‘वैदेशिक लगानीकर्ताको समस्या समाधान गर्न एकल बिन्दु सेवा’

काठमाडौं, फागुन ३० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी लगानीकर्ताका समस्या समाधानका लागि एकल बिन्दु सेवा सुचारु गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

मङ्गलबार नेपाल उद्योग परिसङ्घ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) को संयुक्त आयोजनामा भएको नेपाल–चाइना बिजनेस फोरम २०२३ लाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो ।

उहाँले विदेशी लगानीकर्ताको समस्या समाधानका लागि सरकारले एकल बिन्दु सेवा सुुरु गर्ने विषयमा कानुन बनाएर संसदबाट पारित गर्ने क्रममा रहेको पनि जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले सरकारले विदेशी लगानीकर्तालाई चाँडै नै सबै प्रकारका सेवा एउटै ठाउँबाट प्राप्त गर्ने वातावरण मिलाउने घोषणा गर्नुभयो । उहाँले पूर्वाधार विकासका लागि नेपाललाई ठूलो लगानी र नयाँ नयाँ प्रविधिको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

‘‘हामीलाई पूर्वाधार विकास गर्न ठूलो लगानी र नयाँनयाँ प्रविधिको आवश्यकता छ, चीनले हाम्रो यो आवश्यकता पूरा गर्न सहयोग गर्नेछ भन्ने मलाई विश्वास छ, सरकार अहिले विदेशी लगानीकर्तालाई सहज हुनेगरी वातावरण बनाउन प्रतिबद्ध छ । पछिल्लो समयमा चीन सरकारले प्रतिवद्धता गरेअनुसारको लगानी आउन सकेको छैन, त्यो अरुलाई दोषी दिनुभन्दा हाम्रै सरकारका पोलिसीहरुका कारण हो ।,’’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘ती समस्याको समाधान गर्न पनि हामी लागिपरेका छौँ । दुई देशबीचको व्यावसायिक सम्भावना खोज्न र उजागर गर्नको लागि निजी क्षेत्रको भूमिका प्रशंसनीय रहँदै आएको छ, अबका दिनमा पनि निजी क्षेत्रहरुले दुई देशबीचको व्यवसायलाई प्रवर्धन गर्न त्यत्तिकै भूमिका खेल्नेछ भन्ने मलाई विश्वास छ ।’’

प्रधानमन्त्रीले चीन सरकारले नयाँ प्रविधि र ठूलो लगानी भित्र्याउन सहयोग गर्ने बताउनुभयो । उहाँले चीन सरकारले प्रतिबद्धता गरेअनुसारको लगानी नेपालले नपाउनुमा सरकारको नीति नियम कारक रहेकाले अप्ठ्यारा नीति नियमलाई सहज बनाउँदै धेरैभन्दा धेरै लगानी भित्र्याउन सरकार प्रतिबद्ध रहेको जिकिर गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले नेपालबाट निर्यात हुने आयुर्वेदिक औषधि, तरकारी, चिया, मासुलगायतका उत्पादनलाई सहजै चीनमा निर्यात गर्ने व्यवस्थालाई सहज बनाउनसमेत आग्रह गर्नुभयो ।

‘‘चीन सरकारले पछिल्लो समय पर्यटकका लागि खुला गरेको छ भने आफ्ना देशका नागरिकहरुलाई पनि विदेश जाने अनुमति दिएको छ । हामी छिमेकी देश भएकाले र प्राकृतिक रुपमा पनि नेपाल सुन्दर देश भएकाले नेपालमा चिनियाँ पर्यटकको स्वागतका लागि तयार छौँ ।,’’ उहाँले भन्नुभयो, ‘‘नेपाल र चीनबीच पछिल्लो समय जनस्तरको सम्बन्ध पनि विकास र विस्तार हुँदै गएको छ । यसले आगामी दिनमा दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउने मैले विश्वास लिएको छु ।’’

प्रधानमन्त्री प्रचण्डले नेपाल एक चीन नीतिमा स्पष्ट रहेकाले नेपाली भूमि छिमेकीका विरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा सीसीपीआईटीका उपाध्यक्ष चाङ साओहाङले ६७ वर्षदेखि नेपाल र चीनको सम्बन्ध विस्तार हुँदै आएकाले आगामी दिनमा पनि दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालबाट निर्यात हुने ९८ प्रतिशत सामानलाई चीन सरकारले कर छुटमा आफ्नो बजारमा पहुँच दिएको बताउनुभयो ।

उपाध्यक्ष साओहाङले चीन सरकारले नेपाललाई पनि पर्यटकीय गन्तव्यको रुपमा राखेकाले चिनियाँ नागरिकहरु नेपाल भ्रमण गर्दा अर्थतन्त्र विस्तार हुने विश्वास व्यक्त गर्नुभयो । दुईपक्षीय व्यापार प्रवर्द्धन गर्दै जाने चीन सरकारको नीति भएको बताउनुभयो । उहाँले आफूहरु नेपालमा लगानी र सहकार्यका लागि नयाँ क्षेत्रहरु पहिचान गर्ने काममा लागेको पनि जानकारी दिनुभयो । उपाध्यक्ष साओहाङले आफूहरुले नेपालसँग स्वच्छ उर्जा, प्रविधि र विद्युतका क्षेत्रमा सहकार्य गर्ने सोच बनाएको बताउनुभयो ।

उपाध्यक्ष साओहाङले भन्नुभयो, ‘‘चीन नेपालको राम्रो मित्र हो, विगत ६७ वर्षदेखि नेपाल र चीनबीच दौत्य सम्बन्ध कायम छ । नेपालबाट निर्यात हुने ९८ प्रतिशत सामानलाई चीन सरकारले कर छुट दिई बजारमा पहुँच विस्तार गरेको छ, त्यसले नेपालको निर्यात बढाउन सहयोग पुग्छ, साथै चीनले पर्यटकीय गन्तव्यस्थलको रुपमा नेपाललाई पनि समावेश गरेको छ, यसले पनि नेपालको अर्थतन्त्र थप विस्तार हुनेछ, साथै हामी नेपालमा लगानी र सहकार्यका लागि नयाँ व्यापारिक क्षेत्रहरुको पहिचान गरिरहेका छौँ, स्वच्छ उर्जा, प्रविधि, विद्युतका क्षेत्रमा सहकार्य गर्ने हाम्रो सोच छ ।’’

कार्यक्रममा नेपालका लागि चीनका राजदूत चेन साङले अल्पविकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति भइरहेको नेपाललाई पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘दुई छिमेकी देश चीन र नेपालबीच जनस्तरको सम्बन्धलाई बलियो बनाउनुपर्छ । हामीले दुई देशको व्यापारलाई बढाउँदै जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउन जरुरी छ । जलविद्युत, ट्रान्समिसन लाइन, भौतिक पूर्वाधार निर्माणलगायतका क्षेत्रमा सहयोग गर्ने हामीले एक किसिमको सोच बनाएका छौँ ।’’

राजदूत साङले नेपालीहरुलाई चीन भ्रमण गर्न आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णुप्रसाद अग्रवालले चीन सरकारले नेपाली सीमानाकाहरु खोलेर व्यापारका लागि सहज वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभएको थियो । नेपाल र चीनका व्यापारीहरुबीच सोमवारदेखि छलफल सुरु भएको हो । करिब ४ वर्षपछि नेपाल र चीनका व्यवसायीहरुबीच छलफल भएको हो । बैठकमा सीसीपीआईटीका उपाध्यक्ष चाङ साओहाङसहितको १२ सदस्यीय टोली नेपाल आएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter