• Sunday, April 13, 2025

गोल्ड मेडल प्राप्तिपछि नेपाली चियाको माग बढ्यो

कोकिला ढकाल / इलाम, वैशाख ३ गते । चीनमा नेपाली चियाले ‘गोल्ड मेडल’ पाएको खबरले चियाक्षेत्र तरङ्गित भएका बेला विदेशी मुलुकबाट नेपाली चियाको माग राम्रो हुन थालेको छ । चियाको सिजन सुरु हुँदैगर्दा सिजनको सुरुमै विदेशी व्यापारीहरू नेपाली उद्योगसम्म आउन थालेका छन् ।

तीन वर्ष यता कोभिड सङ्क्रमणले सुस्ताएको नेपाली चियाको विदेशी बजार पुनः राम्रो देखिएको उद्योगीहरूको भनाइ छ । गत महिना चिया मार्केटिङ एसोसिएसन अफ् चाइनाले ‘ब्ल्याक टी’ को गुणस्तर परीक्षणमा इलामकै तीनजुरे सहकारी संस्थाले तयार गरेको ‘पर्ल गोल्डेन टी’ पहिलो भएपछि त्यसको नतिजाले पनि विदेशी चिया पारखीको ध्यान नेपाली चियामा गएको हो ।

विगतदेखि नै चीनतर्फ तयारी चिया पठाउँदैआएका इलामस्थित जसबीरे टी प्रोसेसिङ प्रालिका सञ्चालक शरद सुब्बाले यो वर्ष नेपाली चियाले धान्नै नसक्नेगरी माग आएको बताउनुभयो । ‘यो वर्ष चाइनामा माग राम्रो छ । चीनका व्यापारीहरू पैसा नै बोकेर आइरहेका छन्’ सुब्बाले भन्नुभयो ‘२० हजार किलो नेपाली स्पेसल टी माग छ । त्यति परिमाणमा नेपाली चिया हामी पुगाउन सक्दैनौँ ।’

सुब्बाले आफ्नो उद्योगमा एक हजार पाँच सय किलोमात्र स्पेसल टी उत्पादन हुनेगरेको बताउनुभयो । चीनबाट माग आएअनुसारको ‘गोल्डन पर्ल र सिल्भर टी’ बनाउन एक सुइरोको मात्र र एक सुइरो एक पातको मात्र फरक–फरक हरियो पत्ती आवश्यक पर्छ । यस्तो हरियो पत्तीलाई उचित तापक्रममा फरक–फरक मेशिनबाट रोलिङ गरेर यो किसिमको चिया तयार गरिने सुब्बाको भनाइ छ ।

‘विषेशगरी गोल्डन, गोल्डन पर्ल, सिल्भरजस्ता स्पेसल चियाका पारखी चीनमा धेरै छन् ।’ सुब्बाले भन्नुभयो, ‘यो वर्ष चीन पठाउन अलि सजिलो पनि महसुस गरेका छौँ ।’ वर्षौँदेखि अर्ग्यानिक चिया उत्पादन गर्दैआएका सूर्योदय नगरपालिकास्थित गोर्खा टी स्टेटका सञ्चालक उदय चापागाईँ पनि नेपाली तयारी चियाको माग धान्नै नसकिनेगरी आएको बताउनुभयो ।

‘चाइनामा भएको गुणस्तर परीक्षणमा नेपाली चियाले चौका होइन, छक्का नै हान्यो, छ वटा गोल्ड मेडल पाउनु, चार वटा रजत पदक पाउनु सानोतिनो उपलब्धि होइन, त्यसपछि त विदेशीको ध्यान नेपाली चियाले खिच्यो ।’ चापागाईँले भन्नुभयो, ‘विडम्बना हामीले गुणस्तरीय चिया बनाउनभन्दा परिमाणमा ध्यान दिने हुँदा हामी पछि परेका छौँ । विश्व बजारमा माग भएअनुसारका गुणस्तर दिन सक्ने हो भने नेपाली चियाले अर्थतन्त्रमा राम्रो फड्को मार्न सक्छ ।’

यता, गएको वर्षदेखि चीनसँग चिया पठाउने विषयमा व्यापारिक सम्झौता गर्ने प्रयास गरिरहेको राष्ट्रिय चिया तथा कफी विकास वार्डले व्यापारिक सम्झौताका लागि तयार गरिएको खाकामा हस्ताक्षर मात्र बाँकी रहेको जनाएको छ ।

‘यो वर्ष चीनमा नेपाली चियाको माग अत्यधिक छ । गत महिना भएको प्रतिस्पर्धामा नेपाली चियाले गोल्ड मेडल पाएपछि चीन सरकार बिजनेस टु बिजनेस (विटुवि) सम्झौता गर्न पूर्ण सकारात्मक भएको छ ।’ बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले भन्नुभयो, ‘हामी अब चाँडै त्यो सम्झौता अघि बढाउँछौँ र नेपाली चियाको अर्को बजार स्थापित गर्नैछौं ।’

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter