• Wednesday, May 21, 2025

एक सय २५ क्षेत्रको मतपरिणाम सार्वजनिक; समानुपातिकतर्फ ७६ लाख मत गनियो

काठमाडौं, मङ्सिर १० गते। मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत हालसम्म एक सय २५ क्षेत्रको मतपरिणाम आइसकेको छ।

निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको विवरणानुसार प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ती क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ भने चार क्षेत्रबाहेक अन्य क्षेत्रमा मतगणना भइरहेको छ। समानुपातिक प्रणालीको मतगणना एकैसाथ भइरहेको छ।

दोलखा, स्याङ्जा-२ र बाजुरामा मतगणना सुरू हुन बाँकी छ। दोलखा र स्याङ्जामा सत्तापक्ष र प्रतिपक्षबीच विवादका कारण मतपेटिका सङ्कलन भइसके पनि गणना सुरू हुनसकेको छैन। त्यहाँका विवाद भएका मतदानस्थलमा पुनः मतदान गराउने या मतगणना सुरू गर्ने भन्ने विषयमा आयोगले निर्णय गर्न बाँकी छ।

बाजुराको बूढीनन्दा नगरपालिका-५ स्थित नन्देश्वरी मावि, पिपलचौर मतदान केन्द्रमा आज मतदान सम्पन्न भएको छ।

समानुपातिकतर्फ ७६ लाख मत गनियो, कसको कति?

निर्वाचन आयोगले समानुपातिकतर्फ हालसम्म कूल ७६ लाख १२ हजार छ सय ९८ मतगणना गरेको छ।

आयोगले साँझ ५ बजेर ४० मिनेटसम्म उपलब्ध गराएको विवरणअनुसार कूल ४७ राजनीतिक दलले प्राप्त गरेको मत गणना गरेको हो।

समानुपातिक निर्वाचन प्रणालीमार्फत कूल एक सय १० प्रतिनिधिसभा सदस्य चुनिने संवैधानिक व्यवस्था छ।

त्यसमा सबैभन्दा बढी नेकपा(एमाले)ले २० लाख ८९ हजार ७२ मत प्राप्त गरेको छ।

दोस्रोमा रहेको नेपाली कांग्रेसले २० लाख १६ हजार छ सय २५ मत प्राप्त गरेको छ।

तेस्रोमा रहेको नेकपा (माओवादी केन्द्र) ले आठ लाख ९१ हजार आठ सय आठ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले आठ लाख ५४ हजार आठ सय ७१ मत प्राप्त गरेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले चार लाख ५८ हजार चार सय ५९ मत, जनता समाजवादी पार्टीले दुई लाख ४८ हजार नौ सय ६८ मत, नेकपा (एकीकृत समाजवादी) ले एक लाख ९३ हजार नौ सय ६४ मत, जनमत पार्टीले एक लाख ७८ हजार दुई सय ३२ मत, नागरिक उन्मुक्ति पार्टीले एक लाख ७५ हजार आठ सय ५९ मत, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख चार हजार तीन सय ४९ मत, नेपाल मजदुर किसान पार्टीले ६८ हजार तीन सय आठ मत प्राप्त गरेका छन्।

अन्तिम स्थानमा रहेको नेश्नलिष्ट पिपल्स पार्टीले एक हजार एक सय ५९ मत प्राप्त गरेका छन्।

यही मङ्सिर चार गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा कूल ६१ प्रतिशत मतदान भएको थियो।

सो निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार थियो।

निर्वाचनमा प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि दुई हजार चार सय १२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए।

यसैगरी प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई हजार एक सय ९९ उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ। रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter