ईयूको सुरक्षा जोखिम सूचीबाट हट्ने नेपालको अपेक्षा

विष्णु पाण्डेय / काठमाडौं, पुस १६ गते। नेपालको हवाई उड्डयन क्षेत्रबारे अडिट गर्न युरोपेली सङ्घ (ईयु)को टोली नेपाल आउने भएको छ। अबको एक, दुई महिनाभित्रै ईयुको टोली अडिटका लागि नेपाल आउने नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, ‘‘नेपालको हवाई सुरक्षाको अडिटको लागि ईयूको प्राविधिक टोली केही महिनापछि नेपाल आउन लागेको हो। मिति यकिन नभए पनि अर्को महिनाको अन्तिमसम्म टोली आउन सक्छ।’’ केही महिना अघि पनि ईयूको टोली नेपाल आएर नेपालको हवाई सुरक्षाको प्रारम्भिक अध्ययन गरेको थियो। सो क्रममा उक्त टोलीले नेपालले हवाई क्षेत्रमा धेरै सुधार गरेको बताएको थियो। ‘‘ईयूको टोलीले गरेको प्रारम्भिक अध्ययनले मात्र पुग्दैन। अब टोली आएर अडिट गरेपछि मात्र नेपाली आकाश सुरक्षित छ कि छैन भन्ने थाहा हुन्छ’’, उहाँले भन्नुभयो।

टोलीले यसअघि गरेको प्रारम्भिक अध्ययनले नेपालको आकाश सुरक्षित रहेको प्रतिवेदन दिएकाले अब छिट्टै ईयूको प्रतिबन्ध फुकुवा हुने विश्वास गर्न सकिन्छ। ईयुअन्तर्गतको युरोपेली आयोगले सन् २०१३ देखि नेपालको हवाई क्षेत्रमाथि गम्भीर सुरक्षा चासो देखाउँदै आएको छ।

सन् २०१३ बाटै अन्तर्राष्ट्रिय नागरिक उड्ड्यन सङ्गठन (आइकाओ) गम्भीर सुरक्षा चासो (एसएससी) को सूचीमा राखेकोमा सन् २०१७ देखि हटाएको थियो। आइकाओले नेपाललाई गम्भीर सुरक्षा सूचीमा राखेलगत्तै ईयूले नेपालको उडान सुरक्षामा चासो देखाउदै कालो सूचीमा राखेको थियो।

ईयूको टोलीले नेपालको उडान क्षेत्रको कानुनी प्रावधान, दुर्घटनाको अनुसन्धान, व्यवस्थापन र प्राविधिक पक्षको अध्ययन गर्नेछ। आइकाओको अडिट प्रतिवेदनमा नेपाल ग्लोबल एभरेजभन्दा माथि रहेकाले ईयुको टोलीको अडिटपछि सुरक्षा जोखिम सूचीबाट हटेर नेपाल वायुसेवा कम्पनीले युरोप उडान भर्न पाउने निरौलाले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘आइकाओको प्रारम्भिक प्रतिवेदनमा नेपाल एभरेजभन्दा माथि रहेकाले ईयूको टोलीको अडिटपछि सुरक्षा जोखिमबाट हटेर नेपालका वायुसेवा कम्पनीले युरोपमा सिधै उडान गर्न पाउनेछन्।’’ नेपाल आएर हवाई क्षेत्रको अडिट गरेपछि तयार पारेको प्रतिवेदन ईयू सदस्य राष्ट्रको बैठकमा पेश गर्नेछ। बैठकले प्रतिवेदन पारित गरेपश्चात मात्र नेपाल सुरक्षा जोखिमबाट हट्नेछ।

ईयूको बैठक ६–६ महिनामा बस्नेछ। मे महिनामा बस्ने बैठकमा ईयूको अडिट प्रतिवेदन पेश गर्ने अपेक्षा प्राधिकरणले गरेको छ। ईयूको सुरक्षा सूचीका कारण नेपालमा दर्ता भएका अन्तर्राष्ट्रिय जहाज यूरोपको आकाशमा उड्न पाएका छैनन्। अहिले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले यूरोप उडान भर्न पाउँदैनन्। तर यूरोपका जहाजले नेपालको आकाश सहजरुपमा प्रयोग गर्न पाउँछन्। यसअघि सन् २०१३ देखि २०१७ सम्म नेपाली आकाश असुरक्षित भएको भन्दै ईयूले कालो सूचीमा राखेको थियो। सन् २०१७ यता गम्भीर सूचीबाट हटे पनि नेपाललाई ईयूले सुरक्षा चासोयुक्त मुलुकको सूचीमा राखेको छ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter