• Sunday, April 13, 2025

टेलिकमलाई गुणस्तर र सेवा वृद्धिमा केन्द्रित हुन मन्त्री शर्माको आग्रह

काठमाडौं, जेठ २० गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिकमलाई टेलिकमलाई गुणस्तर र सेवा वृद्धिमा केन्द्रित हुन आग्रह गर्नुभएको छ । मन्त्रालय, नेपाल टेलिकम सञ्चालक समिति र टेलिकमका उच्च अधिकारीहरु सम्मिलित अन्तर्क्रियालाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले सेवा र राजश्व वृद्धिमा ध्यान केन्द्रित गर्न पनि निर्देशन दिनुभयाे ।

नेपालका धेरै क्षेत्रमा नकारात्मक सूचक रहेको बेला टेलिकमले सकारात्मक नतिजा दिइरहेको भए पनि अब यतिमा मात्रै सन्तुष्टि लिने अवस्था नरहेकाले गुणस्तर र सेवा वृद्धिका योजना बनाउन उहाँले आग्रह गर्नुभयो । ‘१८ घण्टा लोडसेडिङ हुने देश विद्युत निर्यात गर्ने अवस्थामा कसरी पुग्यो ?

मन्त्री शर्माले भन्नुभयो– ‘तत्कालीन राजनीतिक नेतृत्व र विद्युत प्राधिकरणको नेतृत्वको उचित योजनाका कारण उmर्जा क्रान्ति सम्भव भयो, हामीले हरेक निकायलाई यसरी नै नयाँ सोंचसहित अघि बढाउन आवश्यक छ ।’

नेपाल टेलिकममा कार्यरत हरेक जनशक्तिले सेवा सुधारमा नै सन्तुष्टि देख्ने वातावरण बनाउनुपर्ने उहाँले बताउनुुभयो ।

उहाँले भन्नुुभयो–‘‘‘हामी यस्तो वातावरण बनाऔं कि नेपाल टेलिकममा महत्वपूर्ण जीवन बिताएर अन्तिममा विदाइ हुँदै गर्दा हरेक कर्मचारीले मेरो योगदानका कारण नेपालमा सञ्चार क्रान्ति भयो भनेर गर्व गर्न सकून् । तपाइँहरुको सकारात्मक काममा सरकारको सधैँ साथ रहन्छ, गलत कामका लागि कुनै दबाब दिइने छैन ।’’

नेपाल टेलिकम कम्पनी भएकाले आफ्नो आम्दानी बढाउनुपर्ने र सरकारी लगानीको संस्था भएकाले राष्ट्रको सञ्चारको रुपमा योगदान गर्ने दुबै भूमिका रहेको औँल्याउँदै मन्त्री शर्माले परम्परागत सोंच त्यागेर थोरै लगानीमा धेरै प्रतिफल दिने कार्यक्रम बनाउन आग्रह गर्नुभयो ।

ग्राहक सेवा केन्द्रको पुनर्संरचना गर्न आग्रह गर्दै उहाँले ग्राहकसँग मीठो व्यवहार गर्ने र ग्राहकको गुनासो तत्काल सुनेर सम्वोधन गर्ने कामलाई प्राथमिकता दिन पनि निर्देशन दिनुभयो ।

आफू मन्त्री भएपछि पहिलो निर्णयको रुपमा ‘हाइवे कनेक्टिभिटी’को योजना अघि सारेको स्मरण गराउँदै उहाँले अबको केही समयभित्रै राजमार्गको सबै क्षेत्रमा फोन र इन्टरनेटको पहुँच स्थापित गर्न आग्रह गर्नुभयो । ‘सामान्य अवस्थामा पनि यात्राका बेलामा सबैभन्दा बढी सञ्चार सम्पर्क गर्नु आवश्यक हुन्छ, त्यसमा पनि दुर्घटना, विरामी आदिका लागि राजमार्गको सबै क्षेत्रमा सञ्चार सम्पर्क आवश्यक हुन्छ’– मन्त्री शर्माले भन्नुभयो– ‘दैनिक हजारौं गाडी चल्ने राजमार्गमा लाखौं यात्रुले सेवा पाउने र उनीहरुले ब्यापार पनि बढाउने भएकाले हाइवे कनेक्टिभिटी टेलिकमको महत्वपूर्ण परियोजनाको रुपमा अघि बढ्नुपर्छ, यसको शीघ्र नतिजाको अपेक्षा गरेको छु ।’

आफूहरु सामान्य दिन कटाउने हिसाबले नभई देशलाई नयाँ अभियानमा अघि बढाउने उद्देश्यका साथ सरकारमा आएकाले सरकारले नियमित प्रगतिको रिपोर्ट कार्ड सार्वजनिक गर्ने तयारी गरिएको उल्लेख गर्दै उहाँले टेलिकमलगायत आफ्नो मन्त्रालय माताहतका सबै निकायले मन्त्रालयमा नियमित प्रगतिको रिपोर्ट कार्ड देखाउनुपर्ने बताउनुभयो ।

टेलिकमलाई पूर्ण डिजिटलाइजेसन गर्दै हरेक शाखामा कार्यदलहरु बनाएर निश्चित समय तोकेर सुधारलाई अभियानकै रुपमा अघि बढाउन पनि मन्त्री शर्माले निर्देशन दिनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष कृष्णबहादुर राउतले सेवा र गुणस्तरलाई नयाँ ढंगले अघि बढाउन आग्रह गर्नुभयो ।

टेलिकमले अघि सार्न खोजेको ‘भिजन २०३०’लाई निर्णय प्रक्रियामा लगिने उल्लेख गर्दै उहाँले दूरसञ्चार विधेयकलगायतका आवश्यक कानुन परिमार्जन गर्न मन्त्रालयले गृहकार्य गरिरहेको पनि बताउनुभयो ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले राष्ट्रको सञ्चारको रुपमा रहेको टेलिकमको गुणस्तर र सेवा बृद्धि गर्दै लैजाने बताउनुभयो । अबको सेवा डेटामा केन्द्रित भएकाले ग्राहकको चाहनाअनुसार सेवा थप्दै लैजाने र ग्राहक सेवा केन्द्रलाई आगामी असारभित्र पूर्णरुपमा सुधार गरिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

दुई दिनसम्म चलेको अन्तर्क्रियामा दूरसञ्चार क्षेत्रका विश्वब्यापी प्रवृत्ति र टेलिकममा गर्नुपर्ने सुधारका बारेमा विज्ञ भुपेन्द्र भण्डारी, भिजन २०३० बारे प्रबन्धक वृजेश शर्मा, नीति कार्यक्रम र बजेटबारे प्रबन्धक शोभन अधिकारी, सेवा र मर्मत सुधारबारे प्रबन्धक शालिग्राम पराजुली, बजार र ब्यापार विस्तारबारे प्रबन्धक रिना डंगोललगायतले आधारपत्र प्रस्तुत गर्नुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter