केही दिनमा समाजवादी मोर्चा बन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, फागुन २७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमा समाजवादी मोर्चा बन्ने र त्यसको जगमा कम्युनिष्ट एकताको पहल गरिने बताउनुभएको छ । शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मधेश प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले पहिला समाजवादी मोर्चा बनाउने र त्यसपछि कम्युनिष्टहरूको बृहत्तर एकताका निम्ति बहस सुरु गरिने बताउनुभयो ।

“जनयुद्ध र जनआन्दोलनका मुद्दा सम्बोधन भई सकेका छैनन्, शान्ति प्रक्रिया टुङ्गोमा पुगिसकेको छैन” प्रधानमन्त्रीले भन्नुभयो, “शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा छ । यसका निम्ति समाजवादी शक्तिहरूको सहकार्य र एकता जरुरी छ ।”

प्रधानमन्त्रीले भन्नुभयो, “माओवादी धाराका कम्युनिष्ट घटकहरूबिच छलफल भइरहेको छ । शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी विषय सत्य निरूपण तथा मेलमिलापको माध्यमद्वारा टुङ्गो लगाउनुपर्छ भन्ने हाम्रो साझा मत छ । भोलि संयुक्त अपिल गर्दैछौँ, पत्रकार सम्मेलन गर्दछौँ । केही दिनमा समाजवादी मोर्चा बन्छ ।”

“संसारमा एकपटक कम्युनिष्ट आन्दोलन पराजित भएपछि उठेर आएका बिरलै दृष्टान्त छन् । चाहे पूर्वी युरोप हेर्नुस्, चाहे पश्चिम बङ्गाल वा अन्य ठाउँको क्रान्ति हेर्नुस्, क्रान्तिले धक्का खाएपछि उठ्न कठिन हुन्छ । नेपालमा पनि हामी चुनौती र सम्भावनाको दोसाँधमा छौँ । बृहत्तर वामपन्थी एकतामार्फत चुनौती छिचोलेर समाजवादको ढोका खोल्नुपर्छ,” प्रधानमन्त्रीले भन्नुभयो ।

“समाजवादी मोर्चा बनेपछि त्यसले कम्युनिष्ट पार्टीहरूको एकताका निम्ति नयाँ आधार सिर्जना गर्नेछ, त्यसको पहल पनि हामी माओवादीहरूले नै लिनुपर्छ” प्रधानमन्त्रीले भन्नुभयो, “एमालेभित्र पनि ठूलो पङ्क्ति वामपन्थीहरूको एकताको पक्षमा छ । हिजोको नेकपा फेरि पुनर्स्थापित गर्नुपर्छ भन्ने मत पनि त्यहाँ छ । त्यो मत क्रान्तिको हितमा छ, कम्युनिष्ट आन्दोलनको हितमा छ । त्यसैले हामीले नै एकताको अग्रसरता लिनुपर्छ ।”

“एमालेको मूल नेतृत्व कम्युनिष्ट एकताको विरुद्धमा छ, नेकपा विभाजित हुँदा हिजो जसले दीपावली गर्‍यो, पार्टी एकता भाँड्यो, त्यो शक्ति र प्रवृत्तिबाहेक एमालेभित्र पनि अधिकांश नेता–कार्यकर्ता फेरि नेकपा चाहिन्छ भन्नेमा छन्,” प्रधानमन्त्रीले भन्नुभयो, “तसर्थ, त्यो प्रवृत्तिलाई पराजित गर्दै हामीले फेरि एकताका निम्ति बहस गर्ने बेला आयो । माओवादी धारा र सच्चा वामपन्थीहरूको एकताका निम्ति हामीले नै नेतृत्व लिनुपर्छ ।”

प्रधानमन्त्री प्रचण्डले ले नेता–कार्यकर्ता जनतामा गएर, उनीहरूको सुझाव लिएर आएपछि नयाँ ढङ्गले समीक्षा गर्ने र त्यसका आधारमा माओवादी केन्द्र अगाडि बढ्ने बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter