• Sunday, April 13, 2025

‘खप्तडलाई पर्यावरणमैत्री पर्यटकीय र आध्यात्मिक केन्द्र बनाउँछौँ’

डिलबहादुर सिंह / प्रकाशविक्रम शाह : बाजुरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खप्तडलाई सुदूरपश्चिमका लागि मात्र नभई देशकै पर्यावरणमैत्री, पर्यटकीय आध्यात्मिक केन्द्रको रुपमा विकास गर्ने बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले तीन दिने प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको आज उद्घाटन गर्नुहुँदै खप्तड विकासका लागि सबै क्षेत्रको सहयोग आवश्यक भएको चर्चा गर्नुभयो ।

उहाँले नयाँ पर्यावरणमैत्रीसहित खप्तडको नयाँ संरचनाको विकास गर्न विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भइसकेको जानकारी गराउनुभयो । यो सम्मेलन सफल भइसकेको छ, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यहाँ अमेरिका, इजरायल, भारतजस्ता देशका दूतावासबाट प्रतिनिधिहरु जसरी खप्तड आउनुभएको छ, त्यसले यस क्षेत्रको महत्वलाई अन्तर्राष्ट्रियरुपमा स्थापित गराएको छ ।” खप्तडलाई पर्यटनको केन्द्र र अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्र बनाउनुपर्छ उहाँले भन्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले पहिलेभन्दा अहिले अलि फरक तरिकाले सुदूरपश्चिमको विकासमा ध्यान केन्द्रित गर्ने बताउनुभयो । “म यहाँका जनप्रतिनिधि र जनसमुदायलाई भन्न चाहन्छु चाहे यहाँ विश्वविद्यालय स्थापना गर्ने सम्बन्धमा स्वास्थ विज्ञान विश्वविद्यालय स्थापना गर्ने घोषणा र क्याबिनेटबाट गरिएको निर्णय होस्, या दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण गर्न अहिले भर्खर भारतसँग भएको सहमति होस् । सुदूरपश्चिम क्षेत्रको विकास नगरेसम्म देश समृद्ध हुन सक्दैन ।”

उहाँले नेपाल सांस्कृतिक विरासत र वैभव तथा आध्यात्मिक दृष्टिकोणले विश्वकै अब्बल देश भएको चर्चा गर्नुभयो । नेपालमा हजारौं प्राकृतिक तथा सांस्कृतिक सौन्दर्यका स्थलहरु रहेको उहाँको भनाइ छ । पूर्वमा पाथीभरादेखि पश्चिममा बडिमालिकासम्म हजारौँ त्यस्ता ठाउँ छन् जसको विकासले हामीले पर्यटनमा रेकर्ड बनाउन सक्छौं उहाँले भन्नुभयो ।

परराष्ट्रमन्त्री एनपी साउदले अन्तर्राष्ट्रिय समुदायलाई खप्तडमा लगानी गर्न आग्रह गर्नुभयो । योगगुरु रामदेवले खप्तडको पर्यटन प्रबर्धन गर्न आफूले सकेजति निःशुल्क रुपमा प्रचारप्रसार गर्ने बताउनुभयो ।

आचार्य बालकृष्णले जीवनमा एक पटक खप्तड हेर्न आउनैपर्ने बताउनुभयो । “जिउँदै स्वर्ग हेर्नुछ भने खप्तड आउनुस्, खप्तड धेरै सुन्दर छ पतन्जली योगपिठको सहयोग हुन्छ” उहाँले भन्नुभयो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन आयोजक मूल समारोह समितिका संयोजक कमलबहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रदेश प्रमुख देवराज जोशी, सभामुख भीमबहादुर भण्डारी, नेकपा (एमाले) का नेता डा. भीमबहादुर रावल, नेपाली काँग्रेसका नेता रमेश लेखकलगायतको उपस्थिति थियो ।

सो सम्मेलन सुदूरपश्चिम प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, खप्तड पर्यटन विकास तथा व्यवस्थापन समिति र स्थानीय तहले संयुक्त रुपमा आयोजना गरेका हुन । खप्तडको धार्मिक, आध्यात्मिक र सांस्कृतिक पक्ष संरक्षण गर्न सम्मेलनको आयोजना गरिएको हो ।

खप्तड बाबाले ५० वर्ष साधना गरेको खप्तडलाई पर्यटकीय हिसावले ‘भर्जिन’ क्षेत्र मानिन्छ । आध्यात्मिक सम्मेलनपछि खप्तडमा भारतीय र तेस्रो मुलुकका पर्यटक बढ्ने विश्वास गरिएको छ ।

ठूला पाटन (चौर), पाटनभरी फैलिएका रङ्गीबिरङ्गी फूल, दह, जीवजन्तु र हिमालको प्राकृतिक सौन्दर्यले सुशोभित खप्तडबारे स्कन्द पुराणमा समेत चर्चा गरिएको पाइन्छ । खप्तड आध्यात्मिक, धार्मिक र प्राकृतिक वासस्थानको हिसाबले पनि त्यत्तिकै महत्वपूर्ण छ । धार्मिक किंवदन्तीअनुसार पाण्डुपुत्र युधिष्ठिर खप्तडको बाटो हुँदै स्वर्ग गएको विश्वास गरिन्छ ।

त्रिवेणीधाम, केदारढुङ्गा, नागढुङ्गा, खप्तड दह, खप्तड आश्रम, सहस्रलिङ्ग, खप्तड बाबाको कुटीजस्ता पवित्र धार्मिक सम्पदाले यहाँको धार्मिक गरिमालाई थप उचाइ दिएको छ । २२ पाटन, २५ मैदान र ५२ वटा थुम्का (झोती) ले भरिपूर्ण जैविक विविधताको फूलबारी खप्तड सयौँ प्रजातिका चरा, ३७२ प्रजातिका वनस्पति र १३० थरिका जडीबुटीले भरिपूर्ण छ ।

समुद्री सतहबाट तीन हजार दुई सय मिटरको उचाइमा झन्डै २२५ वर्ग किलोमिटरमा फैलिएको खप्तड क्षेत्रमा सदियौँदेखि लाग्ने विविध सांस्कृतिक मेलामध्ये गङ्गादशहरा, जनैपूर्णिमामा हजारौँ तीर्थयात्री त्यहाँ पुग्नेगरेका छन् । खप्तड घुम्नका लागि जेठ, असारदेखि मङ्सिरसम्मको समय उपयुक्त मानिन्छ ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter