आयोग कडा होइन, नेता कार्यकर्ता अनुशासित : प्रमुख आयुक्त थपलिया

काठमाडौं, मंसिर २ गते । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता कार्यान्वयनमा निर्वाचन आयोग कडा नभई दलका नेता तथा कार्यकर्ता अनुशासित भएको बताउनुभएको छ । आम निर्वाचन पर्यवेक्षण समिति, नेपाल (जियोक) द्वारा शुक्रबार यहाँ आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

निर्वाचन कानुन र आचारसंहिताको परिपालना गरेमा निर्वाचन अनुशासित, भयरहित, स्वतन्त्र र स्वच्छ हुने उहाँको भनाइ छ । मतदानका दिन कोही मतदाता पैसा, प्रलोभन, पहुँच र धम्कीको प्रभावमा पर्न नहुने उहाँले आग्रह गर्नुभयो । “कतिपयले निर्वाचन आयोग कडा रुपमा प्रस्तुत भएकाले आचारसंहिता कार्यान्वयन भएको भने पनि आयोग त्यस्तो कडा भएको होइन, आचारसंहिता कार्यान्वयनमा ध्यान दिएको हो” उहाँले भन्नुभयो ।

कतिपय ठाउँमा महिला, असहाय, अपाङ्गता भएका मतदाताको अधिकार खोसी ठेकेदार तथा बिचौलियाले मतदान गर्नेगरेको सूचना प्राप्त भएकाले त्यसकाे सूक्ष्म निगरानी गरिने र पर्यवेक्षण संस्थाले पनि त्यसमा गहन ढङ्गले काम गर्नुपर्ने उहाँको आग्रह छ । “मतदाताको अधिकार दिलाउने विषय आयोगका लागि अहिले प्रमुख चुनौतीको विषय हो, त्यसमा आयोग सचेत भएर निगरानी गर्छ” उहाँले भन्नुभयो ।

अर्को महत्वपूर्ण विषय मतदानका दिन मतदाताको सुरक्षाको विषय भएको उहाँले चर्चा गर्नुभयो । ढुक्क भएर मतदाताले भयरहित वातावरणमा मतदान गर्न पाउनु उहाँहरु सबैको नैसर्गिक अधिकार भएको उहाँले बताउनुभयो । निर्वाचन पर्यवेक्षण संस्थाले आफूले देखेका घटना तत्काल आयोगलाई खबर गरेमा ठाउँका ठाउँ समस्या समाधान गर्न सकिने हुनाले तत्काल आयोगलाई जानकारी गराएर सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

“पर्यवेक्षण संस्थाले आफ्नो प्रतिवेदनका लागि मात्र निर्वाचन अनुगमन गर्ने होइन, देखेका घटना र समस्या तत्काल आयोगलाई खबर गरेर सहयोग गर्नुपर्छ” उहाँले भन्नुभयो । पर्यवेक्षण गर्नु पनि आयोगलाई सहयोग गर्ने काम भएकाले आचारसंहिता उल्लङ्घन गरेको घटना देख्नेबित्तिकै ठाउँका ठाउँ खबर गरेमा आयोगले तत्काल समाधान गर्न सक्ने उहाँको भनाइ छ । संसदमा ३३ प्रतिशत महिला उपस्थितिको संवैधानिक व्यवस्था भए पनि ९ प्रतिशत मात्र महिला उम्मेदवार हुनु दुःखद भएको बताउँदै उहाँले भन्नुभयो, “आयोगले प्रयास गर्दागर्दै पनि केही गर्न सकेन, दलका नेताहरुलाई त्यसमा सचेत गराउने काम भएको छ ।”

निर्वाचनको स्वच्छता उम्मेदवारको व्यवहार र कार्यशैलीले पनि केही हदसम्म तय गर्ने चर्चा गर्नुहुँदै प्रमुख आयुक्त थपलियाले भन्नुभयो, “फाराम भर्न नजान्ने, उम्मेदवार हुन लायक नभएकालाई पनि उम्मेदवार बनाउने काम दलले गर्दा कतिपय ठाउँमा समस्या हुनेगर्छ ।” मतदातालाई सहज हुनेगरी मतदान स्थल बनाउन आयोगले निर्देशन दिइएको उहाँले बताउनुभयो । मन्दिर, अस्पताल परिसरमा सामाजिक स्वीकार्यताका आधारमा केही ठाउँमा मतदान स्थल बनाइएको उहाँले प्रष्ट पार्नुभयो ।

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले कतिपय ठाउँमा अस्पताल परिसर, मन्दिर परिसरमा समेत मतदान स्थल निर्माण गरिएकाले त्यस्तो संवेदनशील ठाउँमा सकेसम्म मतदान स्थल नबनाएको भए राम्रो हुने सुझाव दिनुभयो । निर्वाचनकाे तयारी राम्रो भएको र स्वच्छ तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । निर्वाचन आचारसंहिता राम्रो बनेकाले त्यसको पूर्ण कार्यान्वयनमा जोड दिनुपर्ने उहाँको सुझाव छ ।

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले आफू काभ्रेपलान्चोकको केही ठाउँमा स्थलगत अनुगमनमा पुग्दा शान्त र स्वस्थ वातावरण भेटेको बताउनुभयो । निर्वाचनको तयारी राम्रोसँग भएको पाइएको उहाँले जानकारी दिनुभयो । निर्वाचनको राम्रो तयारी देख्दा लोकतन्त्रको विकास भएको आफूलाई महसुस भएको उहाँले चर्चा गर्नुभयो ।

पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनको तयारी राम्रो भएको भए पनि अन्तिम समयसम्म सूक्ष्म निगरानी राख्नुपर्ने बताउनुभयो । निर्वाचन प्रक्रिया अलि खर्चिलो, भडकिलो भए पनि ढुक्कको वातावरण बनेको पाइएको उहाँले बताउनुभयो । पैसाको प्रलोभन र सोसल मिडिया दुरुपयोग हुन नपावस् भन्नेमा ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।

कानुन समाज नेपालका अध्यक्ष तीर्थमान शाक्यको सभापतित्वमा भएको कार्यक्रममा मोहन आचार्य, कृष्णमान प्रधानलगायतले निर्वाचनको तयारी र गर्नुपर्ने तयारीका विषयमा सुझाव पेश गर्नुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter