नेपालले जोगायो एकदिवसीय मान्यता, विश्वकपबाट दुई खेल टाढा

गाेविन्द रेग्मी / काठमाडौं, फागुन २८ गते । नेपालले आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाएको छ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा आइतबार संयुक्त अरब इमिरेट्स (युएई) लाई एक सय ७७ रनले हराएसँगै नेपालले एकदिवसीय मान्यता जोगाएको हो ।

जितसँगै तालिकाको चौथो स्थानमा उक्लिएको नेपाल अब विश्वकप छनोटबाट दुई खेल मात्र टाढा छ । नेपालको यो एकदिवसीयमा सर्वाधिक ठूलो रनको कीर्तिमानी जित हो । युएईको भने एकदिवसीयमा इतिहासकै कम योगफल हो ।

नेपाललाई विश्वकपमा छनोट हुन अब लिग–२ को अन्तिम तथा पपुवा न्युगिनी (पीएनजी) र युएईविरुद्धको खेल जित्नै पर्ने बाध्यता छ । नेपालले घरेलु मैदानमा तेस्रो खेल सोमबार पीएनजी र अन्तिम खेल चैत २ गते युएईसँग खेल्नेछ ।

जितका लागि दुई सय ४९ रनको लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा सबै विकेटको क्षतिमा ७१ रनमा समेटिएको थियो । युएईका लागि आयान अफ्जल खानले २९ रन बनाउनुभयो । आस्वान्त भाल्टथापाले १४ र कार्तिक मेईयापानले ११ रन बनाउनुभयो ।

बलिङमा नेपालका ललित राजवंशीले पाँच विकेट लिनुभयो । सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र गुलशन झाले एक एक विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ४८ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ७७ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँले सय १२ बलमा नौ चौकाको सहयोगमा उक्त रन बनाउनुभएको हो । उहाँ ‘प्लेयर अफ दि म्याच’ हुनुभयो ।

यस्तै आरिफ शेखले ४३, दीपेन्द्र सिंह ऐरीले ३४, गुलशन झाले ३७ र भीम सार्कीले २९ रन बनाउनुभयो । बलिङमा युएईका आयन अफ्जल खान, जावर फरिद, रोहन मुस्ताफा र जोहोर खानले दुई दुई विकेट लिनुभयो ।

आर्यान लाक्रा र जुनेद सिद्धिकीले एक एक विकेट लिनुभयो । लिग–२ कै अन्तिम सिरिजको रूपमा रहेको यस प्रतियोगितामा विश्वकपमा पुग्न नेपाललाई सबै खेल महत्त्वपूर्ण रहेको छ । नेपाललाई विश्वकपमा स्थान बनाउन अब दुई खेल जित्नुपर्नेछ l

नेपाल, युएई र पपुवा न्युगिनी (पीएनजी) सम्मिलित यस सिरिजमा नेपालले पहिलो खेलमा पीएनजीलाई हराएको थियो । विश्वकप छनोटबाट बाहिरिएको युएईले नेपालसँगको हारसँगै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पनि गुमाएको छ ।

युएईलाई एकदिवसीय मान्यता कायम राख्न नेपाललाई आज हराउनै पर्ने बाध्यता थियो । जितसँगै ३४ खेलबाट ३६ अङ्क बनाएको नेपाल चौथो स्थानमा उक्लिएको छ । युएई ३४ खेलबाट ३१ अङ्क जोड्दै छैटौँ स्थानमा छ । पीएनजी ३४ खेलबाट ११ अङ्कसहित तालिकाको अन्तिममा छ ।

सात टोली सहभागी लिगमा सबै खेल सकेको स्कटल्यान्ड सिरिज च्याम्पियन बन्दै शीर्षस्थानमा छ । यस्तै सबै खेल सकेको ओमान ४४ अङ्कसहित दोस्रो, ३९ अङ्क बनाएको नामिबिया तेस्रो र ३५ अङ्क बनाएको अमेरिका पाँचौँ स्थानमा झरेको छ ।

आइतबार नेपालले युएईलाई हराएपछि अमेरिका पाँचाैँ स्थानमा झरेको हो । नेपालको लगातार जितले तेस्रो स्थानमा रहेको नामिबियालाई झस्काएको छ ।

लिगमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने तीन टोलीले आगमी जुन–जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् । लिग-२ मा सहभागी टोलीलाई एकदिवसीय मान्यता कायम राख्न कम्तीमा पाँचौँ स्थानमा रहनुपर्ने हुन्छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter