• Thursday, May 15, 2025

विधानअनुसार महाधिवेशन गर्न एनआरएनएलाई आग्रह

काठमाडौँ, असार ३ गते । परराष्ट्रमन्त्री एनपी साउदले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लाई विधानअनुसार महाधिवेशन गर्न आग्रह गर्नुभएको छ । एनआरएनएको संस्थापन पक्ष र १०औँ महाधिवेशनमा असन्तुष्ट भएको पक्षका प्रतिनिधिहरुलाई उहाँले आज विधानअनुसार महाधिवेशन गर्न आग्रह गर्नुभएको हो ।

परराष्ट्र मन्त्रालयमा आज संयुक्त रुपमा आउनु भएका दुवै पक्षका प्रतिनिधिहरुलाई मन्त्री साउदले विधान स्पष्ट बनाएर महाधिवेशनमा जान सुझाव दिनुभयो । “हाम्रो स्पष्ट सोच छ । पहिला तपाईंहरुको विधान क्लियर हुनुपर्‍यो ”, साउदले भन्नुभयो, “विधानअनुसार एउटा प्रक्रियाले मान्छे छनोट हुन्छ । कोही हार्छ कोही जित्छ ।”

उहाँले परराष्ट्र मन्त्रालय र एनआरएनएबीचको सम्बन्ध स्पष्ट र विवादरहित हुनुपर्नेमा जोड दिनुभयो । “तपाईंहरु र हाम्रो सम्बन्ध विवादग्रस्त हुन हुन्न”, मन्त्री साउदले भन्नुभयो, “हामीले भोलि कुनै पनि निर्णय गर्दा तपाईंहरुको विधान बमोजिम हामीले त्यसमा एक्सन गर्ने हो ।”

मन्त्री साउदले कुनै पनि संस्थालाई नियन्त्रणमा राख्ने प्रवृत्ति र संस्थामा नियन्त्रण नहुँदा समानान्तर रुपमा गतिविधि गर्ने प्रवृत्ति दुवै घातक भएको पनि एनआरएनएका प्रतिनिधिहरुलाई स्मरण गराउनुभयो ।

“संस्थालाई पूर्णतया नियन्त्रण राखिराख्ने प्रवृत्ति या संस्थामा नियन्त्रण भएन भने म समानान्तर रुपमा जान्छु भन्ने प्रवृत्ति दुवै घातक छन्”, परराष्ट्रमन्त्री साउदले भन्नुभयो, “त्यसको समाधान गर्ने तरिका के हो भने विधान र प्रक्रियालाई सबैले स्वीकार गर्नुपर्छ ।”

मन्त्री साउदले दुवै पक्षलाई मिलेर आउनसमेत सुझाउनुभयो । “स्वीकार्यताको कुरा तपाईंहरु ल्याउनूस् । जुन तपाईंहरुले भन्नुभएको छ, त्यो मुद्दा (अदालतमा विचाराधीन) फिर्ता गरिदिनुस्”, उहाँले भन्नुभयो ।

परराष्ट्रमन्त्री साउदसँगको भेटमा एनआरएनएका कार्यकारी अध्यक्ष डा बद्री केसीले दुवै पक्षबीच आइतबार मात्रै एकताका लागि सहमति भएको जानकारी गराउनुभएको थियो । उहाँका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा दुवै पक्षबीच एकता गर्ने सहमति भएको हो ।

कार्यकारी अध्यक्ष केसी, उपाध्यक्ष आरके शर्मा र असन्तुष्ट भएको समूहबाट विनोद कुँवर तथा दुवै पक्षबाट गठित उच्चस्तरीय वार्ता समितिका संयोजकहरु डिबी क्षेत्री र जानकी गुरुङबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

परराष्ट्रमन्त्री साउदलाई वाचन गरेर सुनाइएको सहमति पत्रमा आगामी अक्टोबरमा हुने ११औँ महाधिवेशन सहमति, सहकार्य र एकताको सन्देशसहित आयोजना हुने उल्लेख थियो । जसका लागि दुवै पक्षका प्रतिनिधिहरु रहने गरी एक उच्चस्तरीय अनुगमन समिति गठन गरिने छ ।

उक्त समितिले सदस्यता वितरण, महाधिवेशन प्रतिनिधि छनोट र राष्ट्रिय तथा अन्तरराष्ट्रिय समन्वय परिषद्को निर्वाचनको अनुगमन गर्नेछ । एनआरएनएले विधान संशोधनलाई परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिनुपर्ने व्यवस्था छ ।

मन्त्री साउदसँगको भेटवार्तामा गैरआवासीय नेपाली सङ्घका तर्फबाट संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, कार्यकारी अध्यक्ष डा बद्री केसी, उपाध्यक्ष आरके शर्मा, महासचिव डा केशव पौडेल, उपमहासचिव गणेश केसी, सचिवद्वय गोविन्द गौतम, खगेन्द्र न्यौपाने, पूर्वसंस्थापक अन्तरराष्ट्रिय संयोजक भीम उदास, एनसिसी अमेरिकाका कोषाध्यक्ष राजीव श्रेष्ठ, एनसिसी युकेकी रोजिना प्रधान, विनोद कुँवर, जानकी गुरुङ, प्रमुख कार्यकारी अधिकृत रविकिरण अधिकारीलगायतको उपस्थिति रहेको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter