अर्थतन्त्रमा सुधारको सङ्केत
काठमाडौँ, जेठ २७ गते । बाह्य क्षेत्रको दबाबले विगत डेढ वर्षयता चापमा परेको अर्थतन्त्रमा सुधारका सङ्केत देखिन थालेका छन् । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को १० महिना (वैशाख) सम्मको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले मुद्रास्फीति, विपे्रषण, चालु खाता तथा शोधनान्तर स्थितिमा सुधार आएको उल्लेख गरेको हो ।
प्रतिवेदन अनुसार वैशाखमा उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत रहेको छ जुन् २०७९ वैशाखमा ७.८७ प्रतिशत थियो । एक वर्षको अन्तरमा मुद्रास्फीति केही घटेको पाइएको हो । त्यस्तै वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.५४ प्रतिशत र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८९ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । खाद्य समूह अन्तर्गत सबैभन्दा धेरै मरमसलाको २६.६१ प्रतिशत र गैर खाद्य समूह अन्तर्गत मनोरञ्जन तथा संस्कृति उपसमूहको सबैभन्दा धेरै १५.७५ प्रतिशतले मूल्यवृद्धि भएको छ । क्षेत्रगत हिसाबले काठमाडौँ उपत्यकामा ७.६८ प्रतिशत, तराईमा ७.१५ प्रतिशत, पहाडमा ७.५७ र हिमालमा ७.१२ प्रतिशत मुद्रास्फीति रहेको छ ।
विप्रेषण १० खर्ब नाघ्यो
समीक्षा अवधिमा नेपाल भित्रने विप्रेषणमा उल्लेख्य वृद्धि भएको छ । राष्ट्र बैङ्कका अनुसार वैशाखसम्म विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेर १० खर्ब पाँच अर्ब १८ करोड पुगेको छ । अघिल्लो आवको वैशाखसम्म आप्रवाह ०.५ प्रतिशतले मात्र बढेको थियो । अमेरिकी डलरमा भने विपे्रषण १३.४ प्रतिशतले बढेर सात अर्ब ७० करोड डलर पुगेको छ ।
समीक्षा अवधिमा खुद सेवा आय घाटामा रहे पनि अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने कम छ । प्रतिवेदन अनुसार वैशाखसम्म खुद सेवा आय ५७ अर्ब ७४ करोड रुपियाँले घाटामा छ जबकी अघिल्लो आवको सोही अवधिमा यस्तो आय ८८ अर्ब १८ करोड रुपियाँले घाटामा थियो ।
सेवा खाता अन्तर्गत विदेशी नागरिकले नेपाल भ्रमणबापत हुने आय ९३.८ प्रतिशतले बढेर ५१ अर्ब ८८ करोड रुपियाँ पुगेको छ । २०७९ वैशाखमा यस्तो आय २६ अर्ब ७७ करोड रुपियाँ थियो । नेपालीले विदेश भ्रमणबापत गर्ने खर्च भने बढेर एक खर्ब दुई अर्ब नाघेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ७५ अर्ब ७३ करोड रुपियाँ थियो ।
बचतमा शोधनान्तर
विपे्रषणमा आएको वृद्धिले शोधनान्तर स्थिति बचतमा पुगेको छ । वैशाखसम्म नेपालबाट बाहिरिनेभन्दा भित्रने रकम अर्थात् शोधनान्तर अवस्था दुई खर्ब १४ अर्ब ६७ करोड रुपियाँले बचतमा छ । जुन गत आवको वैशाखसम्म दुई खर्ब ८८ अर्ब ५० करोड रुपियाँले घाटामा थियो । नेपाल र अन्य देशबिच हुने कारोबारको हिसाबकिताब राखिने चालु खाता भने ५४ अर्ब ६७ करोड रुपियाँले घाटामा छ । वैशाखसम्म चालु खाता ५४ अर्ब ६७ करोड रुपियाँले घाटामा देखिन्छ । यद्यपि गत आवको वैशाखसम्मको तुलनामा चालु खाता घाटामा धेरै नै सुधार आएको देखिन्छ । गत वैशाखसम्म चालु खाता पाँच खर्ब ४५ अर्ब छ करोड रुपियाँले घाटामा थियो ।
विदेशी मुद्रा सञ्चिति सहज
बढ्दो आयातका कारण विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि दबाब भोग्न सुरु गरेको अर्थतन्त्र अहिले भने सहज अवस्थामा पुगेको छ । राष्ट्र बैङ्कका अनुसार २०७९ असार मसान्तको तुलनामा २०८० वैशाखसम्म विदेशी मुद्रा नेपाली रुपियाँमा २०.९ प्रतिशतले वृद्धि भई १४ खर्ब ७० अर्ब ३३ करोड रुपियाँ पुगेको छ । अमेरिकी डलरमा भने १७.६ प्रतिशतले वृद्धि भई ११ अर्ब २१ करोड डलर कायम भएको छ । १० महिनासम्मको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको सञ्चितिले ११.२ महिनाको वस्तु आयात र ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैङ्कले जनाएको छ ।