• Saturday, May 24, 2025

देशभर ११ प्रतिशत रोपाइँ : भात खाने बानीले चामल आयात बढ्यो

विष्णु पाण्डेय / काठमाडौं, असार १५ गते। मध्यअसार हुँदासम्म देशभर ११ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ। असारलाई धान रोप्ने मुख्य महिनाका मानिए पनि हालसम्मको तथ्यांक सन्तोषजनक छैन।

बिउ, सिंचाई र मनसुनका कारण गत वर्षको तुलनामा यस वर्ष आसर १५ सम्म धान रोपाइँ कम भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ।

आर्थिक वर्ष २०८०/८१ मा १४ लाख ९६ हजार ३०६ हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य लिइएकोमा हालसम्म एक लाख ६६ हजार ६२३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ।

केन्द्रका अनुसार हालसम्म देशभरमा ११ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ। केन्द्रका प्रमुख डा. रामकृष्ण श्रेष्ठका अनुसार सबैभन्दा बढी धान रोपाइँ कर्णाली र सूदूरपश्चिम प्रदेशमा भएको छ। जहाँ २३/२३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ।

मनसुन ढिला प्रवेश गर्नु र देशभर फैलन समय लाग्दा धान रोपाइँ ढिला भएको उहाँको भनाइ छ। प्रमुख श्रेष्ठले भन्नुभयो, “मनसुन ढिला नेपाल भित्रनु र देशभर फैलन समय लागेका यो वर्ष असारको मध्य हुँदासमेत रोपाइँ कम भएको छ।”

गतवर्ष असार मध्यसम्म २५ प्रतिशत धान रोपाइँ भएको थियो। यस्तै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार अहिलेसम्म कम मात्रामा रोपाइँ भए पनि असार मसान्तसम्म लगभग पुरै क्षेत्रमा सकिने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘असार मध्यसम्म आइपुग्दा ११ प्रतिशत मात्र रोपाइँ भएको छ। गतवर्ष यो प्रतिशत २५ थियो। मनसुन सबैतर्फ पुगेका कारण असार मसान्तसम्म देशका अधिकांश स्थानमा रोपाइँ सकिन्छ।”

यो वर्ष मनसुन देशभर फैलिन ढिला हुँदा धान रोप्न समस्या भएको उहाँको भनाइ छ। मन्त्रालयका प्रवक्ता सञ्जेलले भन्नुभयो, “गतवर्ष मलको अभाव भएका कारण धान रोपाइँमा केही ढिला भएको थियो। तर यसपाली मलको समस्या छैन। सिंचाईको अभाव भएका कारण नै समयमा धान रोपाइँ नभएको हो।”

कृषि मन्त्रालयका अनुसार २०७९/८० को असार १० गतेसम्म दुई लाख ८७ हजार ४ सय ७० टन मल वितरण भएको छ। यही अवधिमा तीन लाख ५१ हजार टन मल आयात भएको छ।

नेपालीको भात खाने प्रवृति

मन्त्रालयका प्रवक्ता सञ्जेल नेपालीको भान्सामा भात धेरै पाक्ने गरेको बताउनुहुन्छ। पहिले मकै, कागुनो र चामलको मात्रा मिलाएर खाने गरिएका कारण चामलको खपत कम हुन्थ्यो। अहिले मानिसले चामलको खपत बढी गर्ने गरेका कारण आयातको मात्रा पनि बढी भएको उहाँको भनाइ छ।

उहाँले भन्नुभयो, “पहिले मानिसको भान्सामा मकै, कागुनो र चामलको मात्रा सन्तुलित थियो। तर, अहिले चामलले सबैलाई विस्थापित गरेको छ। त्यसैले अहिले चामलको आयात पनि बढी भएको छ।”

सञ्जेलका अनुसार एक व्यक्तिले वर्षमा औषत १२१ केजी चामल आवश्यक पर्ने भए पनि १३७ केजी खपत भएको छ। नेपालमा विशेषगरी मोटा र मध्यम खालको चाम उत्पादन हुन्छ। तर मानिस मसिनो चामल खान रुचाउने गरेका कारण आयात बढेको सञ्जेल बताउनुहुन्छ।

कृषि मन्त्रालयका अनुसार २०७९/८० मा ५४ लाख ८६ हजार ४ सय ७२ टन धान उत्पादन भएको छ। यो परिमाण २०७८/७९ को तुलनामा ३ लाख ५५ हजार ८ सय ४७ टन बढी हो । बेमौसमी वर्षाले धानबालीमा क्षति हिुँदा २०७८/७९ मा ५१ लाख ३० हजार ६ सय २५ टन मात्रै उत्पादन भएको थियो। यस्तै आर्थिक वर्ष २०७७/७८ मा देशमा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको थियो।

आर्थिक वर्ष २०७६/७७ मा ५५ लाख ५० हजार टन धान उत्पादन भएको थियो। भन्सार विभागको तथ्यांकअनुसार २०७८/७९ मा ४५ अर्ब ५७ करोडको १० लाख ८३ हजार मेक्ट्रिकटन , २०७९/८० को ११ महिनामा ३३ अर्ब ६३ करोड रुपैयाँको ७ लाख २४ हजार मेक्ट्रिकटन को धान–चामल आयात भएको छ।

यस्तै आर्थिक वर्ष २०७७/७८ मा ५० अर्ब ७९ करोडको १२ लाख ६६ हजार मेक्ट्रिकटन र आर्थिक वर्ष २०७६/७७ मा ३३ अर्ब ६५ करोड बराबरको ७ लाख १५ हजार मेक्ट्रिकटन चामल आयात भएको थियो।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter