• Sunday, April 13, 2025

एमडीएमएस कार्यान्वयनमा सहयोग गर्न मोबाइल व्यवसायीलाई सञ्चारमन्त्रीको आग्रह

भक्तपुर, जेठ २७ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा सरकार कडाइका साथ लागेको भन्दै यसमा सहयोग गर्न मोबाइल व्यवसायीलाई आग्रह गर्नुभएको छ।

मन्त्री शर्माले कर छली हुन नदिन ल्याइएको प्रणाली कार्यान्वयनमा सहयोग गर्ने व्यवसायीका हितमा सरकार सहयोग गर्न सधैँ तत्पर रहेको बताउनुभयो। नेपाल मोबाइल व्यवसायी महासङ्घको दोस्रो साधारणसभामा उहाँले भन्नुभयो, “मोबाइल मनोरञ्जनको साधन मात्र नभई अत्यावश्यकीय साधन बनिसकेको छ, २०६३ पछि बनेको सरकारका सञ्चारमन्त्री कृष्णबहादुर महरा हुँदा ल्याइएको ‘हातहातमा मोबाइल, घरघरमा इन्टरनेट’ अभियानलाई मूर्त रूप दिँदै वर्तमान सरकार ‘फेसलेस गभर्नेन्स’ तर्फ उन्मुख भइसकेको छ।”

मन्त्री शर्माले मोबाइल आयातलाई भन्दा बिग्रेका मोबाइललाई पुनः प्रयोग गर्न सक्ने खालको उद्योग मुलुकभित्रै सञ्चालन गर्न व्यवसायीलाई आग्रह गर्नुभयो। उहाँले त्यस्ता उद्योग सुरु भए रोजगारी बढ्ने र स्वदेशी मुद्रा बाहिरिन न्यूनीकरण हुने भएकाले ती व्यवसायीलाई राज्यले उचित नीतिगत सहयोग गर्न कूल बजेटको एक प्रतिशत रकम लगानी गर्ने सरकारको नीति रहेको बताउनुभयो।

नेपाल मोबाइल व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष भरत भट्टराईले हरेक वर्ष ४० अर्बभन्दा बढी राजस्व उठाउने र ५० हजारभन्दा बढी रोजगार प्रदान गरिरहेका मोबाइल व्यवसायी यतिबेला सङ्कटपूर्ण अवस्थाबाट गुज्रिरहेको बताउनुभयो छ।

मोबाइल बिक्रीमा अत्यन्तै कम ‘मार्जिन’ रहेको, अनलाइन तथा अफलाइनका नाममा अव्यावसायिक प्रतिस्पर्धा बढेको र मोबाइललाई बिलासिताको वस्तुका रूपमा हेरिएका कारण आयातमा कडाइ भइरहेको अवस्थाले व्यवसायी सङ्कटमा पुगेको उहाँको भनाइ थियो।

अध्यक्ष भट्टराईले राज्यलाई कर तिरेको अनुपातका आधारमा पेशागत तथा सामाजिक सुरक्षाको ग्यारेन्टी गरिदिन सरकारसँग माग गर्नुभयो। उहाँले स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्न सरकारलाई सहजीकरण गर्ने बताउनुभयो।

आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले विभाग र महासङ्घको सहकार्यमा व्यवसायीलाई करसम्बन्धी विषयमा सचेतना जगाउँदै अनावश्यक झन्झटबाट मुक्ति दिने प्रतिबद्धता जनाउनुभयो।

ललितपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष विश्वराज बज्राचार्यले समाज रूपान्तरणमा मोबाइलले महत्त्वपूर्ण भूमिका निर्वाह गरे पनि त्यही व्यवसायबाट बाँच्ने व्यवसायी समस्याग्रस्त रहेको सुन्दा दुःख लागेको बताउनुभयो।

मोबाइल व्यवसायी महासङ्घका महासचिव रमेशकुमार घिमिरे र कोषाध्यक्ष सन्तोष घिमिरेले महासङ्घको गत आर्थिक वर्षको साङ्गठनिक तथा आर्थिक प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो। कार्यक्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत, विभिन्न मोबाइल आयातकर्ता कम्पनीका प्रमुखका साथै मुलुकभरका मोबाइल व्यवसायीको प्रतिनिधिमूलक सहभागिता रहेको थियो।रासस

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter