अव्यवस्थित तार हटाएर ठमेललाई सफा र सुन्दर बनाइँदै

काठमाडौं, पुस १३ गते । पर्यटकीय क्षेत्र ठमेललाई सफा र सुन्दर बनाउन अव्यवस्थित रूपमा तानिएका विद्युत, केबल टेलिभिजन, इन्टरनेट, टेलिफोनका तार तथा उपकरणहरू व्यवस्थापन गर्न सुरु भएको छ ।

ठमेल पर्यटन विकास परिषद्को सक्रियता, नेपाल विद्युत प्राधिकरण र केबल तथा इन्टरनेट सेवा प्रदायकहरूको सहभागितामा ठमेल क्षेत्रलाई सुन्दर बनाउन अव्यवस्थित रहेका तारहरूलाई हटाउने र व्यवस्थापन गर्ने काम अभियानकै रूपमा चलिरहेको छ ।

विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइवर, केबल पोलमा जथाभाबी झुण्डयाइएका उपकरणहरूका कारण पर्यटकीय क्षेत्र ठमेल कुरूप बनेको थियो ।

प्राधिकरणले गत कात्तिकमा आगलागीलगायत विद्युतीय दुर्घटना न्यूनीकरण गरी भरपर्दो विद्युत सेवा उपलब्ध गराउन र सहरी सुन्दरता समेत कायम राख्न दूरसञ्चार, केबल टिभी र इन्टरनेट सेवा प्रदायकहरूलाई आफ्नो संरचना निर्माण/व्यवस्थापन गर्न ४५ दिने समयसीमा दिएको थियो ।

सोहीअन्तर्गत ठमेल क्षेत्रका अव्यवस्थित तार तथा उपकरणहरू हटाउन सुरु गरिएको हो । ठमेल क्षेत्रमा लाइन सफा गर्ने सिलसिलामा ४८ ट्रक अव्यवस्थित र काम नलाग्ने तार तथा उपकरणहरू निकालिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्मालगायत सम्मिलित उच्चस्तरीय टोलीले बुधबार ठमेल क्षेत्रमा तार व्यवस्थापनका लागि भइरहेको कामको अनुगमन गरेको छ ।

कार्यकारी निर्देशक घिसिङले विद्युतको तत्कालका लागि नाङ्गो तारलाई फेर्ने, बाङ्गो र मक्किएका पोलहरु हटाएर राम्रा राम्रो पोलहरु राखी पर्यटकीय क्षेत्र ठमेललाई सफा र सुन्दर बनाउने अभियानमा साथ दिइने बताउनुभयो ।

कार्यकारी निर्देशन घिसिङले भन्नुभयो, ‘‘अव्यवस्थित तारको गुजुल्टोको कारण सहर कुरुप बनेको छ, आगलागी भई धनजनको क्षति भएको छ, हाम्रो सेवा प्रभाह प्रभावित भएको छ, सहरी सौन्दर्य कायम गर्न विद्युतीय दुर्घटनालाई न्यूनीकरणका लागि हाम्रा संरचनामा राखिने विभिन्न सेवा प्रदायकका तार तथा उपकरणहरुका लागि मापदण्ड तयार गरी व्यवस्थापन गर्न लागिएको होे, मुख्य सहरी क्षेत्रको सौन्दर्य कायम गर्न अव्यवस्थित तारलाई व्यवस्थित बनाउने काम देशभरि नै सञ्चालन गरिरहेका छौं ।’’

उहाँले काठमाडौं उपत्यका, पोखरा र भरतपुरमा विद्युतीय संरचनालाई भूमिगत बनाउने काम भइरहेको बताउनुभयो । प्राधिकरणले विभिन्न सेवा प्रदायकका राउटर, अप्टिकल फाइबर वितरण बक्स जस्ता उपकरणहरु पोलको एउटै मात्र भागमा क्रमैसँग मिलाएर नझर्ने, नहल्लिने गरी जडान गरी र सफासँग क्लिप प्रयोग गरी वाइरिङ गर्नुपर्ने व्यवस्था गरेको छ ।

प्रयोगमा नरहेका तार र अन्य उपकरणहरु तत्काल हटाउनुपर्ने छ । पोलहरुमा लुप बनाएर राखिएका तार तत्काल हटाउने र नयाँ तारहरु तान्दासमेत अतिरिक्त लम्बाइका लुप बनाएर पोलमा झुण्डाउन नपाउने व्यवस्था गरिएको छ । सेवा प्रदायकहरुले निजहरुको तार सजिलोसँग छुट्टयाउन सक्ने गरी प्रत्येक पोलमा केबल ट्याग लगाउनुपर्ने छ । पोलमा जडित उपकरणहरुमा समेत मार्किङ गर्नुपर्ने छ ।

सम्भव भएसम्म धेरै कोर भएको केवल तानी बहुसङ्ख्यक सेवा प्रदायकले सहप्रयोग गर्ने गरी सेवा विस्तार गर्नुपर्ने छ । तारहरुलाई सडक वारपार तान्न रोक लगाइएको छ भने तानिएका केवलहरु हटाउनुपर्ने छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter