• Friday, May 23, 2025

अनौपचारिक र वैदेशिक रोजगार समावेश

काठमाडौँ, मङ्सिर १२ गते । योगदानमा आधारित सामाजिक सुरक्षा योजना अबदेखि अनौपचारिक क्षेत्र तथा वैदेशिक रोजगारीमा गएका श्रमिकलाई पनि समावेश गरिने भएको छ ।

सरकारले सामाजिक सुरक्षा कोषमार्फत चार वर्षदेखि औपचारिक क्षेत्रका श्रमिकलाई उक्त योजनामा समेट्दै आएकामा अबदेखि अनौपचारिक (स्वरोजगार क्षेत्र) र वैदेशिक रोजगारमा गएका श्रमिकलाई पनि समेट्ने घोषणा गरिने भएको हो । पाँचौँ सामाजिक सुरक्षा दिवसका अवसरमा कोषले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उक्त घोषणा गरिएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एवं सामाजिक सुरक्षा कोषका अध्यक्ष एकनारायण अर्यालले अनौपचारिक क्षेत्रका श्रमिक र वैदेशिक रोजगारका लागि विदेश गएका श्रमिकलाई आबद्ध गर्ने गरी छुट्टै कार्यविधि तयार भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार यो कार्यक्रममा आबद्ध हुने सबै अनौपचारिक क्षेत्रका श्रमिकले कोषबाट उपलब्ध हुने सबै सुविधा प्राप्त गर्नेछन् । यस कार्यक्रमलाई सबै क्षेत्रमा एकै पटक कार्यान्वयन गर्न नसके पनि परीक्षणका रूपमा यातायात, निर्माण क्षेत्र वा घरेलु श्रमिकमध्ये कुनै एकबाट सुुरु गर्ने कोषको तयारी छ ।

कोषका अनुसार वैदेशिक रोजगारीमा जाने युवाको हकमा विदेश जानलाई श्रम स्वीकृति लिएपछि कोषमा आबद्ध गराएपछि कोड नम्बर उपलब्ध गराउने र त्यो नम्बरका आधारमा कोषमा जम्मा गर्ने व्यवस्था गरिनेछ । विदेश जाने श्रमिकलाई श्रम स्वीकृति लिनुअघि नै सामाजिक कोषमा आबद्ध गरिने भन्दै कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले भन्नुभयो, “गन्तव्य मुलुकले दिने सामाजिक सुरक्षा कार्यक्रमका साथै अब विदेश जाने श्रमिकले कोषको स्किम पनि पाउनेछन् ।”

व्यक्तिगत रूपमा निश्चित पारिश्रमिक मासिक तथा अग्रिम एकमुष्ट योगदान गर्न सक्ने व्यवस्था गर्न लागिएको कोषले जनाएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को सहकार्यमा विदेशमा बस्ने सबै नेपालीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समेट्न लागिएको हो । विदेशमा व्यापार व्यवसाय गर्ने गैरआवासीय नेपाली पनि यस कार्यक्रमा समेटिनेछन् ।

कोषमा हालसम्म १७ हजार ५०६ वटा रोजगारदाता र तीन लाख ७५ हजार ९१४ श्रमिक यस कार्यक्रममा आबद्ध भइसकेका छन् । यस अवधिमा सरकारले औपचारिक क्षेत्रका श्रमिकलाई मात्रै कार्यक्रममा समेटेको थियो । यस वर्षदेखि वैदेशिक रोजगारीमा जाने सबै श्रमिक र अनौपचारिक (स्वरोजगारसमेत) समेट्न लागिएको मन्त्रालयका सचिव अर्यालले जानकारी दिनुभयो ।

सो अवसरमा कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नेपालगञ्ज र बुटवलमा सम्पर्क कार्यालयको भर्चुअल रूपमा उद्घाटन गर्नुभयो । उहाँले यसअघि भदौमा विराटनगर र सिमरामा कोषका शाखा कार्यालय स्थापना भएकामा आइतबारदेखि नेपालगञ्ज र बुटवलमा सम्पर्क कार्यालय स्थापना भएको घोषणा गर्नुभयो । पोखरामा पनि छिट्टै कार्यालय खोल्ने कोषको तयारी भएको पनि उहाँले जानकारी दिनुभयो ।

कोषले सञ्चालन गरेको विभिन्न योजनाबापत हालसम्म ५० हजार आठ सय योगदानकर्ता र तिनका परिवारलाई दुई अर्ब ७० करोड भुक्तानी गरिसकिएको छ । यसमध्ये औषधोपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा ३१ करोड ७८ लाख, दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा तीन करोड ७२ लाख र बाँकी रकम अवकाश योजनाअन्तर्गत २७० मृतक योगदानकर्ताको आश्रित परिवारलाई करिब पाँच लाख र बाँकी रकम अवकाश योजनाअन्तर्गत भुक्तानी गरिसकेको जनाइएको छ ।

नेपालका श्रमिकमध्ये हालसम्म करिब १७ प्रतिशत मात्रै सामाजिक सुरक्षामा समेटिएका छन् । सरकारले पञ्चवर्षीय योजनाको अन्त्यसम्म सबै नेपालीलाई सामाजिक सुरक्षा कार्यक्रममा समेट्ने योजना बनाएको छ । नयाँ स्किम सुरु भएसँगै आबद्धता ह्वात्तै बढ्ने कोषको अपेक्षा छ । औपचारिक श्रमिकलाई दिएजसरी सुविधा विदेशमा रहेका नेपाली र अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि दिने सरकारको योजना छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबाहादुर कुँवरले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको सफल कार्यान्वयनमार्फत योगदानकर्ताको सेवाकालमा रहँदा आइपर्ने जोखिमको न्यूनीकरण तथा अवकाशपछिको जीवनमा आर्थिक सुरक्षा धेरै राहत हुने भएकाले सबैलाई कोषमा आबद्ध हुन आह्वान गर्नुभयो । यस कार्यक्रमको कार्यान्वयनसँगै कोषको दीर्घकालीन वित्तीय स्रोतमा गुणात्मक वृद्धि हुँदै जाने र कार्यान्वयनमा आएका नीतिगत समस्या सहमतिमै समाधान गर्न सकिने उहाँको भनाइ छ ।

कार्यक्रममा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) नेपाल निर्देशक रिचार्ड अवार्डले विदेशका थुप्रै मुलुकमा योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गर्न वर्षौं लागेको उदाहरण दिँदै नेपालमा छोटो समयमा परिणाम देखिने काम भएको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका हंशराज पाण्डेले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम निजी क्षेत्र, टे«ड युनियन, सरकारको त्रिपक्षीय सहमतिमा ल्याइएको कार्यक्रमको कार्यान्वयन कुनै समस्या नभएको बताउनुभयो ।

कार्यक्रममा कोषमा नियमित र धेरै रकम योगदान गर्ने १० वटा उत्कृष्ट रोजगारदाता कम्पनीलाई सम्मान गरियो । सम्मानित हुनेमा गोर्खा वेलफियर इन्डस्ट्री, सेभ द चिल्डे«न, लक्ष्मी बैङ्कलगायतका १० वटा रहेका छन् ।

सबैको पहुँचमा पु-याउन समन्वय गरिने

प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सुरक्षाको सफल अभ्यासबाट नागरिकको वर्तमान र भविष्य सुनिश्चित गर्दै लोककल्याणकारी राज्यको मर्मलाई व्यवहारमा रूपान्तरण गर्न सकिने बताउनुुभएको छ ।

पाँचौँ सामाजिक सुरक्षा दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले आफ्नो सन्देशमार्फत सो कुरा बताउनुुभएको हो ।

उहाँले अनौपचारिक क्षेत्रको नीति सङ्गठित संस्थाबाट सुरु भएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाभित्र क्रमशः विभिन्न निकायमार्फत प्रदान गरिने सामाजिक सहायता तथा सुरक्षा कार्यक्रमलाई एकीकृत गरी सामाजिक सुरक्षा कोषको क्षमता विकास गरेर वृद्धावस्थाको सुनिश्चितता गरिने बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter