• Monday, May 19, 2025

गुन्डुका खेतबारीमा मखमली, सयपत्री

काठमाडौँ, साउन २० गते । सूर्यविनायक नगरपालिका–७, गुन्डुका खेतबारीका डिल, टनेललगायतमा हाल मखमली, सयपत्री फूलको रूपमा किसानको मेहनत र लगानी फक्रिन थालेका छन् । स्थानीय बासिन्दाले तिहार पर्वलाई लक्ष्यित गरी मखमली फूलको माला गाँस्न, सयपत्री फूलको गुच्छा र माला बेच्न सुरु गरेका हुन् ।

मखमली र सयपत्री, गोदावरीलगायतका फूल खेतीका लागि चर्चित स्थान गुन्डुका स्थानीयले धान खेतीको काम सकेर खेत बारीमा फुलेको मखमली टिपेर थन्क्याउन थालेका हुन् ।

स्थानीय पुष्प व्यवसायी पार्वती नगरकोटीले भन्नुभयो, “मखमली फूल असार महिनादेखि टिप्न थालेर आगामी कात्तिक महिनासम्मै उत्पादन लिन सकिने फूल हो, अहिले खेतीपातीको कामबाट केही फुर्सद भएको बेला फुलेको मखमली गाँसेर राख्न थालेका छौँ ।” सात आना जग्गामा मकै खेतीभित्र मखमली, सयपत्री फूल र भटमासको मिश्रित खेती गर्नुभएको नगरकोटीले तीनै बाली राम्रो भएको अनुभव सुनाउँदै तिहार पर्वसम्ममा फूलको माला र गुच्छा बेचेर यस वर्ष करिब चालिस हजार रुपियाँ कमाइ हुने बताउनुभयो ।

सो क्षेत्रमा व्यावसायिक रूपमा फूल खेती गर्नुहुने सफल किसान रञ्जना बस्नेतले खर्च कटाएर फूलको बेर्ना र फूल बिक्रीबाट वार्षिक सात÷आठ लाख रुपियाँ आम्दानी हुने बताउनुभयो । उहाँले तिहारमा बिक्री हुने मखमलीसहित स्थानीय जातका विभिन्न सयपत्री, गोदावरी र अफ्रिकन जातका सयपत्री र वर्षभरि नै बिक्री भइरहने फूलको खेती टनेलमा गर्दै आउनुभएको छ । फूल खेतीबाट सामान्य आम्दानी गर्दै आएका गुन्डुवासी विसं २०७५/७६ सालदेखि टनेल बनाएर वा खुला जमिनमै फूलको व्यावसायिक खेतीमा लागेका हुन् ।

पूर्वमन्त्री महेश बस्नेतले विगतमा दुर्गम क्षेत्रको रूपमा रहेको सूर्यविनायकको गुन्डु क्षेत्रलाई सडक बाटो, यातायातको सुविधासँग जोडेपछि स्थानीयको आयआर्जनको नयाँ बाटो पहिल्याउने क्रममा फूल खेतीको व्यावसायिक प्रवर्धन गर्न सूर्यविनायक नगरपालिका र वडा–७ मार्फत बजेट छुट्याएर सयपत्री फूलको खेतीका लागि किसानलाई सहयोग गर्दै आएको जानकारी दिनुभयो ।

नेता बस्नेतले भन्नुभयो, “विगतमा चाडपर्व आउँदा चुरा, पोते लगाउन गुन्डुका महिलाले श्रीमान्सँग पैसा माग्नुपर्ने अवस्था थियो भने अहिले आवश्यक पर्दा श्रीमतीसँग लिने स्थिति आएको छ, यसो हुनुमा पुष्प खेतीमा व्यावसायिक महिला किसानको अग्रसरताको सकारात्मक परिणाम हो ।”

विगत २० वर्षदेखि यस क्षेत्रमा नगदे बालीका रूपमा फूल खेती हुँदै आएको छ । विशेष गरी तिहार पर्वमा हरेक घरका महिलाले कम्तीमा १० हजारदेखि व्यावसायिक रूपमा खेती गर्नेले लाखौँको आम्दानी गाउँ भित्र्याउन सफल भएका छन् ।

साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष अम्बिका भण्डारीले यस क्षेत्रका महिला किसान तथा व्यवसायीलाई फूल खेतीमा लाग्न प्रेरित गर्ने उद्देश्यले विगत तीन वर्षदेखि सयपत्री फूलको बेर्नामा अनुदान सहयोगका लागि सहकारीले समन्वय गर्दै आएको बताउनुभयो ।

सूर्यविनायक नगरपालिका वडा–७ का अध्यक्ष रवीन्द्र सापकोटाले नगरपालिकाले यस आर्थिक वर्षमा छ लाख रुपियाँ अनुदान सहयोग दिएर अफ्रिकन मेरीगोल्डको ५५ हजार बेर्ना तयार गरी ३१० जना किसानलाई प्रदान गरिएको बताउनुभयो । किसानको ३० प्रतिशत र अनुदान सहयोग ७० प्रतिशतमा पुष्प व्यवसायी किसानले फूलको बेर्ना प्राप्त गरेका छन् ।

फूलजन्य उत्पादन बिक्रीका लागि छैन बजारको अभाव

गुन्डु क्षेत्रमै अनन्त लिङ्गेश्वर, पाथीभरा, सूर्यविनायक, डोलेश्वर, आसपुरी, लटरम्मेश्वर, गुप्तेश्वर, धर्मेस्वर, सुवर्णेश्वरलगायतका प्रसिद्ध मन्दिर छन्, जहाँ नियमित पूजाअर्चनाका लागि पनि फूलको आवश्यक पर्छ भने त्यहाँ उत्पादन हुने फूलको मुख्य बजार काठमाडौँ हो । हाल अस्टे«लिया, जापान, क्यानडालगायत देशमा पनि माला निर्यात हुन थालेको छ । राजधानीबाट फूलका व्यापारीहरू फूलका गुच्छा माला खरिद गर्न गुन्डुमै पुग्छन् । भने कतिपय किसानले बजारसम्म पुगेर व्यवसायीलाई फूल उपलब्ध गराउँदै आएका छन् ।

यस पटक फूल खेतीमा बढ्यो रोगको प्रकोप

गुन्डुका पुष्प व्यवसायीहरूले यस पटक फूलको बिरुवा ढुसी र पुतलीजन्य रोग लागेकाले उत्पादन घट्ने आकलन गरेका छन् । पुष्प व्यवसायी रञ्जना बस्नेतले यस पटक फूल उत्पादनका लागि मौसमले साथ नदिएको बताउनुभयो । आफूले टनेलभित्र खेती गरेकाले पुतली टाँसिने ‘ट्र्याप’ राखेर फूलको बिरुवा जोगाउन सफल भएको बताउनुभयो ।

खुला जमिनमा गरेको पुष्प खेतीमा ट्र्याप त्यति प्रभावकारी हुन्न, ढुसीजन्य रोगका कारण बोटै खुइलिने समस्याले किसानको मेहनत अनुसारको आम्दानी हुन कठिन हुने व्यवसायीहरूको

भनाइ छ । रोगको उपचारका लागि किटनाशक प्रयोग गर्दा किसानको लागत खर्च बढ्ने चिन्ता व्यक्त गरेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter