• Monday, May 19, 2025

अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने चलचित्र बनाउनुपर्छ : मन्त्री शर्मा

काठमाडौं, साउन २१ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने चलचित्र बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

पहिलो नेपाली चलचित्र आमाका अभिनेत्रीहरू भुवन चन्द, चैत्यदेवी सिंह र वसुन्धरा भुसालले स्थापना गरेको भुवन चैत्य वसुन्धरा फाउण्डेशनले आयोजना गरेको पुरस्कार अर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाली चलचित्रहरू विदेशी चलचित्रहरूसित प्रतिस्पर्धा गर्नसक्ने बनाउने आवश्यक रहेको बताउनुभयो ।

उहाँले यसका लागि सरकारको नीतिगत सहयोग हुने र चलचित्र निर्माताहरुले पनि गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभयो । हरेक क्षेत्रमा अन्तर्राष्ट्रिय अनुभव प्राप्त गर्न त्यही जानुपर्ने अवस्थाको अन्त्य भएको आजको डिजिटल युगमा विभिन्न देशका अभ्यासबाट सिकेर गुणस्तरीय चलचित्र बनाउनतिर ध्यान दिन मन्त्री शर्माले सम्बद्ध पक्षलाई आग्रह गर्नुभयो ।

चलचित्र क्षेत्रको विकास र यसमा जीवन अर्पण गर्ने सर्जक र स्रष्टाहरूको सम्मानमा सरकार प्रतिबद्ध रहेको मन्त्री शर्माले बताउनुभयो । हिजो श्वेत पर्दाबाट सुरु भएको नेपाली चलचित्र क्षेत्र आज डिजिटल युगमा प्रवेश गरे पनि नियम कानुन पुरानै रहेकाले त्यसमा आवश्यक परिमार्जनको काम थालिएको पनि उहाँले जानकारी दिनुभयो । चलचित्र बोर्डले तयार पारेको ऐन परिमार्जनको मस्यौदा मन्त्रालयमा छलफल गरेर चाँडै मन्त्रिपरिषदमा लैजाने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

उहाँले समाजका हरेक क्षेत्रमा योगदानहरूको उचित सम्मान हुनुपर्ने बताउनुभयो । सबै मानिस सबै क्षेत्रमा लाग्न सक्दैनन् तर जो जुन क्षेत्रमा लागेको छ, उसले निष्ठापूर्वक काम गरेको छ कि छैन भनेर समाजले मूल्याङ्कन गर्नुपर्छ । मन्त्री शर्माले भन्नुभयो–‘‘हरेक क्षेत्रमा लागेर समाजका लागि योगदान गर्ने र व्यक्तिगत स्वार्थका लागि काम गर्नेहरूको बिचमा समाजले नै भिन्नता छुटाउनुपर्छ, त्यही नै ठुलो सम्मान हो ।’’

राजनीतिक, कर्मचारी वा अन्य कुनै पनि क्षेत्रमा केही मानिसले गर्ने कमजोरीलाई मूलधार बनाउने र राम्रो काम गर्नेहरूको चर्चा नहुने परिपाटी समाजका कायम रहेको उल्लेख गर्दै उहाँले यसलाई सच्याएर हरेक क्षेत्रमा राम्रो काम गर्नेहरूलाई सतहमा र नराम्रो काम गर्नेहरूलाई किनारामा राख्ने परिपाटीको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली चलचित्र क्षेत्रमा महिलाको प्रवेश सुरु गराउने भुवन चन्द, चैत्यदेवी सिंह र वसुन्धरा भुसालको भूमिका प्रशंसा गर्दै उहाँले भन्नुभयो– ‘‘आज पनि छोरीलाई हरेक काममा छोरासरह जिम्मेवारी दिन आनाकानी गर्ने नेपाली समाजमा त्यतिबेला छोरीहरू चलचित्र क्षेत्रमा प्रवेश गर्दा कति कठिनाइ झेल्नुपर्‍यो होला, आजको पुस्ताले कल्पना मात्र गर्न सक्छ । उहाँहरूले थालेको अभियान समाज रूपान्तरणमा ठुलो विद्रोह थियो, यसको नेपाली समाजले युगयुगसम्म मूल्याङ्कन गरिरहने छ ।’’

सो क्रममा मन्त्री शर्माले भुवन चैत्य वसुन्धरा फाउण्डेशन पुरस्कार २०७९ र २०८० बाट विभिन्न सर्जक तथा स्रष्टाहरूलाई सम्मान गर्नुभएको थियो । हरिश भुवन चन्द पुरस्कारबाट वरिष्ठ गीतकार यादव खरेल र नीर शाह, चैत्यदेवी सिंह पुरस्कारबाट वरिष्ठ सङ्गीतकर्मी गणेश रसिक र वरिष्ठ अभिनेता शिव श्रेष्ठ, चेतनारायण वसुन्धरा भुसाल पुरस्कारबाट वरिष्ठ अभिनेत्री मिथिला शर्मा र शर्मिला मल्ललाई सम्मान गरिएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter