीनअटर जहाज पार्किङ गर्न सकिनेछ ।आन्तरिकतर्फ दैनिक ४८ र अन्तर्राष्ट्रियतर्फ ६ वटा उडान तथा अवतरण गर्ने प्राधिकरणको तयारी छ । विमानस्थलले वार्षिक आठ लाख यात्रुलाई सेवा दिन बताइएको छ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter