मेलम्चीमा जोखिम कायमै

भउचप्रसाद यादव / काठमाडौँ, जेठ २३ गते । मेलम्ची क्षेत्रमा बाढीपहिरोबाट हुन सक्ने क्षतिको सम्भावना यस वर्ष पनि कायमै छ । भीषण वर्षाका कारण मेलम्ची खोलामा आएको बाढीपहिरोले सो क्षेत्रमा क्षति पु-याएको दुई वर्ष पुग्न लाग्दा पनि सो क्षेत्रमा बाढीपहिरोको रोकथाम तथा सोबाट हुन सक्ने जिउधनको क्षति रोक्न कुनै उपाय अपनाइएको पाइएको छैन । दुई वर्षअघि २०७८ असार १ र साउन १६ गते मेलम्ची खोलामा आएको बाढीले सो क्षेत्रमा ठुलो जनधनको क्षति पु-याएको थियो ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले मेलम्ची खोला र सो क्षेत्रमा आउन सक्ने बाढीपहिरोको रोकथाम तथा जोखिमबाट बच्न कुनै उपाय नअपनाइएको बताउनुभयो । हेलम्बु गाउँपालिका बाढीपहिरोको सबैभन्दा बढी जोखिममा रहेको स्थानीय तह हो ।

यस क्षेत्रका बासिन्दा जोखिम र त्रासमा नै बाँच्नु परेको गुनासो गर्दै शेर्पाले आमनागरिकको जिउधनको क्षति हुन नदिन बेलैमा बाढीपहिरोबाट यस क्षेत्रलाई बचाउने गरी आवश्यक संरचना निर्माण गरिदिन सङ्घीय र प्रदेश सरकारलाई पटक पटक आग्रह गरिए पनि अहिलेसम्म सुनुवाइ नभएको बताउनुभयो ।

भूगर्भ तथा खानी विभागका भूगर्भविद् शिव बाँस्कोटाले बाढीपहिरो आएको ठाउँमा कुनै पनि रोकथाम तथा पूर्वतयारी नगरिएकाले यो वर्षको वर्षायाममा पनि बाढीपहिरोको जोखिम कायमै रहेको बताउनुभयो । मुलुकमा मनसुन भित्रिन अब एक हप्ता मात्र बाँकी रहँदासमेत कुनै तयारी नगरिएको उल्लेख गर्दै उहाँले मेलम्ची क्षेत्रमा बाढीपहिरोको विपत् अहिलेसम्म नटरेको बताउनुभयो ।

“भेम्बाथानको माथिबाट आउने पहिरो रोक्न सकिन्छ तर सो क्षेत्रभन्दा तल पनि पहिरो जान सक्ने थुप्रै स्थान पहिचान भएका छन्,” उहाँले भन्नुभयो, “यो वर्ष पहिरो जान सक्छ । पहिरो जान सक्ने स्थानको पहिचान गरिए पनि दुई वर्षको अवधिमा अहिलेसम्म रोकथामको कुनै उपाय अपनाउन सकिएको छैन ।”

उहाँले यस वर्ष पनि छोटो समयको अन्तरालमा ठुलो पानी प-यो भने मेलम्ची खोलाको तल्लो तटीय क्षेत्र र मेलम्ची खानेपानी आयोजनामा नै ठुलो क्षति पुग्न सक्ने सम्भावना कायमै रहेको बताउनुभयो । जोखिम घटाउने वा रोकिने कुनै उपाय नअपनाइएकाले सो क्षेत्र र बस्ती पनि पहिले जस्तै जोखिममै रहेको उहाँको भनाइ छ ।

सिन्धुपाल्चोकको भेम्बाथान क्षेत्रमा गरिएको भौगर्भिक अध्ययन अनुसार मेलम्ची क्षेत्रमा फेरि पनि बाढी आउन सक्ने आकलन गर्दै मेलम्ची खोला आसपासका बस्ती स्थानान्तरण गर्न सुझाएकोमा अहिलेसम्म त्यसो गरिएको छैन । त्यसैगरी अध्ययनले मेलम्ची खानेपानी आयोजनाको बाँधलाई समेत अहिलेको ठाउँबाट माथि सार्न सुझाव दिए पनि अहिलेसम्म त्यसो नगरिएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बाढीपहिरोको सम्भावित जोखिमबाट आयोजनालाई बचाउन अहिलेसम्म कुनै ठोस उपाय नअपनाइएको स्वीकार्नुभयो । उहाँले बाढीको समयमा आयोजनाको गेट नं. १ र ९ लाई बन्द गर्न सकिने तथा धमिलो पानीलाई सफा गर्न सकिने प्रणाली जडान गरिए पनि आयोजनाको मुहान, हेडवक्र्स र सुरुङसम्म बाढीपहिरोलाई आउन नदिने गरी अहिलेसम्म कुनै तयारी नगरिएको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter