‘बुक फ्रि डे फ्राइडे’ : सीप सिक्न उत्साहित विद्यार्थी

सपना थामी / काठमाडौं, जेठ ८ गते । काठमाडौं महानगरपालिकाले शिक्षामा सीप कार्यक्रम लागू गरेसँगै देशको पहिलो शिक्षण संस्था दरबार हाइस्कुलमा सो बमोजिमको गतिविधि अघि बढेको छ ।

वि.सं. १९१० मा स्थापना भएको दरबार हाइस्कुलमा भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय गरी दुई विद्यालय सञ्चालनमा छन् ।

शुक्रबार सीप सिक्ने शैक्षिक तालिकाअन्तर्गत कक्षा २ मा सामाजिक विषयमा गीत र नाचमार्फत मोटो र पातलो भन्ने शब्दको अर्थ बुझाइँदै थियो । मोटो भन्ने अर्थ बुझाउन हातको बुढी औँला र पातलोका लागि कान्छी औँला देखाउँदै विद्यार्थीसँगसँगै शिक्षिका मेनुका खतिवडा नाचिरहनुभयो ।

उहाँले विगतको परम्परागत पढाइभन्दा ‘बुक फ्रि डे फ्राइडे’ अर्थात् शुक्रबार सीप सिक्न विद्यार्थी निकै उत्साहित भएको बताउनुभयो ।

चित्र बनाउन तथा रङ्ग भर्न कक्षा १ का छात्रछात्रा उत्तिकै खुसी छन् । चित्र बनाउन सिकाउँदै गर्नुभएकी शिक्षिका जयन्ती प्रधानले कुनै किताब बिना नै भएको सिकाइ प्रणाली विगतको भन्दा फरक भएको अनुभव सुनाउनुभयो ।

यस्तै, संस्कृत माध्यमिक विद्यालयमा कक्षा ६ देखि १२ सम्म पढाई हुँदै आएको छ । शुक्रबार सीप सिक्ने शैक्षिक तालिका अनुसार संस्कृत माविको कक्षा ९ का विद्यार्थीले आधारभूत तहको मोबाइल बनाउने तालिम लिँदै आएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का प्रशिक्षकले तालिम दिएका छन् ।

काठमाडौं महानगरपालिकाले शुक्रबार सीप सिक्ने कार्यक्रमअन्तर्गतको तालिका सामुदायिक विद्यालयलाई उपलब्ध गराइसकेको छ । सो बमोजिम ‘शिक्षामा सीप’ अन्तर्गत दरबार हाइस्कुलमा कृषि सम्बन्धी गतिविधि जस्तै बिरुवा रोप्ने, गोडमेल गर्ने, हुर्काउने अभ्यास विद्यार्थीले गर्दै आएका छन् ।

भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक शारदा पौडेलले चल्दै आएको दैनिक क्रियाकलापभन्दा फरक सिकाइ भएकाले कतिपय व्यवस्थापनमा चुनौती रहेको बताउनुभयो । बच्चाहरू, घरमा बनिसकेको खानेकुरा समेत झिकेर खान नसक्ने अवस्थामा पुगेकाले कपाल कोर्ने, दाँत माझ्ने, जुत्तामा पोलिस लाउने जस्ता जीवनउपयोगी सीपहरू सिकाइएको उहाँले बताउनुभयो ।

भानु र संस्कृत दुवै विद्यालयमा स्थानीय नेपाल भाषाको पढाइ पनि हुँदै आएको छ । शुक्रबार सीप सिकौँ कार्यक्रम लागू भएपछि नेपाल भाषा पनि फरक एवम् रमाइलो किसिमले पढाइ भएको छ ।

भानु माविमा करिब छ सय र संस्कृत माविमा पाँच सयको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् । संस्कृत माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक निश्चल अधिकारीले महानगरले आर्थिक वर्ष २०७९/८० मा ९० वटा सामुदायिक विद्यालयमध्ये दरबार हाइस्कुलका दुई र कन्या मन्दिर माध्यमिक विद्यालय गरी तीन वटा विद्यालयलाई नमुना विद्यालय घोषणा गर्‍यो । उहाँले नमुना विद्यालयअन्तर्गत ३० लाख बजेट विनियोजन भएको बताउनुभयो । सोही बजेटबाट संस्कृत माविमा भने यसअघि ‘विद्यालय करेसाबारी’ कार्यक्रम सञ्चालन भएको उहाँको भनाइ छ ।

अहिले कक्षा ९ का विद्यार्थीले जुन विषयको तालिम लिएका छन्, कक्षा १२ सम्म सोही तालिमलाई निरन्तरता दिइने जनाइएको छ । कक्षा ९ देखि १२ सम्मको तालिमको प्रमाणीकरण सिटिईभिटीबाट हुनेछ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter