‘जग्गाको खण्डीकरण र खाद्य सङ्कट बढ्ने’
काठमाडौं, वैशाख ६ गते । सरकारले जग्गा कित्ताकाट खुलाउन गरेको निर्णयप्रति आपत्ति जनाइएको छ । प्रतिनिधि सभाको आजको बैठकमा समय माग गर्दै सांसद सरस्वती सुब्बाले भूउपयोग नियमावली संशोधन गरी जग्गा कित्ताकाट खुलाउने निर्णयप्रति आपत्ति जनाउनुभयो । उहाँले साबिककै अवस्थामा जग्गा कित्ताकाट खुलाउँदा जग्गाको खण्डीकरण र खाद्य सङ्कट बढ्ने बताउनुभयो ।
सांसद रमा कोइराला पौडेलले भारत हुँदै ओमान जान हिँडेका नेपाली महिला मुम्बईमा अलपत्र परेको सम्बन्धमा जानकारी गराउँदै उद्धारका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । साथै, ती महिलालाई विदेशमा कानुनी लडाइँ लड्नुपर्ने भएकाले सहयोग गर्न उहाँले सरकारसँग आग्रह गर्नुभयो ।
सांसद श्यामकुमार घिमिरेले नेपालको निजी क्षेत्रले भारतमा विद्युत् निर्यात गर्न पाउने सहमति भए पनि कानुनी अड्चन देखिएकाले तत्काल त्यस्तो कानुन निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । – रासस
जलविद्युत् उत्पादनको सम्भावनालाई यथार्थमा परिणत गर्न सहयोग गर्छौँ : अध्यक्ष ढकाल
काठमाडौं, वैशाख ६ गते। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको जलविद्युत् उत्पादनको प्रचुर सम्भावलाई यथार्थमा परिणत गर्न निजी क्षेत्रले सहयोग गर्ने बताउनुभएको छ। बुधबारदेखि सुरु भएको ऊर्जा सम्मेलनको समापन कार्यक्रममा उहाँले नेपालमा जलविद्युत् उत्पादनको अथाह सम्भावना रहेको र पछिल्लो समय लगानीको वातावरणमा पनि सुधार हुँदै गएको स्पष्ट पार्नुभयो। अध्यक्ष ढकालले नेपालमा लगानी बढाउन ऊर्जा क्षेत्रका लगानीकर्ताहरूलाई आग्रह गर्नुभयो।
“नेपालमा जलविद्युत्लगायत अन्य ऊर्जा उत्पादनको प्रचुर सम्भावना रहेको छ। सरकारको नीति र प्राथमिकता पनि लगानी सहजीकरण गर्ने छ। हामीसँग नव उदीयमान विश्वका ठूला अर्थतन्त्रहरु छिमेकमै छन्। त्यहाँको बढ्दो बजार र मागलाई सम्बोधन हुने गरी नेपालमा लगानी ल्याउनुहोस्। निजी क्षेत्रको तर्फबाट हामी तपाईँलाई सहजीकरण र सहयोग गर्न तयार छौँ,” उहाँले भन्नुभयो।
नेपालले गत वर्ष भारतमा विद्युत् निर्यात गरी ११ अर्ब रुपैयाँ आर्जन गरेको बताउँदै उहाँले बङ्गलादेशको बजारका लागि पनि सरकारीतहबाट सकारात्मक कुराकानी भइरहेको बताउनुभयो। अध्यक्ष ढकालले नेपाल सरकार तथा अन्य सरोकारवालालाई समेत लगानी बढाउन सहजीकरण गर्न र लगानीको लागि थप वातावरण बनाउन आग्रह गर्नुभयो। रासस